१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आँगनमै मनाइँदै ‘चैती छठ’

रौतहट - गाउँभन्दा टाढा नदी वा पोखरीको किनारमा गई सजाइएको घाटमा मनाइने परम्परा रहेको चैती छठ घरमै मनाइँदै छ। देशमा लकडाउनको अवस्था रहेको र नदी वा पोखरीको किनारमा गएर छठ मनाउँदा भीडभाड हुने भएकोले सदरमुकाम गौरमा व्रतालुहरुले घरमै छठको सँझियाघाटको पबनी मनाएका छन्।

चैत महिनाको शुक्ल पक्षको षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठलाई व्रतालुहरुले आफ्नो आँगनमा सानो खाल्टो खनेर त्यसमा पानी भरी त्यहीबाट अर्घ दिइएको छ। यसै गरी मंगलवार बिहान पनि आँगनबाटै उदाउँदो सूर्यलाई अर्घ दिने व्रतालुहरुले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट र गौर नगरपालिकाले संयुक्त रुपमा घरमै बसेर छठ व्रत गर्न र विषम परिस्थितिलाई बुझेर भीडभाड नगर्न आग्रह गरेको थियो। स्थानीय प्रशासन र नगरपालिकाले संयुक्त रुपमा आग्रह गरेपछि व्रतालुहरुले पनि कोरोनाको विषम परिस्थितिलाई बुझेर आग्रहलाई स्वीकार गरेको गौर नगरपालिकाका मेयर अजय गुप्ताले जानकारी गराएका छन्।

सदरमुकाम र आसपासको क्षेत्रमा व्रतालुहरुले आँगनमै अस्ताउँदो सूर्यलाई अर्घ दिए पनि जिल्लाको कतिपय भागमा भने व्रतालुहरु छठ घाटसम्म पनि पुगेका छन्। सामूहिक रुपमा गीत गाउँदै मनाउने छठ पर्वको दिन कतिपय स्थानमा घाटमा पुगे पनि व्रतालुहरुले आवश्यक सावधानी भने अपनाएको देखिएको छ। 

छठ पर्व मूलरुपमा कात्तिकमा मनाइए पनि चैतमा समेत मान्ने परम्पराको विकास हुँदै गएको छ। चैती छठ मान्ने व्रतालुहरु हरेक वर्ष बढ्दै गएका छन्। 

प्रकाशित: १७ चैत्र २०७६ १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App