१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिन्धुपाल्चोकमा तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत तीनजनाको रिपोर्र्ट नेगेटिभ आएको छ।भोटेकोसी गाउँपालिकाका–४ का ३४ वर्षीया निमास्याङवो शेर्पा, उनकी १७ वर्षीया छोरी याङी शेर्पा र ८० वर्षीय छिरिङदोर्जे लामाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको हो।

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नमूनाको रिपोर्ट नेगेटिभ पठाएपछि उनीहरु तीनैलाई मंगलबार घर पठाइएको केन्द्रका डा. किशोर सुब्बाले बताए।कोरोना भाइरसको लक्षणसँग मिल्ने ज्वरो, रुघा, खोकी देखिएपछि उनीहरु बिहीबार आइसोलेसनमा भर्ना भएका थिए। शनिबार उनीहरुको स्वाब परीक्षणका लागि राजधानी पठाइएको थियो। निमास्याङ्वो र छिरिङदोर्जेको रिपोर्ट सोमबारै आए पनि याङीको भने मंगलबार मात्र आइपुगेको हो।  याङीको स्वाब पुनः परीक्षण गरिएको थियो। 

 निमास्याङ्वो बिदेशबाट फर्किएकी हुन्। वैदेशिक रोजगारीको सिलसिलामा इराक रहेकी उनी माघ २७ गते नेपाल फर्किएकी थिइन्। उनीहरूमा देखिएको रुघा, खोकी र ज्वरो मौसमी भाइरल मात्र भएको डा. सुब्बाले जनाए।

 थप एक आइसोलेन, तीन क्वारेन्टाइन्मा 

कोरोना संक्रमणको आशंकामा केन्द्रकै आइसोलेसनमा थप एक युवा भर्ना भएका छन्। मंगलबार केन्द्रमा आइपुगेका बाह्रविसे–२ कर्थलीका २४ वर्षीय रोशन शेर्पाको आइसोलेसनमा उपचार भइरहेको हो। दुई साताअघि विदेशबाट आइएका उनमा रुघा, खोकी र ज्वरो रहेको डा. सुब्बाले बताए। 

‘ज्वरो आउने/जाने जाने भइरहेको छ। रुघा र खोकी निरन्तर छ,’ उनले भने। शेर्पा बहराइन, ओमान हुँदै चैत १ गते नेपाल आइपुगेका थिए। परीक्षणका लागि उनको स्वाब नमूना बुधबार राजधानी पठाउने तयारी भइरहेको केन्द्रले जनाएको थियो। उनलाई सामान्य औषधि चलाइएको केन्द्रले जनाएको छ।

त्यस्तै आइसोलेसनमा उपचार गराउनमा आएका अरु तीन जनालाई केन्द्रकै क्वारेन्टाइनमा राखेर निगरानी थालिएको छ। दुई साता अघि मात्र विदेशबाट आएका उनीहरु गाउँलेको सुझाव र आग्रहका आधारमा केन्द्रमा आइपुगेका थिए। बाह्रविसे नगरपालिका–२ का नवराज बस्नेत, बाह्रविसे–६ का ४० वर्षीय टेकबहादुर तामाङ र बाह्रविसे–५ का २४ वर्षीय सुवास तामाङलाई क्वारेन्टाइनमा राखिएको हो। उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि घर फर्कँन नमानेपछि क्वरोन्टाइनमा निगरानीमा राखिएको डा. सुब्बाले बताए। 
 

प्रकाशित: १८ चैत्र २०७६ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App