१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनमा गहुँ कसरी भित्र्याउने ?

भित्र्याउन ठिक्क परेको गुहुँ ।

टीकापुर-संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। लकडाउनको समयावधी थपिएर चैत २५ सम्म पुगेको छ।

करिब एक सातादेखि कोही व्यक्ति पनि घरबाट बाहिर निस्किन पाएका छैनन्। किसान समेत लकडाउनका कारण घरभित्रै बस्न बाध्य छन्। उनीहरु लकडाउनको सबैभन्दा धेरै मारमा छन्।

यो उनीहरुका लागि निकै महत्वपूर्ण समय हो। यतिबेला किसानका खेतबारीमा गहुँ पाकिसकेको छ। मुलुक लकडाउनमा नगएको भए अधिकांश किसान खेतबारीमा भेटिन्थे। खेतबारीमा गहुँ पाकेर भित्र्याउन तयारी अवस्थामा छ। तर किसान पाकेको गहुँ काट्न पाइरहेका छैनन्। यतिबेला समयमा गहुँ भित्र्याउन नसके समस्या हुने किसानको बुझाइ छ।

समयमै भित्र्याउन नसके गहुँ खेतमै झरेर खेर जाने हुँदा भोकमरीको समस्या देखापर्ने चिन्ता किसानमा छ।

कैलालीको दक्षिण पूर्वी क्षेत्र गहुँ खेतीका लागि निकै महत्र्वपूर्ण मानिन्छ। यहाँका अधिकांश किसान गहुँ खेती गर्छन्। किसानको आधाभन्दा बढी गहुँ खेतीले भित्र्याउनुपर्ने समय गुजारिसकेको छ। अन्य गहुँ खेती समेत काट्ने अवस्थामा पुगेको छ।  

टीकापुर नगरपालिका–८ का किसान धनसिँह साउँदले ३० बिघामा गहुँ खेती गरेका छन। उनले गहुँ काट्न नपाएकोमा निकै समस्या भइरहेको बताए। उनका अनुसार समयमा गहुँ भित्र्याउन नसके खेतमै झर्ने सम्भावना छ।

उनले केही वर्षदेखि मेसिनको प्रयोग गरेर खेतीपाती गर्दै आएका छन। यस वर्ष समेत उनले गहुँ खेती काट्न कम्बाइन मेसिन तयारी अवस्थामा राखेका छन्। तर उनले कम्बाइन मेसिन चलाउन डिजेल नपाएका कारण समस्या भएको बताए।

‘कसैले पनि डिजेल दिँदैन। सरकारले नै नदिन भनेको जवाफ दिन्छन्,’ उनले भने, ‘डिजेल नपाउँदा निकै समस्या छ।’ उनले ३० बिघामा लगाएको गहुँ मेसिन बाहेकले काट्न सम्भव नरहेको बताए।

पछिल्लो समय धेरैजसो किसानले मेसिनबाटै गहुँ काट्ने गरेको पाइन्छ। उनले आफ्नो मात्रै नभई अन्य किसानको समेत गहुँ खेती कम्बाइन मेसिनबाट काट्ने गरेका छन्।

लकडाउनका कारण घरबाहिर निस्किन नपाएका किसानले मेसिनबाटै गहुँ काट्न सहज हुने बताउने गरेका छन्। मेसिनले गहुँ काट्दा धेरै मानिसको भीडभाड समेत नहुने भएकाले यो भरपर्दो विकल्प हुने किसानको बुझाइ छ। धेरै किसानले साउँदलाई जसरी भए पनि गहुँ काटिदिन आग्रह गर्ने गरेका छन्।

किसानलाई हातले गहुँ काट्न समस्या छ। एकातिर उनीहरु लकडाउनका कारण घरबाहिर निस्किन पाएका छैनन् भने अर्कोतिर गहुँ पाकिसकेकाले समय अभाव छ।

‘यो बेलामा हातले काटेर सम्भव छैन,’ भजनी नगरपालिका ठेँकीका विक्रम चौधरीले भने, ‘गहुँ काटेर नसक्दै पाकेर झरिसक्छ।’

किसानलाई मौसमको पनि डर छ। उनीहरु पाकेको गहुँ बाली वर्षाका कारण गुमाउनुपर्ने हो कि भनेरसमेत डराएका छन्। यो बेलामा पाकेको गहुँ भित्र्याउन नसके भविष्यमा भोकमरी पर्ने त्रास किसानमा छ। उनीहरु किसानको हितलाई ध्यानमा राखेर सरकारले कुनै न कुनै विकल्प दिने विश्वासमा छन्।

 

 

 

प्रकाशित: १८ चैत्र २०७६ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App