१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

परिवारका सदस्यलाईं बचाउने कामना गर्दै घरमै पूजापाठ गर्ने तयारी

इटहरी- विश्वमा फैलिएको कोरोना भाइरसको प्रकोपपछि अहिले नेपाल लकडाउनमा छ। यस्तो अवस्थामा आदिवासी थारुसँगै अन्य जातिले हरेक नयाँ वर्षको दिन मनाउने सिरुवा पर्व यसपालि खुल्ला कार्यक्रम गरि आयोजना गर्ने अवस्था रहेन। जसले गर्दा उनीहरुले आफ्नो धार्मिक आस्था जोगाउन भएपनि घर–घरमै मनाउने तयारी गरेका छन्।

नयाँ वर्ष २०७७ आउन अब ६ दिनमात्र बाँकी छ। सिरुवा अर्थात पहिलो पर्व, जुन वर्षको सुरु दिन मनाइन्छ। यो थारु समुदायको भने महत्वपूर्ण चाँड हो। यसलाई जुरशीतल पनि भनिन्छ। सिरुवा पर्व थारुसँगै राजवंशी, ताजपुरिया, गनगाईं, माझी, मेचे, उराव, किसान, धिमाललगायतका समुदायले मनाउने गर्छन्।

‘घरमा कुल देवताको सामान्य पूजा पाठ गरेर र मान्यजनबाट आर्शिवाद लिनेबाहेक अन्य केही गर्ने सोच बनाएको छैन,’ थारु कल्यणकारिणी सभाका पूर्व सुनसरी जिल्ला सचिव मनोज चौधरीले भने, ‘थारु समूदायले गाउँबाहिर गर्ने बहर पूजा पनि यो पटक रद्द गरिने भएको छ।’ बहर पूजा भने वैशाखअघि चैतमै गरिने चलन थियो।

सिरुवा पर्वमा महिलाहरुले विभिन्न किसिमको रंगिन माटोको प्रयोग गरी लिपपोत गरी चैत अन्तिमदेखि चिटिक्क पारेका हुन्थे। यसपटक भने अहिलेसम्म कुनै तयारी नभएतापनि संस्कृतिको पहिचान मात्र कायम राख्ने गरि कार्य गरिने मनोजले जानकारी दिए। ‘कोरोनाको संक्रमण फैलिन नदिने ढंगले सावधानी अप्नाएर गरिने योजना छ,’ उनले भने, ‘घरबाहिर कुनै पनि कार्य नगरेपछि त समस्या हुँदैन।’

धुमधाम साथ पानी छ्यापेर सिरुवा पर्व मनाउने सक्ने अवस्था नहुँदा केवल धार्मिक आस्थालाई जोगाउने ढंगले मात्र गरिने मनोजले बताए। पानी सिरुवाका अवसरमा अघिल्लो वर्षको दुःख र कष्टलाई पानीले धोई पखाली नयाँ वर्षभरि शरीर शीतल रहोस् भनी कामना गर्ने प्रचलन छ। सिरुवा मनाएको रात जडीबुटी ल्याएर घरको चारैतिर पूजापाठ गर्ने प्रचलनसमेत छ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै ठूलाबाट सानाले आर्शिवाद लिने चलन पनि छ। बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउँकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून’ भनेर आशिष दिन गरेपनि यसपटक भने कोरोना भाइरस फैलिन नदिनका लागि सामाजिक दुरी कायम राखेर मात्र यस्तो कार्य गरिने तयारी भएको अधिवक्ता तथा सुनसरीका थारु अगुवा रामराज चौधरीले बताए।

यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो। चुलोको लिपपोत गरेर पूजा गरिन्छ। त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन। दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा छ। वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ। ‘यसपटक आफ्नो देवतालाई खुसी पार्ने कामबाहेक अरु पनि केही पनि गर्नु हुँदैन,’ प्रदेश नं. १ का सांसद अगमलाल चौधरीले भने, ‘पूजा गर्दा पनि परिवारका सदस्यबीच समेत सामाजिक दुरी कायम राख्दै गर्नुपर्छ।’ पूजापाठ गर्ने र पर्व मान्ने कार्यलाईं घरभित्र मात्र सीमित गर्नुपर्ने सुल्झाए।

सांसद चौधरीले कोरोनाको माहमारी छ दिनमा अरु बढेमा पूजापाठ नै पनि रोक्नुपर्ने अवस्था पनि आउने सक्ने औल्याए। ‘अझै छ दिन रहेकाले गर्दा त्यो बेलासम्म केही धैर्य गरेर बस्नुपर्ने अवस्था पनि छ,’ उनले भने।

त्यसो त यो पर्वलाई समय परिवर्तनको संकेतको रुपमा पनि मनाउने गरेको छ। जसले गर्दा कोरोनाको माहमारी परिवारका सदस्यबाट बचाउनका खातिर पनि उपयोगी हुने अधिवक्ता रामराजले बताए। ‘विधिवत पूजा गरेर पनि कामना गर्दा कोरोनाको माहमारीलबाट परिवारका सदस्यलाई बचाउन सहयोग पुग्छ,’ उनले भने।

सिरुवा पर्वको अवसरमा पूर्वी तराईंका जिल्लाहरुका थारु समुदाय नजिक रहेको धार्मिक स्थलमा मेला लाग्ने लाग्ने गथ्र्यो। तर, यसटक विश्वमा फैलिएको कोरोना माहमारीले गर्दा थारु समुदायले गाउँ गाउँका लकडाउनको पूर्ण पालना गर्न पनि आह्वान गरेका छन्। ‘लकडाउनमा पूर्ण जिम्मेवार बन्न सम्पूर्ण थारु समुदायलाई आग्रह गरिएको छ,’ पत्रकार समेत रहेका थारु युवा सुनिल चौधरीले भने, ‘घर घर र थारुको ग्रामथानमा विधिवत पूजा हुन्छ त्यसमा पनि कुनै भीडभाड नगरिकन्।’ सिरुवा पर्वमा यसपटक कोरोना संक्रमणको नियन्त्रणमा मुख्य ध्येय राखेर कार्य गरिनेछ।  

प्रकाशित: २४ चैत्र २०७६ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App