२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

क्युङ गाउँमा सकियो खाद्यान्नः पाँच परिवार भोकै

धादिङ - विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले  कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ। 

एकसठ्ठी घर रहेको क्यूङ  सबै तामाङ समुदायको बसोबास क्षेत्र हो। अधिकांश भारतमा रोजगारीका लागि जाने र परिवार पाल्ने गरेका तामाङ समुदायको गाउँ यस वर्ष भारत जानुअघि नै लकडाउन भएको र केहीअति गरीब परिवारले ज्याला गर्ने अवसरसमेत नपाएकाले  खानेकुरा नभएको गाउँका चोक्ता तामाङले टेलिफोनबाट जानाकारी दिए। कामका लागि बाहिर जाने र गाउँमा उधारो सामान लिएर परिवार पाल्दै आएका गाउँबासी काममा नगएको र लकडाउन भएको भन्दै  व्यापारीले समेत चामललगायत खाद्य सामग्री  नदिएपछि सबैको घरमा खानेकुरा नभएको अम्बर तामाङको भनाइ छ। गाउँमै  ज्याला गरेर खानुपर्ने परिवारको त चार दिनअघिदेखि नै खानेकुरा सकिएको छ।

बाह्र दिनसम्म काम नपाएको तथा गाउँमा एकापसमा ज्याला नहुने र पर्म मात्र हुने भएकाले ज्याला गर्नसमेत समस्या आएको छ। चार दिनअघिदेखि खानेकुरा सकिएकाहरुमा तङ्दोल तामाङ, कान्छा तामाङ, बलराम भनिने चोक्ता तामाङ, अम्बर तामाङ र टेकबहादुर तामाङको परिवार छन्। उनीहरुलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर तामाङले यही चैत १९ गते गाउँपालिका कार्यालयमा लिखित जानाकारीसमेत गराइसकिएको बताए।  गाउँबासीसँंग खानेकुरा छैन। गाउँमा उत्पादन हुने जग्गा छैन। धादिङबेंसीबाट डुनडुरेसम्म कच्ची सडकमा गएपछि ६ घण्टा हिँडेर मात्र पुग्न सकिने विकट गाउँ भएकाले भनेकै समयमा कोही मानिससमेत जान सक्दैन। त्यसैले सो गाउँलाई सहयोग अत्यावश्यक रहेको वडाध्यक्ष तामाङको भनाइ छ। 

गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकको गुनासो छ। चैत १९ गते  इन्सेक प्रतिनिधि र पत्रकारले गाउँपालिका अनुुगमन गर्दा प्रतिकार्ययोजना नै नबनेको तथा गाउँपालिकाले एउटा क्वारेन्टाइन बनाएको भए पनि गाउँमा अलपत्र परेका मजदूरले सहयोग नपाएको गुनासो गरेको पाइएको थियो। गाउँ पुगेको टोलीलाई गाउँपालिका उपाध्यक्ष योमाया तामाङले लकडाउन उल्लंघन गरेर किन आएको भन्ने प्रश्न गरेकी थिइन। यता वडाध्यक्ष तामाङले भने कुनै पनि तरिकाले क्यूङ गाउँमा सहयोग गरिने वचन दिए। रासस

प्रकाशित: २२ चैत्र २०७६ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App