१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘नियमित विद्युत दिए राजस्व दोब्बर’

वीरगन्ज–मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत उपलब्ध गराउन माग गरेका छन् ।

विगत वर्षमा हिउँदको समयमा विद्युतको अभावमा आधा क्षमतामा मात्रै उद्योग व्यवसाय चलाउँदै आएका उद्योगी व्यवसायीले यसवर्ष भने दैनिक २० घन्टा विद्युत पाएका छन् तर भोल्टेजको समस्याका कारण हैरानी खेप्नुपरेको भन्दै उनीहरुले सो समस्या समाधान गर्न आग्रह गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले चाहेजति विद्युत उपलब्ध गराउन सक्ने हो भने तत्काल एक हजार मेगावाटभन्दा बढी विद्युत खपत हुनसक्ने देखिएको छ ।

विद्युतको अभावमा वर्षौं खुम्चिएर बसेका उद्योगीले पछिल्लो दिनमा नियमित विद्युत पाएपछि खुसी व्यक्त गर्दै भनेका छन्, ‘वीरगन्ज सहर फेरि गुल्जार हुने दिन आउँदैछ, मात्रै विद्युत जरुरी छ ।’ उद्योगी व्यवसायीले प्राधिकरणको प्रसारण लाइनमा पटक–पटक ट्रिप हुने, भोल्टेजको खराबीका कारण उपकरण जल्ने गरेको भन्दै समस्या समाधान हुनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले शुद्ध विद्युत सेवा प्राप्त गर्ने हो भने एकाध वर्षमा मुलुकलाई आर्थिक आत्मनिर्भरता प्रदान गर्नसक्ने तथा हजारौँलाई रोजगारी दिनसक्ने समेत बताएका छन् ।

उद्योगीले निर्माण सम्पन्न हुने चरणमा रहेको रक्सौल–परवानीपुर प्रसारण लाइनबाट भित्रने ५० मेगावाट विद्युत वीरगन्जलाई नै उपलब्ध गराइदिन समेत आग्रह गरेका छन् ।

दुईवटा मात्रै टावर निर्माण गर्न बाँकी रहेको सो प्रसारण लाइनको काम यही माघ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले राखेको छ ।

सानो भन्दा सानो समस्या पर्दा समेत नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय हेटौंडा दौड्नुपर्ने बाध्यतामा रहेको भन्दै उद्योगी व्यवसायीले समस्या समाधान गरिदिन समेत ऊर्जा मन्त्री, ऊर्जा सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराएका हुन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया उद्योगी व्यवसायीको मागअनुसार विद्युत उपलब्ध गराउनुपर्ने बताउनुहुन्छ । अध्यक्ष केडिया औद्योगिक नगरिलाई काठमाडौं उपत्यकालाई जस्तै लोडसेडिङमुक्त बनाउनुपर्नेमा जोड दिए ।
संघका उपाध्यक्ष सुवोध गुप्ता प्राधिकरणले आफ्नो प्रसारण लाइनको सुधारमा विशेष जोड दिनुपर्ने बताउँछन् । नियमित विद्युत आपूर्ति भए हाल प्राप्त भइरहेको भन्दा दोब्बर बढी राजस्व प्राप्त हुने भन्दै उपाध्यक्ष गुप्ता प्राधिकरणको हप्कैया ग्रिडको स्तरोन्नती, भोल्टेज सन्तुलन एवं क्यापासिटर राखेर उद्योगीलाई सरकारले राहत दिनुपर्ने बताउँछन् ।

सङ्घका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माले भने समस्या परेर फोन गर्दा प्राधिकरणको फोन नउठ्ने प्रवृत्ति दुःखद रहेको, कहिल्यै प्राधिकरणले आफूहरुको दुःख र गुनासो नसुनेको बताउँछन् ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय उद्योगीको मागअनुसार सरकार औद्योगिक वातावरण बनाउन तयार रहेको धारणा राख्छन् । उनले सरकारले अगाडि सारेका केही महŒवपूर्ण आयोजनामा लगानी गर्न वीरगन्जका उद्योगी व्यवसायी पनि तयार हुनुपर्नेमा जोड दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनमा देखिएका समस्या छिट्टै समाधान हुने र भोल्टेजमा देखिएको तल–माथिलाई पनि नियन्त्रण गरिने बताए ।

ऊर्जामन्त्री जनार्दन शर्माले आफूहरुले संकटको समाधानका लागि भन्दै दैनिक २० घन्टा विद्युत उपलब्ध गराएको र छिट्टै औद्योगिक कोरिडोरलाई लोडसेडिङमुक्त बनाइने बताए ।

उनले आगामी एक वर्षभित्र उद्योगलाई कति विद्युत चाहिने हो सो को वस्तुनिष्ट जानकारी गराउन र ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअनुसार जलविद्युत क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे । -रासस

प्रकाशित: २ माघ २०७३ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App