१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कतारबाट फर्किएका एकको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ'

खोटाङ– कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नभएको पुष्टी भएको छ। फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना परीक्षणका क्रममा कोरोना भाइरसको रिपोर्ट नेभेटिभ देखिएको हो।

विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणका क्रममा उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। सँगै यात्रा गरेका युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि उनलाई पनि संक्रमण भएको आशंकामा जिल्ला अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत उनको नमूना संकलन गरेर परीक्षणका लागि चैत २१ गते राति धरान पुर्‍याइएको थियो।

घर आएको १४ दिनभन्दा बढि बितिसकेको भए पनि संक्रमण भए/नभएको यकिन गर्नका लागि उनको स्वाब परीक्षणमा पठाइएको थियो। कतिपय व्यक्तिमा बाहिर लक्षण नदेखिए पनि भित्र कोरोना भाइरस पोजिटिभ देखिने खतरा हुने सम्भावना देखिएकाले उनको स्वाब परीक्षणमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत १२ गतेदेखि होम क्वारेन्टाइनमा राखिएको छ। ‘स्वाब परीक्षणमा नेगेटिम रिपोर्ट आएको जानकारी प्राप्त भएकोे छ,’ प्रजिअ पौडेलले भने, ‘अब संक्रमण भए/नभएको दुविधा गरिरहन नपर्ने भएको छ।’

सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टाइनमा राखिएका छन्। क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो। हालसम्म जिल्लाका दश स्थानीय तहबाट अन्य कसैको नमूना परीक्षणमा पठाइएको छैन।

प्रकाशित: २४ चैत्र २०७६ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App