१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कतारबाट फर्केका उदयपुरका युवाको रिपोर्ट ‘नेगेटिभ’

उदयपुर- फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती सवार कतार एयरवेजबाट आएका उदयपुरका दुई युवामध्ये एकको रिपोर्ट नेगेटिभ देखिएको छ। वैदेशिक रोगजारीमा कतार रहेका उनीहरु दुवै गत ४ गते कतार एयरलाईन्सबाट नेपाल फर्केका थिए।

संक्रमित युवती चढेकै जहाजमा आएकाले उनीहरुमा संक्रमणको आशंकाले स्थानीय त्रसित थिए। दुईमध्ये एकको स्वास्थ्य परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ देखिएको छ भने अर्कालाई १३ दिन (सोमबार) सम्म कोरोनाको कुनै लक्षण देखिएको छैन। कतारबाट फर्केको सातादिनपछि संक्रमणको आशंकामा बेलका ३ रातापानीका विद्यानन्द चौधरीलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनको रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए। ३६ वर्षीय चौधरीको स्वाव बिपीले परीक्षणका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाएको थियो। टेकुले आईबार पठाएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको अस्पताललाई उद्धृत गर्दै मेयर थापाले बताए।

चैत ४ मै क्युआर ६५२ प्mलाईटमा नेपाल भित्रिएका चौधरी अहिले घरकै क्वारेन्टाइनमा छन्। चौधरीले आफूमा कोरोनाको कुनै लक्षण नभएको टेलिफोनमार्फत नागरिकलाई बताए। रोगको लक्षण नै नदेखिदा पनि अनावश्यक हल्ला गरेर आफू र परिवारलाई तनाव दिएको उनको गुनासो छ।

संक्रमित युवती सवार क्युआर ६५० प्mलाईटमा आएका लिमचुङबुङ ३ का दिपबहादुर मगरलाई पनि अहिलेसम्म ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या नदेखिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए। उनका अनुसार उनी आएको १३ दिन भईसक्दासम्म कोरोनाको लक्षण देखिएको छैन। ‘आज १३ दिनसम्म उनमा त्यस्तो कुनै लक्ष्ण देखिएको छैन’ अध्यक्ष राईले भने ‘तै पनि उनलाई घरमै क्वारेन्टाइन बस्न आग्रह गरेका छौं।’

वैदेशिक रोजगारीका लागि ३ वर्षअघि गएका मगर कतार नफर्कने गरी ‘फिनिसिङ’ मा घर फर्केको बताएका छन्। आफू आएको प्लेनमै आएकी युवतीमा संक्रमण फेला परेको हल्ला सुनेपछि डर लागेको भए पनि अहिलेसम्म रुघाखोकी, ज्वरो, स्वाशप्रस्वाशजस्ता कुनै समस्या नभएको उनले नागरिकलाई टेलिफोनमा बताए। ८ गते गाउँ आएपछि सामान्य भेटघाट गरेको तर, लकडाउन सुरु भएपछि गाउँपालिकाको आग्रह अनुसार ‘होम क्वारेनटाइन’मै रहेको उनले बताए।

कोरोनाको लक्षण नदेखिए पनि मगरलाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम पठाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताए। अहिलेसम्म मगरलाई कोरोनाको लक्षण नदेखिए पनि स्वाव (खकार) परीक्षण गर्न पठाउन लागेको अधिकृत लिम्बुले बताए ‘नेपाल फर्केको भोलि १४ दिन हुन्छ त्यसपछि परीक्षण गर्न पठाउदैछौं। संक्रमण भए नभएको टुंगो लागोस् भनेर पठाउन लागेका हौं।’

अस्तालबाट भाग्दै विरामी
कोरोना संक्रमणबाट बँचाउन क्वारेन्टाइन र अस्पतालमा राखिएका विरामीहरु भाग्ने गरेका छन्। उदयपुर सदरमुकाम गाईघाटस्थित एक निजी अस्पतालमा उपचाररत ज्वरोका विरामी सोमबार दिउँसो भागेपछि प्रहरीमार्फत पक्राउ गरी आइसोलेसनमा राख्नु परेको छ।

बजारको निजी अस्पतालमा अघिल्लो दिन भर्ना भएकी ज्वरोकी विरामी २८ वर्षीया त्रियुगा ११ गाईघाटकी महिला थप उपचारका लागि जिल्ला अस्पताल रिफर गरिएकोमा भागेपछि प्रहरी लगाएर समात्नु परेको हा। भागेर घर पुगेकी उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अस्पतालको आईसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले बताए।  

उनका अनुसार १ सय १ डिग्री ज्वरो भएकी उनलाई कोरोना भए नभएको पत्ता लगाउन स्वाब परीक्षण गर्न लागिएको छ। आइसोलेसनमा राखिएकी उनको स्वाब परीक्षणका लागि टेकु पठाउन लागिएको र रिपोर्ट आउन केही दिन लाग्ने भएकाले त्यतिञ्जेल उनलाई अस्पतालमै राखिने डा. मण्डलले बताए।

३ दिनअघि कटारी अस्पतालको आईसोलेसनबाट भोगका अर्का विरामी अहिलेसम्म सम्पर्कमा आएका छैनन्। भारतको सिलगुढीबाट काकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका २१ मध्येका एक ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षीय कृतबहादुर मग्राती शनिबार विहान अस्पतालबाट भागेका थिए।

मोवाईल र झोला बेडमै छाडेर भागेका उनी अहिलेसम्म अस्पताल, घर र आफन्तको सम्पर्कमा नआएको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। अस्पतालबाट भागेपछि घर गएको हुनसक्ने अनुमान गर्दै खोजी गर्दा उनी घर पनि नपुगेको ताप्लीका अध्यक्ष उद्धवसिंह थापाले बताए। उनको खोजी गर्न जिल्ला र इलाका प्रहरी कार्यालयमार्फत बिभिन्न ठाउँका नातागोता र आफन्तसँग भईरहेको छ।   
    

प्रकाशित: १७ चैत्र २०७६ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App