१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कोरोना अस्पतालमा मृत्यु प्रकरण,  चार दिनसम्म उठेन शव

बुटवल - बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा  उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि  पत्नी र आफन्तले शव नउठाएका हुन्।

रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी रीताकोे छ। ‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेर मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुप¥यो,’ रीताले भनिन्।

दाजु विमलले पनि भाइ बाबुरामको मृत्युको कारण अस्पतालले बताउनुपर्ने तथा दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए। ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’, विमलले भने।

कोरोना नभएका मेरा पतिलाई किन अस्पतालमा थुनेर राखियो ? समयमै ल्याब परीक्षण गरी  किन औषधि चलाइएन ? आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल गएका उहाँलाई अस्पालले उपचारै नगरेर मारेको हो । मलाई न्याय चाहियो। 
–रिता, मृतक बाबुराम थापाकी पत्नी

रीताका अनुसार  बाबुरामले  अस्पतालका डाक्टर नर्सले हेरविचार नगरेको, खाना र पानीको समेत राम्रो व्यवस्था नभएको गुनासो  मोबाइल फोनबाट गरेका थिए। ‘मलाई राखिएको कोठाको ढोकाबाट भित्र कोही पस्दैनन्। ज्वरो नाप्ने थर्मोमिटर दिएका छन्। आफै नापेर टिपाउनुपर्छ’ खाना र औषधि पनि टाढैबाट हुत्याइदिन्छन्। तिमी चिन्ता नगर। उपचार त गर्नै प-यो भन्नुहुन्थ्यो’, पतिसँगको फोनवार्ता उद्धृत गर्दै रीताले  भनिन्।

रीताका अनुसार बाबुरामले शनिबार साँझ साढे ८ बजेतिर उनलाई फोन गरी आफू छिट्टै निको भएर फकर्ने भन्दै चिन्ता नलिन र छोराहरुको ख्याल राख्न भनेका थिए। आइतबार बिहान  आफूले फोन गर्दा पति आत्तिएपछि हतारहतार एम्बुलेन्समा अस्पताल गएको उनले बताइन्।

रीताका अनुसार अस्पताल पुगेपछि बिहान साढे ११ बजेतिर डाक्टरले बाबुरामकोे अवस्था गम्भीर भएको बताएका थिए। उनी एक्लै अस्पताल परिसरमा छटपटाइन् तर कसैले सान्त्वना दिएनन्। सकेसम्म स्वास्थ्यकर्मी उनीबाट तर्केरै हिँडे। दिउँसो एक बजे एक डाक्टरले ‘सरी, तपाईंका श्रीमान्लाई बचाउन सकिएन भन्नुभयो’, रीताले भनिन्।

कोरोना उपचार अस्पतालमा बाबुरामको मृत्यु भएको खबर फैलिएपछि बुटवलमै रहेका  आफन्त, छिमेकी र साथीसमेत त्यहाँ पुगेनन्। घरमा ६ र १० वर्षका दुई छोरालाई पनि पानी खान दिने कोही भएन। रीतालाई कसैले वास्ता नगरेको भन्दै आलोचना भएपछि लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिले साँझ घर  जाने गाडी व्यवस्था गरिदियो।

अर्को दिन सोमबार थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो। ‘कोरोना नभएका मेरा पतिलाई किन अस्पतालमा थुनेर राखियो ? समयमै ल्याब परीक्षण गरी  किन औषधि चलाइएन ?’ रीताको प्रश्न छ। तर अस्पतालका डाक्टर र व्यवस्थापन पक्ष हेरिरहेको प्रादेशिक अस्पताल विकास समिति नाजबाफ छ।

अस्पतालका डाक्टर ल्याब रिपोर्टप्रति शतप्रतिशत विश्वास गर्न नसकिने भन्दै पन्छिन खोजका छन् । रीताका आफन्त र छिमेकीले बाबुरामको  मृत्यु कोरोनाले हो वा हैन भन्नेबारे अस्पताल र डाक्टरले स्पष्ट जबाफ दिनुपर्ने माग गरेका छन्।

 लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराई उपचार गर्दागर्दै कसैको मृत्यु भइहाले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। आफन्तले त उपचार नपाएरै बाबुरामको मृत्यु भएको भनेका छन् नि भन्ने प्रश्नमा उनले यो विषय आफ्नो नभएकाले डाक्टरसँगै जवाफ माग्न भने।

कोरोना उपचार अस्पताल भनिए पनि आवश्यक स्वास्थ्य उपकरण, आइसियुलगायत सुविधा नभएको अस्पतालकै डा. विष्णु गौतमले बताए। चैत ६ गते दुबईबाट काठमाडांै आएका बाबुराम ७ गते सैनामैना नगरपालिका–४ सिसौंडाँडास्थित डेरामा आएका थिए। डेरामा आएपछि ज्वरो आएका उनी स्थानीय स्वास्थ्य चौकीको सल्लाहमा १३ गते एक्लै  रिक्सा चढेर कोरोना अस्पताल पुगेका थिए। उनी सोही दिन अस्पताल  भर्ना भएका थिए।

१६ गते बिहान उनलाई श्वासप्रश्वासको समस्याले च्याप्यो। डाक्टरले उनको घाँटीको स्वाब निकाले। त्यसको केही समयपछि दिउँसो १ बजे उनको मृत्यु भएको जानकारी अस्पालले गराएको थियो। स्वाब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ नभएको छ।

प्रकाशित: २० चैत्र २०७६ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App