१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दिल्लीको मरकजमा सहभागी भई फर्केहरु क्वारेन्टाइनमा

लहान -  भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा धार्मिक भेलामा (मरकज) सहभागी भई नेपाली प्रवेश गरेको भनिएका १८ जनालाई सप्तरीमा क्वारेन्टाइन गरिएको छ।

कञ्चनरुप नगरपालिका –८ का अध्यक्ष (नगरपालिकाका प्रवतmा)राजकुमार साहका अनुसार लक्ष्मीनारायण माध्यमिक विद्यालयको नवनिर्मित भवनमा १८ जनालाई क्वारेन्टाइन गरिएको छ। यसमध्ये दिल्लीको मरकज सहभागी भएकाहरु कति छन्, यकीन गर्ने काम भैरहेको उनले बताए।

उनीहरु मंगलबार राती मात्र बैरवा आएपुगेका थिए। दिल्लीमा कोरानोका कारण मरकजमा सहभागीहरुको मृत्यु हुन थालेपछि उनीहरु त्यहाँबाट घर विभिन्न सवारी प्रयोग गरी भिमनगर सीमा नाका हुँदै पैदल वैरवा पुगेको बताउँछन्। ५ देखि १३ मार्चसम्म चलेको उक्त भेलामा सहभागी करीब दुई हजारभन्दा बढी सहभागी रहेको उनीहरु बतउँछन्। जसमध्ये धेरै सहभागी २४ मार्चअघि नै आ–आफ्नो गन्तव्यतर्फ गइसके। तर देशव्यापी लकडाउनका कारण एक हजारभन्दा बढी त्यहीँ रोकिएका थिए।

कञ्चनरुप नगरपालिका शिक्षा शाखा संयोजक ललित नारायण यादबका अनुसार उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये कञ्चनरुप नगरपालिका –१ बैरवाका हबिव मन्सुरी राती घर फर्केपछि हल्लीखली मच्यो। घरमै लुकिछिपी बसेका उनलाई कोरोना परीक्षणका लागि धरान पठाउने तयारी भैरहेको यादवले बताए। राति घरमै बसेका कारण उनको परिवारलाई समेत घरमै क्वारेन्टाइन गरिएको उनले बताए। 

वडाअध्यक्ष साहकाअनुसार लुकिछिपी गाउँ फर्केका हबिवलाई परीक्षणका लागि धरान जान भनिसकेको छु। मंगलबार राति नै  बैरवामा १८ जनाभन्दा बढी व्यक्ति भारतबाट आएको सूचनाले गाउँमा त्रास फैलिएको अध्यक्ष साहले बताए। उनीहरु सबै भारतबाट आएकाहरु हुन तर, दिल्लीको मरकजमा सहभागी कतिजना थिए भन्ने मात्र पहिचान गर्न बाँकी रहेको उनले बताए।

हामीले तत्काल उनीहरुको पहिचान गरी लक्ष्मीनारायण माध्यमिक विद्यालयमा क्वारेन्टाइन गरी निगरानी गरिरहेका छौं, साहले नागरिकसँग भने,‘उनीहरुमध्ये कतिपय दिल्लीमा आयोजित जमातमा सहभागी भई फर्केका छन, कतिपय जयपुरबाट फर्केको बताउँछन्।’

सीमा नाका पूर्ण रुपमा सिल गरेपछि पनि कोरोना प्रभावित कार्यक्रममा सहभागी भएकाहरु खुल्ला सिमानाकाको उपयोग गरी हुल बाँधेरै घर फर्किनुले जोखिम बढाएको बैरवा स्वास्थ्य चौकीका प्रमुख चन्द्रनारायण यादवले बताए। अहिलेसम्म उनीहरुको विशेष स्वास्थ्य परीक्षण भएको छैन्। बाहिरबाट उनीहरुमा कोरोनाका प्रारम्भिक लक्षण नदेखिएको यादवले बताए।

वडा अध्यक्ष साहकाअनुसार सप्तरीको बोदेबरसाईन ५ जाँजरमा फागुन ३ गत्ते भएको तीन दिने इज्तिमा(मुस्लिम धर्मगुरुहरुको सम्मेलन)मा सहभागी भई त्यहीबाट यस गाउँका करिब सात जना दिल्लीतर्फ गएको बुझिएको छ। सप्तरी प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँका अनुसार भारतको दिल्लीबाट फर्केकाहरुको पहिचान गरी निगरानीमा राख्न र आवश्यक परे परीक्षण गराउन स्थानीय तहसँग समन्वय भैरहेको छ।

नयाँदिल्लीमा सोमबार साँझ निजामुद्दिन मस्जिदमा हालै सम्पन्न धार्मिक भेला (मरकज) मा सहभागीमध्ये ४० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भारतभर त्रास सिर्जना गरेको छ। मरकजमा सहभागी करिब १० जनाको मृत्यु समेत भैसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।

 

प्रकाशित: १९ चैत्र २०७६ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App