१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मीका स्थानीय तहमा बढ्दै सजगता

गुल्मी- जिल्लामा कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संक्रमण तथा त्यसको नियन्त्रण र रोगथामका लागि स्थानीय तहहरुमा थप सतर्कता अपनाउन सुरु गरिएको छ। पालिकाका स्थानीयवासीहरुले पनि स्थानीय सरकारको अभियानलाई सहयोग पुर्याउदै गाउँगाउँ र टोलटोलमा मानिसहरुको आवागमनमा समेत निगरानी गर्न थालेका छन्।

जिल्लाको धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा मानिसहरुलाई एक वडाबाट अर्को वडामा आवतजावतमा रोक लगाइएको छ। अत्यावश्यक कामका लागि बाहिर आवतजावत गर्न आवश्यकताको आधारमा वडा कार्यालयबाट अनिवार्य रुपमा पासको व्यवस्था गरिएको मालिका गाउँपालिका ६ का अध्यक्ष शोभाखर गिरीले बताए। लकडाउनको समयमा पनि त्यसको उल्लंघन गर्दै पछिल्लो समयमा बाहिरबाट गाउँपालिकाभित्र मानिसहरुको आवतजावत बढ्दै गएको, अनावश्यक रुपमा मानिसहरु जम्मा हुने र हिडडुल गर्न थालेपछि संक्रमणबाट उत्पन्न हुनसक्ने जोखिम कम गर्न पालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको गिरीले बताए।

पालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोही कसैलाई पनि अत्यावश्यक काम बाहेक घरवाट बाहिर ननिस्कन र एक गाउँवाट अर्को गाउँमा आवतजावतमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताए। इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाले पनि लकडाउनको उल्लंघन गर्दै जथाभावि सवारी साधनहरु चलाउने, अनावश्यक रुपमा हिड्डुल गर्ने क्रम बढ्न थालेपछि टोलटोलमा बेरीयर राख्न थालेका छन्। स्थानीयहरुले आआफ्ना टोलमा बासको गरेला बनाई मुख्य टोलटोलमा बेरीयर बनाउने र त्यसको रेखदेखका लागि स्थानीय युवाहरुलाई परिचालन गर्न सुरु गरेका हुन।
 
स्थानीयहरुले बाहिरबाट आउने मानिसहरुको निगरानी बढाउन थालेसँगै गुल्मीमा अत्यावश्यक काम बाहेक एक पालिकाबाट अर्को पालिकामा आवतजावत गर्ने काममा कमी आएको छ। कोही मानिसहरु आवतजावत गर्नु परेमा स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गरेर कामको प्रकृति हेरेर मात्र आवतजावत गर्न पाईने व्यवस्था गरिएको सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए। जिल्लाका अधिकांश स्थानीय तहहरुले बुटवल, काठमाडौ लगायत देशभित्रका विभिन्न स्थानबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था मिलाएका छन्।

प्रकाशित: २६ चैत्र २०७६ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App