१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता रद्ध

काठमाडों- सरकारले मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसंग गरेको सम्झौता रद्द गरेको छ। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिदै गएको र नेपालमा पनि कोरोनाका पोजेटिभ विरामी देखिएपछि सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धी मेडिकल सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसंग सम्झौता गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खरिद सम्झौता रद्द भएको जानकारी दिएका हुन्। सम्झौतामा उल्लेख भए अनुसारको सामान निर्धारित समयभित्र ल्याउन नसकेकाले ओम्नीसंगको सम्झौता रद्द गरिएको उनले बताए। उनले आवश्यकताको १० प्रतिशत मात्रै सामान आएको र सो सामानले केही समयका लागि पुग्ने भएकाले थप सामग्री ल्याउनका लागि सरकारले भोलीदेखि नै नयाँ प्रक्रिया सुरु गर्ने पनि जानकारी दिए।

उनले कुनै पनि अस्पताललाई मेडिकल सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाउदै स्वास्थ्य सामग्रीको अभावमा विरामीको उपचारमा सम्झौता नगर्न पनि अनुरोध गरे। विश्वस्तरमा संक्रमणको फैलावट तिव्र हुँदै गएपछि थप सामान किन्नका लागि सरकारले प्रक्रियाअघि बढाएको भन्दै उनले सो क्रममा भएका छलफलको फेयरिस्त नै सुनाए।

उनले ओम्नीसंग गरिएको खरिद सम्झौता बजार भाउ भन्दा २० प्रतिशत बढी भएको पनि स्वीकार गरे। उनले भने, 'बजार भाउ भन्दा २० प्रतिशत बढी थियो। बढी छ। तर ३० तारिकभित्र ल्याउनुपर्ने थियो। सबै सामान नआएकाले सम्झौता रद्द गरियो।' उनले र्‍यापिट टेस्ट किट परीक्षणपछि आवश्यकता हेरेर प्रयोग गर्ने स्पष्ट पारे। र्‍यापिट टेस्ट किटको परीक्षण गरेपछि मात्रै पेमेण्ट गरिने पनि उनले बताए,

संक्रामक रोगको टेष्ट गर्दा जहिले र जहाँ पनि सेन्सेटिभिटी र स्पेसिभिटी हुने उल्लेख गर्दे उनले समुदायमा संक्रमण देखिएको र महामारी फैलिएको अवस्थामा मात्रै र्‍यापिट टेस्ट किट प्रयोग गरिने बताए। अन्तराष्ट्रिय अनुभव, सल्लाह, सुझाव र वर्तमान आवश्यकता अनुसार नै मन्त्रालयले काम गरिरहेको भन्दै अनावश्यक रुपमा प्रश्न उठाएर जनतामा नकारात्मक संदेश फैलाउने काम नगर्न पनि उनले संचार रक्षेत्रलाई आग्रह गरे।

प्रकाशित: १९ चैत्र २०७६ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App