१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

काठमाडौं- मन्त्रीहरूले स्वकीय सचिवालयमा आफ्नै नातेदारलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि दोहोरिएको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका स्वकीय  सचिवालय उनीहरूकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएका छन्।

प्रधानमन्त्री दाहालले छोरा प्रकाश दाहाललाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन्। यसैगरी उनले भाइ नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुुक्त गरेका छन्।

यसअघिका प्रधानमन्त्रीको स्वकीय सचिवालय पनि नातेदारले भरिन्थ्यो। परिवारका सदस्य स्वकीय सचिवालयमा नियुक्त भएपछि उनीहरूले पाउने सुविधा परिवारभित्रै जान्छ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि छोरा राहुललाई स्वकीय सचिवालयमा मनोनयन गरेका छन्। महराका अर्का छोरा निर्मल पनि बाबुका अघोषित सल्लाहकार हुन्। महराको स्वकीय सचिवालयमा रहेका नेत्र पौडेल र हिमाल शर्मा माओवादीसँग सम्बद्ध हुन्।

सहरी विकास राज्यमन्त्री मिठु मल्लले पनि छोरालाई स्वकीय सचिवमा नियुक्त गरेकी छन्। मिठु सांसद हुँदा नै उनले छोरा रविप्रकाशलाई स्वकीय सचिव बनाएकी हुन्। रविप्रकाशले गोपनीयता र काम गर्न सजिलोका लागि परिवारकै सदस्यलाई सचिवालयमा मनोनयन गर्ने गरेको बताए। 'गोपनीयता र काम गर्न सजिलो होस् भनी उहाँ (राज्यमन्त्री) ले मलाई स्वकीय सचिवालयमा नियुक्त गर्नुभएको हो', रविले भने, 'यो स्वाभाविक पनि हो। यसलाई अन्यथा रुपमा हेर्नु हुँदैन।'

नियमअनुसार उपप्रधानमन्त्रीले आफ्नो सचिवालयमा एक सहसचिव, एक उपसचिव, एक शाखा अधिकृत, एक सुब्बा, एक कम्युटर सहायक, एक ड्राइभरसहित नौ जनासम्म नियुक्त गर्न सक्छन्। यसैगरी मन्त्रीले  सचिवालयमा एक उपसचिव, एक शाखा अधिकृत, एक नासु, एक कम्युटर सहायक, एक ड्राइभरसहित मनोयनन गर्न पाउँछन्।

पर्यटन राज्यमन्त्री इन्द्र बाँनियाले भतिजा शैलेन्द्रलाई  स्वकीय सचिव नियुक्त गरेका छन्।

मन्त्री बाँनियाले  आफू माननीय भएदेखि नै शैलेन्द्रलाई स्वकीय सचिव नियुक्त गरेको बताए। उनले भने, 'म माननीय हुँदादेखि नै शैलेन्द्र मेरो स्वकीय सचिव हुन्। मन्त्री भएपछि अर्कालाई स्वकीय सचिव नबनाई उनैलाई बनाएँ।'

यसैगरी श्रममन्त्री सूर्यमान गुरुङले पनि आफ्नै नातेदारलाई स्वकीय सचिव बनाएका छन्। उनले भतिजा डिल्ली गुरुङलाई स्वकीय सचिव बनाएका हुन्। डिल्ल्ाीका पिता  र मन्त्री सूर्यमान दाजुभाइ हुन्। 

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नाता पर्ने ईश्वरी ओझालाई स्वकीय सचिव नियुक्त गरेका छन्।

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायकले पनि भतिजा रञ्जितकुमारलाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन्। रञ्जित मन्त्री नायकका काकाका छोरा हुन्।

केही मन्त्रीले भने स्वकीय सचिवालयमा नातेदालाई नियुक्त गरेका छैनन। वाणिज्य मन्त्री रोमी गौचनले नातेदारलाई स्वकीय सचिवालयमा नियुक्त गर्ने चलन निरुत्साहित गर्नुपर्ने औंल्याए । 'नातेदारहरूका लागि राजनीति गर्नु हुँदैन', गौचनले भने, 'त्यसैले नातेदार भएकै कारणले जागिर खुवाउने चलन बन्द गर्नुपर्छ।'

माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेपछि सो पार्टीले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालन समिति गठन गरेको छ। सरकारबाट प्रतिनिधित्व गरेका मन्त्रीले श्रेष्ठ समितिले दिएको सुझाव पालना नगरेको माओवादी नेता बताउँछन्। श्रेष्ठले पार्टीको सिफारिसमा मन्त्री बनेकाहरूले आफूखुशी स्वकीय सचिवालयमा कर्मचारी नियुक्त गरेको बताए। 'उहा ँ(मन्त्री) हरूले आफूखुशी स्वकीय सचिवालयमा कर्मचारी नियुक्त गर्नुभएको छ। यसमा पार्टीले सिफारिस गरेको छैन', श्रेष्ठले भने। आफ्नो नेतृत्वमा गठन गरिएको समिति यतिखेर सक्रिय नभएको उनले जनाए।

प्रकाशित: १ माघ २०७३ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App