२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जो सुनौलीदेखि ६८ घण्टा हिँडेर धादिङ आइपुगे

भारतबाट फर्किएर नीलकण्ठ नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ का विरेन लामा । तस्बिर : नागरिक

धादिङ- काम खोज्दै भारतको गोरखपूर पुगेका धादिङका युवाहरु कोरोनाको त्रासले हिँडेरै घर फर्किएका छन्। सुनौलीदेखि धादिङबेसी आइपुग्न ६८ घण्टा लागेको जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ का विरेन लामाले बताए। ‘आपत विपतमा आफू जन्मेको गाउँ/ठाउँ प्यारो हुन्छ भन्थे हो रहेछ’, उनले भने, ‘भारतमा कोरोना त्रास सुरु भएपछि गरिरहेको व्यापार, व्यवसायमा ताल्चा मारेर ६८ घण्टा हिँडेर आएका हौँ।’

१२ कक्षाको परीक्षा सकिएपछि काम खोज्दै लामा भारत पुगेका थिए। केही समय गोरखपुरमा गाउँकै दाइहरुको काम गरे। पछि आफैले केही गर्नुपर्छ भन्ने लाग्यो र एउटा फास्ट फुड सञ्चालन गरे। होटल सुरु गरेको ६ महिना जति भएको थियो, कोरोनाको विपत्ती सुरु भयो। विश्वभरी फैलिएको कोरोना त्रासले अततः भारतलाई पनि छोयो। कोरोनाको त्रास बढ्दै गएपछि भारतले पनि पूरै देश लकडाउन गर्ने निर्णय गरेपछि भने झनै अवस्था बिग्रिएको उनले सुनाए।

भारतमा पनि कोरोनाको संक्रमण सुरु हुनेवित्तिकै आफूहरु निकै चेपुवामा परेको उनले सुनाए। ‘हाम्रो मंगोलियन अनुहार भएकाले चाइनिज जस्तो लागेर केही दिनमै ब्यवहार नै फरक देखिन थाल्यो’, उनले भने, ‘पुलिसले तेरै देश फर्कि जा भन्ने, त्यहाँका स्थानीयहरुले पनि भेदभाव गर्ने, पसलमा सामान किन्न नदिने जस्तो ब्यवहार सुरु भयो।’ हामीलाई १/२ महिना कोठाभित्रै बसेर खानाको लागि कुनै समस्या थिएन, तर भारतीयहरुको हेपाहा प्रवित्तिले यो विपत्तीमा गाउँ नै जानुपर्छ भन्ने अठोट लियौँ।

गाउँ जाने अठोट त लिए तर कसरी जाने? बजार र गाडीहरु पूरै बन्द भएपछि त्यहाँको पुलिसलाई सुनौलीसम्म जाने ब्यवस्था मिलाइदिन अनुरोध गरे तर चाइनिज जस्तो ठानेर वरपर समेत आउन दिएनन्। भारतमा कोरोना लागिहाल्यो भने मर्ने बाच्ने ठेगान हुन्न, कोरोना नै लागेर मरिएछ भने पनि गाउँमै मरुम भनेर गोरखपुरदेखि सुनौलीसम्म आउनको लागि ६० हजार आइसी बुझाएर दुईवटा एम्वुलेन्समा १० जना सुनौली नाका आइपुगेको उनले सुनाए। नाकासम्म त आइपुगे नाकाबाट प्रवेशै गर्न दिइएन।

सुरक्षाको लागि कडाइ गर्नुसम्म त ठिकै थियो, चेकजाँच गरेर सुरक्षित तरिकाले भित्र्याउनु त कता हो कता कुनैपनि हालतमा छिर्न पाउने अवस्था नदेखेपछि लामासहितको टोलीले एउटा उपाय निकाले। सामान बोकेर नेपाल भित्रिरहेका कन्टेनरहरुमा खलासी बनेर नेपाल प्रवेश गरे। भारतबाट आएको भनेपछि हामीले कोरोनालाई नै झोलामा हालेर ल्याएको जस्तो गरि कुनै होटलमा बास दिइएन। प्रहरीको सहयोगमा एउटा होटल मिल्यो तर घर धादिङ आउनको लागि कुनै सवारी साधन नपाएपछि ५ दिनसम्म त्यही बस्नुप¥यो।

