१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिम तराईमा कोरोना संक्रमित भेटिदा पहाडमा त्रास बढ्यो

लकडाउनका कारण सुनसान भएको दिपायलको पिपल्ला बजार । तस्बिरः अरूण/नागरिक

डोटी- सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनिबार तीन जना नोवेल कोरोना भाइरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ।  नेपालमा भेटिएका नौ जना संक्रमितमध्ये चार जना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन्। त्यसमा पनि शनिबाार भारतबाट आएकामा संक्रमण देखिएपछि यहाँको जनस्तरमा त्रासदीको माहोल बढेको छ। कोभिड–१९ देखिएका भारतबाट आउनेहरुमा कैलालीका २१ वर्षिय युवा मुम्वई र कञ्चनपुरका ४१ वर्षिय पुरुष उत्तराखण्डबाट आएका हुन्।

यसरी अहिले सयौँको संख्यामा संक्रमित भेटिईरहेका भारतका सहरबाट आएका नेपालीहरु समुदायमा छ्यापछ्याप्ती छन्। जसका कारण यहाँको जनस्तर त्रसित छ। ‘एउटै गाउँमा सयौैँको संख्यामा भारतबाट आएका युवाहरु छन् यतिबेला,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज भट्ट भन्छन्,‘तीमध्ये को कतिबेला? कोसंग सम्पर्कमा पुगे लेखाजोखा नै छैन।’

संक्रमणको पुष्टी भएका कैलालीका २१ वर्षिय युवा चैत्र ११ गते लकडाउनपछि गौरिफण्टामा थुनिएका नौ सय ९९ सयमध्येका एक भएको खुलेको छ। उनीहरुलाई नेपाल प्रवेश गराएर हाल नौवटै जिल्लामा क्वारेन्टाइनमा राखिएको छ। जहाँबाट पनि कैयौँ भागेर घर पुगिसकेका छन्।

डोटीमा मात्रै चैत ११ गतेयता भारतबाट आएका चार सय ३४ जना क्वारेन्टाइनमा छन्। त्योभन्दा अगाडी आएका हज्जारौँ युवा गाउँगाउँ पसिसकेका छन्। ‘मुख्य जोखिम भारतबाट आएकाहरुमा केन्द्रीत छ,’ डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने,‘पछिल्लो पटक आएकालाई त क्वारेन्टाइनमा राखेका छौ।’

यद्यपी डोटीमा भने अहिलेसम्म शंखास्पद बिरामी निकै कम भेटिएका छन्।  जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म तीन जनाको स्वाब परीक्षण गरिएको छ। जसमा सबैको नतिजा ‘नेगेटिभ’ आएको छ।

कैलाली र कञ्चनपुरमा चार जना संक्रमितको पुष्टी भएपछि सतर्कता बढाउने प्रयत्न सरोकारवालाले गरिरहेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आइसोलेसन बेड बढाउन थालिएको छ। जिल्ला अस्पतालले दुईवटाबाट बढाएर १० वटा आइसोलेसन बेड पुर्‍याएको छ। ‘विरामीको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एउटा छुट्टै भवनलाई तयारी अवस्थामा राखेका छौ,’ अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. ज्योती पाण्डेले भनीन्, ‘हाललाई १० बेड आइसोलेसन पु¥याएका छौ।

यसअघि जिल्लाका पाँचवटा अस्पतालका ११ वेडलाई आइसोलेसन बनाईएको थियो। बाँकी अस्पतालमा पनि अवस्थाअनुसार बेड बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।


 

प्रकाशित: २२ चैत्र २०७६ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App