१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

आत्मबल बढाउन सकारात्मक सोच

रुबिसा अर्याल,कक्षा ६ 
केएमसि स्कूल, बुद्धनगर, काठमाडौं ।

वार्षिक परीक्षा सम्पन्न भए पश्चात नृत्यको अभ्यास गर्र्नेे, पब्लिक स्पिकिङमा जाने, आफ्नो गाउँ गुल्मी लगायत ठाउँ जाने मेरो योजनालाई कोरोना भाइरसले भताभुंग पारिदियो । 

सरकारले कोरोना भाइरसको सक्रमण नियन्त्रण गर्न चैत ११ गतेदेखि लकडाउन शुरु गरेकाले घरमै बस्नु पर्ने भयो । तर पनि मेरा लागि यो समय अत्यन्तै फलदायी भएको छ । मैले रचनात्मक काम गर्ने अवसर पाएकी छु । जसमा म बिहान ७ बजे देखि ८ बजेसम्म घरमै योग र ध्यान गर्छु । त्यसपछि खाजा खाएर ममीलाई भान्छामा सहयोग गर्छु । तरकारी काटीदिने, घरको सरसफाई गर्ने लगायत काम गर्छु । 

मैले यस भन्दा पहिला नगरेका काम पनि सिक्न पाएँ । जसमा आफ्नो कोठा आफैं सफा गर्ने, लुगा मिलाएर राख्ने, आफ्नो लुगा आफैं धुने, भाँडा माझ्ने, ठिक ठाउँमा थन्काउने, बाथरुम सफा गर्ने जस्ता काम गरिरहेकी छु ।

मलाई उपन्यास पढन अत्यन्त मन पर्छ । यस समयमा पनि पढें । विशेष गरी दिउँसोको समयमा रोल्ड डालको ‘माटेल्डा’, लुइस लोरीद्धारा लिखित ‘म्यासेन्जर’, चेतन भगतको ‘फाइभ पोइन्ट समवान’ जस्ता उपन्यास पढें । यसैगरी ह्यारी पोटरको सिरिज पनि पढें । यसै समयमा मैले हिन्दी फिल्म हिच्की, नेपाली फिल्म नुमाफुङ पनि हेरें ।  

यसै समयमा मैले साढे ३ वर्षकी बहिनीलाई पनि कोरोना भाइरससँग बच्ने सम्बन्धमा नियमित कथाको रुपमा सिकाएँ । उसँग घर भित्रै साइकल, बल, क्यारेम बोर्ड जस्ता खेल खेल्ने तथा उसलाई चित्र कोर्न समेत सिकाउँदैछु । यस्तै साथीलाई फोन गर्ने, उनीहरूका अनुभव सुन्ने काम समेत गरेकी छु । मैले समय समयमा साबुन पानीले हात धुने, सेनिटाइजर लगाई राख्ने, दैनिक नुहाउने, दैनिक सफा लुगा फेर्ने जस्ता व्यक्तिगत सरसफाइमा समेत जोड दिँदै आएकी छु ।  

लकडाउनको समयलाई सदुपयोग गर्न बाबा र ममीले धेरै कुरा सिकाउनु भयो । पत्रपत्रिकाका लेखरचना आइप्याडबाट पढने, टेलिभिजनका समाचार सुन्ने लगायतका कार्यबाट कोरोनाबाट बच्न विदेशको अनुभव नेपालका लागि उपयोगी हुन्छ भन्ने बुझें । कोरोनाबाट बच्न सर्वप्रथम व्यक्तिगत सरसफाइमा जोड दिनु पर्ने, भीड भाडमा जानु नहुने, नियमित साबुनपानीले मिचिमिचि २० सेकेण्डसम्म हात धुने, घरको सरसफाईमा जोड दिने, रोग प्रतिरोधात्मक क्षमता भएका खानेकुरा बेसार, अदुवा, ज्वानो, मह, भिटामीन सीयुक्त सुन्तला, कागती, भोगटे जस्ता फल खानु पर्ने रहेछ भन्ने पनि थाहा पाएँ । यी कुरा गुल्मीमा रहनु भएकी हजुरआमालाई समेत फोनबाट भन्ने गरेकी छु ।

आत्मबल बढाउन सकारात्मक सोच आवश्यक पर्ने रहेछ । कोरोना लागेका बेलामा आफैं क्वारेन्टाइनमा बस्ने सबैभन्दा उत्तम विधि रहेछ भन्ने थाहा पाएँ । कोरोनाको त्रास भगाउन मलाई मेरोपरिवारले सहयोग गरेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई गरेको आव्हान तथा कोरोना संक्रमणबाट आफू र परिवारलाई सुरक्षित राख्न स्वास्थ्यकर्मीले दिएको सल्लाह र सुझावको पालना हामी सबैले गर्नुपर्छ भन्ने परिवारबाटै सिकें ।  

देशमा समस्या पर्दा सरकारले जनताको हितका लागि धेरै कुरा गर्दो रहेछ भन्ने मैले अहिले थाहा पाएँ । सामाजिक सञ्जालको यथोचित प्रयोग गर्नुपर्छ र सत्यतथ्य सूचना एवं सकारात्मक सन्देश मात्र प्रवाह गर्नुपर्छ भन्ने थाहा पाएँ । यो विश्वव्यापी महामारीको सामना गर्न हामी सबैले हातेमालो गर्नु पर्छ ।

प्रकाशित: २७ चैत्र २०७६ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App