सवारी साधन पाउने छाँटकाँट नदेखिएपछि सबैको सल्लाहमा पैदल यात्रा सुरु गरे। सुनौलीबाट हिँडेको ६८ घण्टापछि हामी धादिङवेशी आइपुग्यौं। बीचमा सुनवलबाट केही घण्टा हिँडेपछि १५ किलोमिटर जति दाउन्ने आइपुग्ने बेलासम्म एउटा ट्रकमा चढेको र बाँकी सवै ठाउँमा हिँडेरै यात्रा गरेको उनले सुनाए। रातमा बास पनि बसेनौँ, हिँड्दै केहीबेर थकाइ मार्दै फेरी हिँडेर धादिङवेशीसम्म आइपुगे।

बाटोमा खाजा र पानी समेत खान नपाउँदा भोकभाकै यात्रा गर्नुपर्‍यो। पानी समेत किनेर खान नपाउँदा खोलाको पानी खाएर पनि प्यास मेटाए। कताकति खुलेका पसलहरुमा भारतबाट आएको भनेपछि छिछि दुरदुर गरेको नमिठो अनुभव सुनाए। ‘कोराना संक्रमण हुन नदिन अरुबाट सुरक्षित त रहनुपर्छ तर साह्रै अपमान हुने ब्यवहार त देखाउनु हुँदैन नी’ उनले भने, ‘भारतमा त्यस्तो ब्यवहार हुँदा त पराइको ठाउँ भनेर चित्त बुझाइएको थियो, नेपालमै त्यस्तो ब्यवहार हुँदा भने नमिठो लाग्यो।’

रोजगारीको लागि एकै ठाउँमा रहेका धादिङका ५ जना युवाहरु र चितवनका ५ जना युवाहरुसंगै नेपाल फर्किएका थिए। नेपाल भारत सीमा नाका सुनौलीदेखि ६८ घण्टाको पैदल यात्रा पार गरेर नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोट पात्लेका विशाल लामा, नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ सेल्लेका विरबहादुर गल्देन, पुर्ण गल्देन, विरेन लामा र मदन लामा धादिङवेशी आइपुगेका हुन्। हाल डिभिजन वन कार्यलयको नवनिर्मित भवनमा नीलकण्ठ नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा बसिरहेका छन्।

यता धादिङ जिल्लाका विभिन्न उद्योग, कल–कारखाना लगायत विकास निर्माणका क्षेत्रमा मजदुरी गर्नेहरु कोरोनाको त्रासले घर फर्किएका छन्। सवारीका साधानहरु नचल्दा नजिक जिल्लाका कतिपय मजदुरहरु हिँडेरै घर फर्किएका छन् भने टाढा–टाढाका मजदुरहरुलाई सकस परेको छ। यतिबेला बाहिरी जिल्लाबाट आएर भूकम्पको पुनर्निर्माण, सिमेन्ट उद्योगहरु, जिल्लाका अन्य विकास निर्माण खटिएका र इटाभट्टामा कार्यरत हजारौं मजदुरलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिनेहरुको लर्को लागेको छ।

उद्योगहरु बन्द भएको र काम गर्ने स्थानहरुमा खाने कुराहरुको अभाव पर्न थालेको भन्दै धादिङ जिल्लाका विभिन्न स्थानहरुलाई कर्मथलो बनाई बसेका मजदुरहरु घर फर्कन थालेका हुन्। घर फर्कदा सवारी साधन चढ्नु अघि उनीहरुलाई स्वास्थ्य परीक्षणको ब्यवस्था समेत गरिएको छ। मदजुरहरुलाई सुरक्षित तवरबाट घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालय धादिङले सम्वन्धित उद्योग धन्दाहरुले खर्च बेहोर्ने गरि सवारी साधनहरुको ब्यवस्थापन मिलाइरहेको छ। जिल्लामा ४२ वटा सानाठूला गरी ५ हजार भन्दा बढी कामदार इटा भट्टामा काम गर्छन्।

धादिङ जिल्लामा ४ सय ७९ जना व्यक्तिहरु विदेशबाट फर्किएका छन्। ती मध्ये विदेशबाट आएका ७८ जना क्वारेन्टाइनमा बसेका छन्। बाहिरी जिल्लाका १० जना गरि जम्मा ८८ जना क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय धादिङका इन्पेक्टर जयन्ती थापाले बताइन्। जिल्लाभर ५९ वटा ठाउँमा ५ सय ९० बेड क्वारेन्टाइन निर्माण गरिएको छ। प्रशासनले विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

 

प्रकाशित: २० चैत्र २०७६ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App