१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कतारी अमिरसँग नेपाली कामदारको हितमा छलफल

काठमाडौं- कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले त्यहाँका अमिर थानी, विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान र श्रममन्त्री इशा बिन साद अल जफालीलाई भेटी नेपाली कामदारको विषयमा छलफल गरेका छन्।

भेटमा उनले कतारमा रहेका साढे तीन लाखभन्दा नेपाली कामदारको सेवा, सुविधा र सुरक्षाबारे छलफल गरेका थिए। भेटमा नेपाली कामदारको सेवा सुविधा बढाउन कतार सरकार गम्भीर रहेको कतारी मन्त्रीले बताएका थिए। दुई देशका मन्त्रीबीच समस्यामा परेका नेपालीको सुविधाका लागि सुरक्षित आवास गृह स्थापना गर्ने, नेपाली कामदारका समस्या समाधानका लागि  श्रम मन्त्रालयअन्तर्गत एक संयन्त्र स्थापना गर्ने समझदारी भएको बताइएको छ। 

कतारले नेपालमा एक पोलिटेक्निक स्थापना गरी दक्ष जनशक्ति स्थापनाका लागि लगानी गर्ने तथा नेपालको हस्पिटालिटी, पर्यटन, हाइड्रोपावर र टेलिकममा लगानी गर्ने विषयमा पनि  समझदारी भएको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुनकुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्नेबारेमा दिन सुझावका आधारमा नेपालमा कतारले लगानी गर्ने तथा द्विपक्षीय सम्बन्धका क्षेत्र विस्तारका सम्भावना पहिचान गर्नेबारेमा छलफल भयो,' विज्ञप्तिमा उल्लेख छ।

भेटवार्तामा परराष्ट्रमन्त्री महतले  कतारका अमिरलाई नेपाल भ्रमणका लागि निमन्त्रणापत्र समेत हस्तान्तरण गरेका थिए। जबाफमा कतारका अमिरले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको तथा नेपाली कामदारको हकहितका लागि कतारले सधै विशेष ध्यान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए। भेटमा कतारका अमिर थानीले नेपाली कामदार इमानदार रहेको भन्दै प्रशंसा गरेका थिए।

कतारमा नेपाली दक्ष तथा अर्धदक्ष कामदारको कोटा बढाउने, चौबिस घन्टे बिमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकका समस्या तथा गुनासो छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवास गृह व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेलगायत विषयमा छलफल भएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २८ पुस २०७३ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App