१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वडाध्यक्ष र वडासदस्यको सेवा सुविधाबाट मास्क र सावुन वितरण

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिका–४ फाक्टाङ वडा कार्य समितिले स्थानीयलाई मास्क तथा हात धुने सावुन वितरण गरेको छ। वडाअध्यक्ष तथा वडा सदस्यको एक/एक महिनाको सेवासुविधा तथा स्थानीय संघसंस्थाको सहयोगमा वडाका करिब ५ सय घर स्थानीयलाई ६३ हजार बराबरको मास्क तथा हात धुने सावुन वितरण गरिएको हो।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सचेतना स्वरुप वडास्तरिय जनप्रतिनिधिको सेवा सुविधा र संघसंस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सुरक्षा र सरसफाईका सामग्री जुटाएर प्रदान गरिएको वडाध्यक्ष भुवलराज राईले बताए। वडाका प्रत्येक स्थानीयलाई मास्क वितरण गरिएको छ।

मास्क तथा सावुन खरिदका लागि वडाध्यक्ष राईले एक महिनाको सेवा सुविधा वापतको १५ हजार तथा वडा सदस्य राजकुमार मगर, विनोदकुमार बुढाथोकी, पदमलक्ष्मी श्रेष्ठ र जानुका बिकको एक महिनाको सेवा सुविधा वापतको ७/७ हजार खर्च गरिएको छ। यस्तै, जनप्रतिनिधिको अभियानमा स्थानीय नवजनजागृति युवा क्लव भञ्ज्याङखर्क, धर्मशाला सामुदायीक वन उपभोक्ता समिति, जाल्पा प्रावि माक्सिङटार र आमा समूह माक्सिङटारले पनि ५÷५ हजार सहयोग गरेको वडा कार्यालयले जनाएको छ। स्थानीयलाई घर–घरमा पुगेर मास्क तथा सावुन वितरण गरिएको हो। पुनः सहयोग जुटाएर अपुग मास्क तथा सावुन प्रदान गरिने वडाध्यक्ष राईले बताए।

गाउँपालिकाबाट प्राप्त भएको बाल्टिन, आरी, मग, सेनीटाइजर, सावुन लगायतका सरसफाईका सामग्रीलाई वडा कार्यालय, कम्पुघाट हेल्थडेस्क, स्वास्थ्य चौकी, प्रहरी चौकी हुक्नाचौंर, सामुदायीक स्वास्थ्य इकाई फाक्टाङ, बालकल्य माबि, बेतुवा माबि लगायतका सार्वजनिकस्थलमा राखिएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७६ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App