१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कुख्यात 'टिके डाँका' पक्राउ

काठमाडौं–सागर बोलाउने, नागरिकताको नाम टिकाबहादुर थापा मगर तर प्रहरीका लागि 'टिके डाँका' । टिकेका बिषयमा जति प्रहरी र अड्डा अदालतलाई जानकारी छ, त्यही अनुपातमा टिके पनि प्रहरी र अड्डा अदालतका बिषयमा जानकारी राख्दछन् । २०६४ पछि पटक–पटक गरि पाँच  वर्षसम्म सुधार गृह(कारागार) बसेका टिके पछिल्लो पटक गत असार ७ मा पक्राउ परि २६ लाख रुपैयाँ बुझाएर छुटेका थिए ।  

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेका टिके बारम्बार सुधारका लागि सुधार गृहमा राखिएपनि पुरानै पेशामा फर्कने अभियुक्तमध्ये एक हुन । काठमाडौं उपत्यकालाई कार्य क्षेत्र बनाएका टिके १५ घटनामा संलग्न रहेको प्रहरीसँग अनुसन्धान प्रमाण छ । बाँकी एक दर्जन बढि घटनामा उनको संलग्नता हुनसक्ने आशंकामा महाशाखाले अनुसन्धान गरिरहेको छ ।

‘काठमाडौंमा नगद लुटपाट भए शंकाको पहिलो घेरामा पर्ने अभियुक्तमध्ये एक हुन, यसपटक दशीप्रमाण सहित नियन्त्रणमा लिएका छौ,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । उनका अनुसार टिके काठमाडौंमा रहेको सूचना पाएपछि पच्छ्याई रहेको टोलीलाई समेत आक्रमण गरेर उनी भाग्न खोजेका थिए । महाशाखाले टिकेलाई मनहरा क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

भक्तपुर कौशलटारमा रहेको एनआईसी एशिया बैंकबाट नगद  निकाली गठ्ठाघर जादै गरेकी मन्दिरा अधिकारीको लेडिज ब्याग खोसेर भागेका अज्ञात ब्यक्तीको खोजीमा जुटेको प्रहरीले टिकेलाई पक्रेको हो । अधिकारीले बैंकबाट रकम निकालेपछि टिकेले लुटेका थिए । प्रहरीले अधिकारीबाट लुटपाट भएको ६ लाखमध्ये तीनलाख उनको कोठाबाट बरामद गरेको छ। प्रहरीले टिकेको कोठाबाट अधिकारीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र , एमकला भन्डारीको नागरिता प्रमाण पत्र , ढाका को लेडिज ब्याग , एम कला भन्डारिको ग्लोबल आईएमई बैंकको चेक बुक तथा लुटपाट गर्दा प्रयोग गरेको ज्याकेट जुत्ता समेत फेला पारेको हो ।

महाशाखाका अनुसार टिकेलाई पहिलो पटक २०६४ बैशाख ६ मा डाँका घटनामा पक्राउ गरिएको हो । दोस्रो पटक २०६५ जेठ ५ मा पक्राउ परेका टिके त्यसको तीनवर्षपछि २०६८ असार ३४ मा मोटर साइकल चोरी घटनामा पक्राउ परेका थिए । सो वर्ष कारागार गएका टिके चैत ५ मा छुटेका हुन ।  यस्तै पुनः २०६९ साउन ३ मा पक्राउ परेका टिके धरौटीमा रिहा भएका हुन। पछिल्लो पटक उनी गत वर्ष असारमा २६ लाख धरौटी बुझाएर छुटेपछि पुनः लुटपाट र चोरीमा संलग्न हुदै आएका थिए ।

महिला र नगद पहिलो निशाना

प्रहरी अनुसन्धानमा टिकेको समुह संलग्न अधिकांश घटनाका पीडित महिला रहेका छन । यस्तै टिकेको समुहले वित्तिय संस्थाबाट रकम निकालेर निस्किएका महिलालाई पहिलो निशाना बनाउने गरेको अनुसन्धानमा खुलेको हो ।

महाशाखाका अनुसार यस वर्ष असोज देखि पुससम्म भएका पाँच घटनामा चार घटनाका पीडित महिला रहेका छन । यस्तै घटनामा टिके समुहले आफैले चोरी गरेका मोटरसाईकल प्रयोगगर्दै आएको थियो ।

