२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्रामिण भेगमा औषधि लिएर घरघरै पुग्छन् स्वास्थ्यकर्मी

औषधि पुर्‍याउन बिभिन्न ठाउँमा बिरामीकहाँ पुगेका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ । तस्बिर : नागरिक

गोरखा- लकडाउनका कारण नियमित औषधि सेवन गर्दै आएका गोरखाको ग्रामिण भेगका दिर्घरोगी बिरामीले औषधि पाएनन्। गाउँको स्वास्थ्य संस्था र मेडिकलमा नियमित सेवन गर्दै आएको औषधि नपाएपछि समस्या परेका बिरामीलाई लकडाउन यता गोरखाका एक स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीले नियमित घरमै औषधि पुर्‍याइदिएका छन्। औषधिको मात्रै शुल्क लिएर झण्डै ५० जना भन्दाबढि बिरामीलाई गोरखा नगरपालिका ६ मा मेडिकल राखेर बसेका संगमबाबु श्रेष्ठले घरमै औषधि पुर्‍याइदिएका हुन्। प्रेसर, सुगर, मुटुरोग, थाइराईड, मृगौला लगायत समस्या भएकाहरुले औषधि माग गर्ने गरेका छन्।

‘टेलिफोन र फेसबुकबाट औषधिको अर्डर गर्नुहुन्छ, बिरामी भएँ भन्नुहुन्छ, यो बेला पैसा कमाउने मात्रै होइन सेवा गर्ने समय हो भनेर घरघरमा लगिदिएको छु’ उनले भने ‘औषधिको पर्ने मूल्य भन्दा मैले घरैमा ढुवानी गरिदिएको अतिरिक्त शुल्क एक जनासँग पनि लिएको छैन।’ लकडाउनको प्रभावले सवारी साधन नचल्दा सर्वसाधारण सदरमुकामसम्म आएर औषधि लैजाने अवस्थामा छैनन्। गाडी र मोटरसाइकलमा औषधि लिएर स्वास्थ्यकर्मी श्रेष्ठ बिरामीकहाँ पुग्छन्। उनलाई भाई प्रितम श्रेष्ठ र श्रीमती सदिक्षा श्रेष्ठले सघाएका छन्। दुबैजना स्वास्थ्य क्षेत्रको भएकाले काम गर्न सहज भएको उनले बताए।’

बुधबार उनी गोरखाको आरुघाट गाउँपालिकाका बालकृष्ण श्रेष्ठलाई थाइराईडको औषधि पुर्‍याउन पुगेका छन्। त्यहाँबाट सोती पुगेर अर्का बिरामीलाई औषधि पुर्‍याएर फर्कने उनले बताए। यसअघि पालुङटार नगरपालिकाको आँपपिपलमा रक्तश्रावका कारण बिरामी परेकी महिलाको उपचार गर्न उनी राति गएर फर्किएको बताए। गोरखा आसपासका कुरिनटार, फिस्लिङ, गोप्लिङ लगायत ठाउँमा पनि उनी औषधि लिएर पुगेका छन्। हेल्थ अशिस्टेन्ट समेत रहेका उनले स्वास्थ्य समस्या परेकाहरुलाई आवश्यक उपकरणसहित चेकजाँच समेत गर्ने गरेको बताए। औषधि पुर्‍याइदिएका बिभिन्न ठाउँमा बिरामीका आफन्तले उनको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेर समस्यामा परेकालाई सेवा गरेको भन्दै धन्यवाद दिएका छन्।

‘आफ्नै खर्चले सुरक्षित हुने सामग्रीको जोहो गरेको छु’ श्रेष्ठले भने ‘दुरी कायम गरेर, आफू सुरक्षित भएर घरघरमै सेवा दिएको छु, लकडाउन र कोरोनाको त्रास भरी यो नियमित गर्ने योजना छ।’ ३० वर्षिय श्रेष्ठ ९ वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन्। उनी औषधि व्यवसायी संघ गोरखाका अध्यक्ष समेत हुन्। रोटरी क्लव, गोरखा जेसिज, गोरखा युथ क्लव लगायत संस्थामा समेत उनी आवद्ध छन्।
 

प्रकाशित: २६ चैत्र २०७६ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App