१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना विरुद्धको अभियानमा यसरी जुट्दैछन् भक्तपुरका युवा

भक्तपुर- महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराईरहेका बेला भक्तपुरका केही युवा भने जनचेतना फैलाउने काममा सक्रिय भएका छन्।

आरएनए १६ समूहका युवाहरु कोरोना संक्रमणबाट बच्ने उपाय सिकाउनुको साथै कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको उद्धार र सहयोगमा जुटेका छन्। भक्तपुर नगरपालिकाका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू,  दीप थकू र पुनम कर्मचार्यको दिनचर्या भक्तपुर अस्पताल परिसरमा टाँगिएको त्रिपालमा वित्ने गरेको छ। उनीहरु २४ सै घण्टा त्यहीं बसेर सेवा दिदैं आएका छन्।

भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा आफूहरु कोरोना भाइरसका शंकास्पद संक्रमितको सहयोगमा खटिएको अरुण सैंजुले बताए। कोरोनाको जस्तै लक्षण देखिएका व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पुर्‍याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि स्वाव प्रयोगशालासम्म पुर्याइदिने काममा नै उनीहरुले दिन विताउने गरेका छन्।

पेशाले शिक्षक राजेश गाईजु लकडाउन सुरुभएदेखि नै आर एन ए १६ समूहमा आवद्ध भई कोरोना विरुद्धको लडाईमा लागेका हुन्।

यस्तै समूहमा काम गर्दै आएका अर्का कोरोना विरुद्दका अभियन्ता न्हुज किजुको काम कोरोनाको शंका देखिएका  बिरामीको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुअस्पताल पुग्ने। उनले अहिले पनि ६ जना विरामीको स्वाब परीक्षणका लागि टेकु जाँदै गरेको बताउँदै उनले भने “लक डाउनमा घरमा बस्न मन त थियो तर घरमा बस्दाको भन्दा यहाँ स्वयम सेवा गर्नुको मज्जा नै अलग छ। आफू मात्र बाँचेर भन्दा पनि अरुलाई पनि बचाउनु पर्छ भन्ने भावका साथ २४ सैं घण्टा खटिएको छु।” यस्तै अर्का अभियन्ता राजेश गाइजुले विदेशबाट आएको र काठमाण्डौ बाहिरबाट आएका ब्यक्तिको ट्राभल हिस्ट्री लिने आवश्यक परामर्श दिनेकाम पनि गरिरहेको बताए।

पेशाले नर्स पुनम कर्माचार्यले टोलीको कम्युनिकेसन संयोजनको रुपमा काम गरेकी छन्। भक्तपुर अस्पताल परिसरमा रहेको त्रिपालमुनि बसेर उनले सबै कामको तालमेल मिलाउने गर्छिन्। हालसम्म उनीहरुको समूहले २३ जना विरामीको नमुना प्रयोगशाला पर्याएको छ। ती मध्ये  ११ वटा नमुनाको रिपोर्ट नेगेटिभ आईसकेको छ  र बाँकीको आउन बाकी छ। उनीहरु सरकारबाट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएर स्वयंसेवामा खटिएका हुन्।

उनीहरुले भक्तपुर अस्पताल परिसरमा तीनवटा टेन्ट बनाएका छन्। तीमध्ये एउटा आफूहरु बस्ने, अर्कोमा स्वदेशमै रहेका सम्भावित संक्रमितलाई उपचारका लागि राख्ने र तेस्रोमा विदेशबाट फर्केका सम्भावित संक्रमितलाई राख्ने व्यवस्था गरिएको छ।

भक्तपुरमा उद्दारकर्मीको पर्यावाचीको रुपमा चिनिदै आएका अरुण सैंजुको नेतृत्वमा सो समूहले बाढी पहिरो तथा विभिन्न प्राकृतिक विपत्तीको समयमा पनि उद्दारको काम गर्दै आएको थियो। यो समूहले समय अनुसार विभिन्न प्रकोपबाट बच्ने उपायबारे विद्यालय एवं गाउँ गाउँमा प्रशिक्षण समेत दिदै आएको छ।

               

प्रकाशित: १८ चैत्र २०७६ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App