१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको प्रश्न : मेडिकल सामाग्री खरिद अनियमितताको अनुसन्धान र कारवाहीमा किन ढिलाइ ?

काठमाडौं-  नेपाली कांग्रेसले मेडिकल सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान र कारवाहीमा ढिलाई भएको भन्दै सरकारलाई सचेत गराएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्।

४ वटा बुँदा रहेको विज्ञप्तिमा यसो भनिएको छ :

(१) कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन यतिबेला हामी सरकारको साथमा छौं र हरसंभव सघाइरहेका छौं । युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौं तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौं । तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने कार्य गरेको छ ।

(२) अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन । यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।

(३) लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ । अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ ।

(४) लक डाउनको प्रतिकूल अवस्थाका बावजुद संचार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएका छन् । यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद छ । काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु ।

नेपाली कांग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने छ । तर आजको संकटसंग जुध्न निरन्तर सरकारको साथमा रहनेछ ।

 

प्रकाशित: २१ चैत्र २०७६ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App