टिकेको समुहले पुस २२ गते मन्दिरा अधिकारीको ६ लाख, मंसिर १९ गते यमकला भण्डारीको तीनलाख ६० हजार, मंसिर ५ गते सुस्मिता सुवेदीको करिब ७५ हजार लुटपाट गरेको हो । भक्तपुर कटुन्जेमा रहेका इस्ट इन्टरनेशनल मनि ट्रान्सफरबाट  रकम निकालेकी सुबेदी, भन्डारीले सहकारी बाट निकालेको रकम लुटपाट भएको थियो । यसै वर्ष असोज १४ मा  भक्तपुर राधे राधे मन्दिर नजिकबाट मायादेबी उप्रेतीको साथमा रहेको ९३ हजार रुपैयाँ, असोज ५ मा काभ्रेको बनेपा तरकारी बजारमा कन्ट्री डेभलपमेन्ट बैकमा जम्मा गर्न लगिरहेको तीन लाख ७० हजार लुटपाटको प्रयासमा टिके समुह असफल भएका थिए ।

महाशाखाका अनुसार टिके समुहले २०७२ बैशाख २७ मा वाफलस्थित कोहिनुर हाउजिङको नजिकै सिता श्रेष्ठको २ तोलाको सुनको सिक्री लुटेका थिए । यस्तै सोही दिन बुद्धनगरमा उर्मिला कडेलको ३ तोलाको सुनको सिक्री लुटेर टिके समुह फरार रहेको थियो ।

महाशाखाका अनुसार २०७१ माघ २१ मा नयाँ बानेश्वर ह्वाईट हाउस कलेज नजिकबाट  ग्लोबल आईएमई बैंकबाट निकालेको सरस्वती आचार्यको १८ लाख ८५ हजार र  सोही वर्ष पुसमा सुमित्रा अधिकारीको साथमा रहेको ७० हजार तथा कात्तिकमा शनी इन्टरप्राइजेज कपनवाट रकम निकालेर  पैदल हिडिरहेको अवस्थामा प्रेरणा राईको एकलाख ५५ हजार लुटपाटको घटनामा यही समुह संलग्न रहेको थियो ।

मोटरसाईकल र गाडी चोरी

नगद नभए महिलाले लगाएका सुनका गरगहना समेत लुछेर भाग्ने टिके समुहले एउटा बलेरो गाडी र तीनवटा मोटरसाईकल समेत चोरी गरेको महाशाखाले जनाएको छ । पछिल्लो पटक जेठ एकमा टिके समुहले महाराजगन्जस्थित शिक्षण अस्पतालको पार्कीङबाट राम थापाको बा.७४ प.३६३२ नम्बरको निलो रंगको मोटर साईकल चोरी गरेको हो ।  

यस्तै गत वर्ष जेठ २१ गते बौद्ध  भाटभटेनीमा पार्किङ गरेको राम काजी श्रेष्ठको मोटरसाईकल टिके र तेजवहादुर तामाङले चोरी गरेका थिए । सोही वर्ष जेठ मसान्तमा सोही स्थानबाट विष्णुवहादुर गुरुङगको बा.६ च ७६९८ नम्बरको बोलेरो गाडी चोरी गरी मकवानपुर पदमपोखरीमा लगि लुकाई छिपाई राखेका थिए । प्रहरीले गाडी बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको थियो । यस्तै गत जेठ २० मा पुरानो बानेश्वरबाट जीवन शर्माको बा.६८ प. ९०१८ नम्बरको पल्सर मोटरसाईकल, २०७१ चैतमा ओम अस्पताल चाबहिलबाट राम श्रेष्ठको बा.६७ प. ८४६८ नम्बरको निलो कालो रंङको पल्सर मोटरसाईकल चोरी गरेको अनुसन्धानमा खुलेको छ ।

महाशाखाका अनुसार चोरी गरेको मोटरसाईलको प्रयोगगर्दै नक्कली नम्बर राखेर लुटपाटका घटना गर्ने गरेको थियो । प्रहरीका अनुसार ८९५७ र ९०६३ नम्बरको प्लेट राखेर लुटपाट भएको हो ।

प्रकाशित: २८ पुस २०७३ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App