१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

केपीलासगढीमा एक जना क्वारेन्टाइनमा

खोटाङ– खोटाङमा विदेशबाट फर्किएका थप एक जनालाई क्वारेन्टाइनमा राखिएको छ। दुबईबाट १३ दिनअघि घर आइपुगेका केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका एक युवालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको हो। उनलाई सोमबार गाउँपालिकाको केन्द्र पृथ्बी माबि बाक्सिलामा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए।

क्वारेन्टाइनमा आउन अप्ठ्यारो मानिरहेको अवस्थामा सम्झाई बुझाई गरेर १४ दिनसम्मका लागि उनलाई खाने सुविधासहित राखिएको गाउँपालिकाले जनाएको छ। यससँगै जिल्लामा क्वारेन्टाष्नमा बस्नेको संख्या ७ पुगेको छ। ‘विदेशबाट आएका युवालाई क्वारेन्टाइनमा ल्याउन सहज छैन, निकै सम्झाई–बुझाई गर्नुपर्‍यो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्नका लागि मानसिक रुपमा तयार पार्न मेहनत गर्नुपर्ने अनुभव गरेका छौँ।’

यसअघि दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पाँच जना र साकेला गाउँपालिकामा एक जनालाई क्वारेन्टाइनमा राखिएको छ। विदेशबाट फर्कनेको संख्या अधिक भए पनि जिल्लाका स्थानीय तहको क्वारेन्टाइन भने रित्तो छ। अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएकाले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको हो। कतिसम्म भने गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ काहुलेका एक युवालाई समेत चैत १२ गते साँझदेखि सेल्फ क्वारेन्टाइनमा छाडिएको छ। उनीसँगै आएका केपीलासगढी गाउँपालिकाका अर्का एक जना धरानमा क्वारेन्टाइनमा राखिएका छन्।

स्वास्थ्यकर्मीको मोबाइल टोली तयार  
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केपीलासगढी गाउँपालिकाले स्वास्थ्यकर्मीको मोबाइल टोली तयार पारेको छ। ज्वरो, रुघाजस्ता स्वास्थ्य समस्या देखिएको अवस्थामा तत्काल घरैमा पुगेर स्वास्थ्य जाँच गर्ने र क्वारेन्टाइनमा ल्याउनका लागि प्रोत्साहित गर्नका लागि फेदी र खार्ताम्छा हेर्ने एउटा टिम, बाक्सिला, सप्तेश्वर र बाँसपानी हेर्ने एउटा तथा सुंदेल र दिप्सुङ हेर्ने एउटा मोबाइल टिम तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष राईले बताए।

मोबाईल टोलीलाई गाउँपालिका आफैले खरिद गरेर ल्याएको पिपिई सेट, ज्वरो नाप्ने थर्मो गन लगायत प्रदान गरिएको छ। मोवाईल टोलीले विदेशबाट फर्किएर आएका युवालाई क्वारेन्टाइनमा बस्नका लागि सल्लाह सुझाव दिने अध्यक्ष राईले बताए। कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीले उपयोग गर्नेगरी गाउँपालिकाले १० सेट पिपिई, थर्मो गन लगायतका सामग्री खरिद गरेर ल्याएको जनाएको छ।
 

प्रकाशित: १८ चैत्र २०७६ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App