१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुम्लामा खाद्यान्न ढुवानी शुरु

सिमकोट - देशभर लकडाउन भइरहे पनि आजदेखि उच्च हिमाली हुम्लामा खाद्यान्न ढुवानी शुरु भएको छ। हुम्ला जस्तो विकट ठाउँमा खाद्यान्नको अभाव भएका बेला प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको पहलमा  खाद्यान्न ढुवानी शुरु भएको छ। हुम्ली  भोकले नमरुन् भन्ने उद्देश्यका साथ सांसद लामाले  सीता एयरलाई अनुरोध गरेपछि नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाको चामल ढुवानी हुने भएको हो।

सीता एयरको जहाजबाट आजै दुई उडानले खाद्यान्न ओसारेको सिमकोट स्टेशनका निमित्त स्टेशन इन्चार्ज सूर्य लामाले बताए।  कोभिड १९ को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउन भए पनि कर्णाली प्रदेशको हुम्लामा खाद्यान्न ढुवानी हुनु भनेको सराहनीय भएको स्थानीयवासी लोग भण्डारीले बताए। सडक यातायातले नछोएको मुलुकको एक मात्र जिल्ला हुम्लामा खाद्यान्न ढुवानी अझै पनि परम्परागत ढंगबाट नै गरिँदै आएको छ। 

यसपटक देखिएको खाद्यान्न अभाव हटाउन आजदेखि हवाई माध्यमको सहारा लिइएपछि जिल्लामा खाद्यान्नको अभाव नहुने देखिएको छ। आज बिहान नेपालगञ्जबाट दुई हजार ८१० केजी चामल सीता एयरका जहाजले पुर्‍याएको तथा सुर्खेतबाट दुई उडानमा तीन हजार २१० केजी चामल ढुवानी भएको एयर सिमकोट स्टेशनका निमित्त इन्चार्ज लामाले बताए। लकडाउनका बेला हुम्लामा हुने खाद्यान्न अभावलाई ध्यानमा राखी हुम्लीलाई खाद्य समस्या नहोस् भनेर ढुवानी गर्न लागिएको सङ्घीय सांसद लामाले बताए। आगामी दिनमा नुनको पनि ढुवानी गर्न लगाइने सांसद लामाको भनाइ छ। रासस

प्रकाशित: १९ चैत्र २०७६ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App