१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘लकडाउन’ले मजदुरलाई मार परेपछि मोदीले मागे माफी

नयाँ दिल्ली– भारतमा एक सातादेखि जारी लकडाउनका कारण गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममार्फत उनले आइतबार लकडाउनका कारण दसौं लाख मजदुरलाई परेको दुःख आफूबाट नलुकेको स्पष्ट पारे। 

लकडाउन गर्नुअघि चार घन्टाको मात्र सूचना दिएर उक्त कडा बन्देजको घोषणा गरिएको थियो। उक्त कदमको  भारतमा निकै आलोचना हँुदै आएको छ। २१ दिनका लागि भएको लकडाउनबाट करिब एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा मजदुरहरू भोका र बेरोजगार भएका छन्।

‘मलाई तपार्इंहरूको समस्या थाहा छ तर कोरोना भाइरसविरुद्ध लड्ने अर्को कुनै उपाय छैन...’ प्रधानमज्न्त्री मोदीले कार्यक्रममा भने, ‘यो जीवन र मृत्युको लडाइँ हो र हामीले त्यो जित्नुपर्छ।’

यसैबीच करार र दैनिक ज्यालादारीका दसौं हजार श्रमिक लकडाउन तोडेर आफ्ना घर फर्किरहेको बताइएको छ। भारतीय प्रहरीले अन्तर्राष्ट्रिय समाचार संस्थालाई दिएको एक जानकारीअनुसार घर फर्कन दुई सय ७० किलोमिटर पैदलयात्रा प्रयास गरेपछि एक मजदुरले ज्यानसमेत गुमाएका थिए।

‘लकडाउन बढाउने योजना छैन’    

यसैबीच भारतमा जारी लकडाउन २१ दिनभन्दा बढी नलम्बिने बताइएको छ। कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि भारतले गत मंलबारदेखि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको थियो।     

सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेअनुसार अहिलेसम्म लकडाउन बढाउने योजना भारत सरकारले बनाएको छैन। सरकारले लकडाउन लम्ब्याउन लागेको हल्ला व्यापक रूपमा चलेपछि सरकारको तर्फबाट सञ्चारमन्त्री राजीव गौबाले सोमबार सो हल्लाको खण्डन गरेका हुन्। ‘ती सबै हल्ला गलत हुन्,’ उनले भने, ‘तोकिएकै मितिमा लकडाउन अन्त्य हुनेछ।’

प्रकाशित: १८ चैत्र २०७६ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App