१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्यालादारी मजदुरलाई वडामै खाद्यान्न

बाम्राङका ज्यालादारी काम गरेर जीवन निर्वाह गरिरहेका परिवारलाई खाद्यान्न वितरण गरिँदै । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण भइरहेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका सर्वसाधारण मजदुरलाई नगरपालिकाले वडा कार्यालयमार्फत खाद्यान्न वितरण सुरु गरेको हो।

विहान बेलुकाको छाक टार्न ज्यालादारीको काम गर्दै आएका निम्न आर्थिकस्तरका परिवारलाई ‘लकडाउन’को अवधिमा भोको नराख्ने निति अनुसार विपन्न परिवारलाई चैत २० गतेदेखि चामल, दान, नुन, तेल लगायतका भान्छामा उपयोग हुने खाद्य सामग्री वितरण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए। १५ वडा रहेको नगरपालिकाका विभिन्न वडामा ज्यालादारी मजदुर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण भइरहेको नगरपालिकाले जनाएको छ।

बाम्राङका ८२ परिवारलाई खाद्यान्न
शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरिएको छ। बाम्राङको रमितेडाँडाबाट नगरप्रमुख रिजालले खाद्यान्न वितरण सुरु गरेका छन्। ज्यालादारी काममा निर्भर परिवारलाई प्रतिपरिवार १० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र १ डल्ला सावुन वितरण सुरु गरिएको वडाध्यक्ष ललित राईले बताए। ज्यालादारी मजदुरको काम गरेर परिवार धानिरहेका वडाका ८२ परिवारलाई खाद्यान्न वितरण गरिने वडा कार्यालयले जनाएको छ।

‘लकडाउन’ भए पनि प्रशासनको सिफारिसमा ट्याक्टरमा खाद्यान्न बोकेर वडाका टोल–टोलमा पुगेर खाद्यान्न बाँड्ने वडाध्यक्ष राईले बताए। ‘कोरोना लागे लागोस्, ट्याक्टरमा खाद्यान्न बोकेर टोल–टोल पुग्दैछु,’ वडाध्यक्ष राईले भने, ‘खाद्यान्न पनि पुग्छ, सचेतना पनि पुग्छ। यहीबेला सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्दैछु।’

हालसम्म ‘लकडाउन’को मारमा परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले प्रतिव्यक्ती १० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र सावुन वितरण गर्न भने पनि वडामा फरक–फरक मापदण्ड बनाएर खाद्यान्न वितरण भइरहेको छ।

 

प्रकाशित: २१ चैत्र २०७६ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App