१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्रिय प्रसारणमा मेवाखोलाको बिजुली थपियो

खोटाङको मेवाखोला हाइड्रोपावर उद्घाटन गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापा । तस्बिरः दमन राई

खोटाङ– राष्ट्रिय प्रसारण लाइनमा खोटाङको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर थपिएको छ । जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्य साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनीले पूरा गरेको हाइड्रोपावर उद्घाटनसँगै राष्ट्रिय प्रसारणमा एक मेगावाट विद्युत थपिएको हो ।

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोला दोभानबाट निकालिएको हाइड्रोपावर शुक्रबार राप्रपा नेपाल अध्यक्ष कमल थापाले उद्घाटन गरे । गत मंसिर १८ गतेदेखि दिक्तेल–गाईघाट ११ केभिए ट्रान्समिसन लाइनको बुइपास्थित सबस्टेसनमा जोडेर परीक्षण प्रसारणमा छाडिएको हाइड्रोपावरलाई महिना दिनपछि उद्घाटन गरिएको हो ।

समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाइमा बैंक अफ काठमाडौंको ७० प्रतिशत गरी २२ करोड रुपैयाँभन्दा बढीको लागतमा हाइड्रोपावरको काम पूरा भएको साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले बताए ।

मेवाखोला जिल्लामा पूरा भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । केन्द्रीय प्रसारण लाइनमा जोडिए पनि स्थानीय स्तरमै प्रयोग गर्न मिल्ने गरी पूरा गरिएको हाइड्रोपावरले लोडसेडिङको मार खेपिरहेका जिल्लावासी उत्साहित छन् । हाइड्रोपावर उद्घाटन कार्यक्रममा सयौं स्थानीयको उपस्थिति रहेको थियो ।

०७२ असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुईपटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्ष दिन पछाडि धकेलिएको आयोजनाका कोअर्डिनेटर ललितकुमार राईले बताए । पाँच वर्षअघि सम्पन्न खोटाङको १८औं जिल्ला परिषद्ले जिल्लालाई लोडसेडिङ मुक्त बनाउने योजना पारित गरेपछि मेवाखोला लगायत हाइड्रोपावरको कामलाई द्रूत गतिमा अघि बढाइएको थियो ।

खोटाङ लोडसेडिङमुक्त
दुई वर्षमा पूरा भएको मेवाखोलाको परीक्षण प्रसारण सुरु भएपछि खोटाङ र ओखलढुंगाका केही गाविसमा लोडसेडिङ अन्त्य भएको छ । लोडसेडिङमुक्त बनाउने लक्ष्यसाथ साप्सु–कालिका हाइड्रोपावर कम्पनीले पहिलोपल्ट ०७१ मंसिरदेखि हाइड्रोपावरको काम सुरु गरेको थियो ।  

चिनियाँ विज्ञको टोलीले टेस्टिङ र कमिसनिङका काम गरेलगत्तै गत मंसिर १४ गते मेवाखोलाबाट पहिलोपल्ट बत्ती बालिएको थियो । मेवाखोलाको औपचारिक उद्घाटनपछि खोटाङका ४७ गाविस तथा ओखलढुंगाको सिद्धिचरण नगरपालिका, रुम्जाटार, माम्खा लगायत गाविस लोडसेडिङमुक्त भएको नेपाल विद्यत् प्राधिकरणको दिक्तेल शाखाले जनाएको छ ।

मेवाखोलाकै कारण हाल छिटपुटबाहेक जिल्लामा २४सै घन्टा बत्ती बलिरहेको छ । निरन्तर बत्ती आउन थालेपछि विद्युतीय उपकरणका माध्यमबाट सञ्चालन हुने हरेक काम नियमित भइरहेको छ । यसकै कारण जिल्लाको आर्थिक समृद्धिको ढोका खुलेको पूर्वसांसद दुर्गाजयन्ती राईले बताइन् । नियमित विद्युत आउन थालेपछि जिल्लामा प्लाई उद्योग, काष्ठ उद्योग लगायत उद्योग सञ्चालन गर्ने पहल सुरु भएको छ ।

प्रकाशित: २ माघ २०७३ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App