१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतबाट नेपाल आउने क्रम रोकिएन

इटहरी- भारतबाट आएर घरमै निर्धक्क बस्ने र सीमावर्ती क्षेत्रमा घुमफिर गर्ने २१ जनालाईं सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

प्रहरीले मंगलबार चार जनालाईं हरिनगरको रामनगर भूटाहाबाट र बुधबार सीमावर्ती क्षेत्रका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको हो। चार जना भारतबाट केही दिनअघि आएर घरमै बसेको सूचना पाएपछि नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले भन्। पक्राउ परेका यी चारै जना क्वारेन्टाइनमा बस्न नपरोस् भनेर घरमा निर्धक्कसँग बसेको पाइएको जनाइएको छ।

लुकिछिपी नेपाल आउने क्रम बढ्दा सबैभन्दा बढी सुनसरीको दक्षिणवर्ती क्षेत्रका बासीन्दा कोरोनाको उच्च जोखिम बढेपछि कडाई गर्ने क्रममा बुधबार थप १७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको सहायक प्रमुुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जनाए । ‘खुल्ला सीमनाले गर्दा सीमावर्ती क्षेत्रमा भेटिएका व्यक्तिलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका हौ,’ गिरीले भने।

सुनसरीमा यतिबेला भारतबाट काम गरेर फर्कनेको संख्या बढ्दो छ। यसैक्रममा राजस्थान जयपुर मजदुरी काम गर्न गएका कोशी गाउँपालिकाका १० जना लुकिछिपी गाउँ आइ पुगेका छन्। भारतबाट नेपाल प्रवेश गर्ने क्रम बढीरहँदा १० जना खुल्ला सिमानाका कारण सहजै आफ्नो गाउँ आई पुगेका हुन्। गाउँ आई पुगेकामध्ये पाँच जनाको कोरोनाको परीक्षण समेत गरिएको छ। कोरोनाको परीक्षण गर्दा पाँचै जनाको नेगेटिभ रिजल्ट आएको कोशी गाउँपालिका अध्यक्ष अयूव अनसारीले बताए।

गाउँपालिकाले भारतबाट आएकालाई कोशी वडा नं. ५ कै सलफिया मर्दसामा राखेको छ। गाउँपालिकाले क्वारेन्टाइन नबनाएकाले गर्दा खाली मस्जिदमा उनीहरुलाई राखेको हो।

भारत सरकारले तीन साता लामो लकडाउन गरेकाले गर्दा त्यहाँ यातायात बन्द छन्। तर, मजदुरी गर्न गएका नेपाली लकडाउनले गर्दा काम ठप्प भएपछि हिँडेरै भएपनि नेपालतर्फ आउँदा भारतीय सुरक्षाकर्मीले रोकटोक नगर्दा सहजै दसगजा क्षेत्रमा आइ पुग्ने गरेका छन्। दसगजा क्षेत्रमा आई पुगेपछि यतिबेला मकैबारी रहेको र त्यसमा पनि रातिको बेला सहजै नेपाल प्रवेश गर्ने गरेको कोशी गाउँपालिका प्रमुख अनसारीले भने।

अनसारीका अनुसार, अरु भारत गएका नेपाली पनि धमाधम नेपाल फर्किदा छन्। ‘आफन्तलाई बरु क्वारेन्टाइनमा बसाउने तर स्वदेश फर्कन पाउनुपर्छ भनेर परिवारका सदस्यले बारम्बार दबाब दिइ रहेका छन्,’ अनसारीले भने, ‘गाउँपालिकाले पनि सीमा नाकाबाट निरन्तर प्रवेश गर्दा जोखिम बढ्ने भएकाले गर्दा बरु दस गजामै बस्नु अनि जानकारी दिन भनिएको छ।’ दसगजामा आएर वसेकालाई भने प्रशासनसँग समन्वय गरेर नेपाल ल्याएर क्वारेन्टाइनमा बसाउने तयारी भएको अनसारीले बताए।

कोशी गाउँपालिकाबाट मात्र चार सय जनाको हाराहारीमा भारत मजदुरी काम गर्न गएका छन्। तीमध्ये केही सीमित व्यक्ति भारत र नेपालमा लकडाउन हुनु पूर्व नै फर्किएपनि अधिकतर आउँन बाँकी छन्। ती अहिले धमाधम फर्किदा छन्। ‘प्रहरीको जति नै निगरानी भएपनि खुल्ला सिमानाका कारण रोक्न सक्ने अवस्था नै छैन,’ अनसारीले भने।

सुनसरीमा ६५ किलोमिटर खुल्ला सिमना पर्छ। सीमा क्षेत्रमा निगरानी गर्ने सुरक्षाकर्मीको संख्या अपुग भएकाले गर्दा भारतबाट लुकेर नेपाल आउनेलाई थप कडाई गर्न जिल्ला सुरक्षा समितिसमक्ष सुरक्षाकर्मी माग गरिएको बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले बताए। ‘नेपालकै कतिपय चोरबाटो भएर अहिले पनि सामान लिन जान्छन् अनि उताका पनि लुकेर रातिको बेला नेपाल प्रवेश गर्छन्,’ उनले भने, ‘यस्तो हुँदा त दुवै देशलाई कोरोनाको जोखिम हुने नै छ।’ उनका अनुसार बर्जु गाउँपालिका क्षेत्रमा अहिलेसम्म त कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन। तर, निरन्तर भारतबाट आउनेले गर्दा अब नफैलिएला भन्न सक्ने अवस्था छैन।

त्यसो त नेपालमा लकडाउन हुनुअघि देवानगञ्ज क्षेत्रबाट भारतमा काम गर्न गएका थुप्रै नेपाली फर्के। गाउँपालिका अध्यक्ष लाली मेहताले भने, ‘अहिले त आएको रेकर्ड छैन, चैत ११ गते अघि चाँहि भारतमा काम गर्न गएका थुप्रै नेपाली आए।’ सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भारतबाट आउनेलाईं सूचना पाउनासाथ क्वारेन्टाइनमा ल्याएर राखिएको बताए।

प्रकाशित: २० चैत्र २०७६ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App