१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घर अगाडि खाल्डो खन्दा 'कोरोनाको बुटी' भेटिने भ्रम

खोटाङ – अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९)बाट आक्रान्त छ। यसबाट बच्नका लागि संक्रमित देशमा सावधानीका विभिन्न उपाय अपनाइएको छ। हालसम्म कोरोना भाइरस निदान गर्ने औषधि पत्ता लाग्न सकेको छैन। आम नागरिक कोरोनाको औषधि पत्ता लागेको खबरको पर्खाइमा छन्।

 यहीबेला घर अगाडि खाल्डो खनेर खोज्दा कोरोना भाइरसको बुटी पाइने अफवाह फैलिएपछि खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका स्थानीयले आफ्नै घर अगाडि खाल्डो खनेका छन्। ‘दलाई लामाले कोरोना भाइरसको बुटी घर अगाडि गाडिदिएको’ हल्ला फैलिएपछि बाक्सिला बजारकै केही स्थानीयले खाल्डो खनेको स्थानीय ईखबहादुर राईले बताए।

बाक्सिलाबजारको भञ्ज्याङमा बढि खाल्डो खनिएको छ। घरको मुल ढोका अगाडि खाल्डो खन्दा कतिपयले कोइला र लिचीको बियाँ फेला पारेको बताइएको छ। कोरोनाको बुटी पाइने भ्रम फैलाइएपछि विभिन्न ठाउँका स्थानीयले घर अगाडि आँगनमा खाल्डो खनेको चर्चा चलिरहेको छ। ‘परियार थरका मेरै छिमेकीले घर अगाडि खाल्डो खने, भञ्ज्याङका धेरैजसो स्थानीयले खाल्डो खनेका छन्,’ सामाजिक क्षेत्रमा क्रियासिल राईले भने, ‘कोईला र लिचीको बियाँ भेट्टाए रे। पहिला जे पुरिएको थियो, त्यही भेटिने हो। यस्ता भ्रममा पर्नु हुँदैन।’

घर अगाडि खाल्डो खन्दा दलाई लामाले गाडिदिएको बुटी भेटिने भ्रम फैलाउनेको पहिचान भएको छैन। तर, विभिन्न ठाउँमा विपत्तीमा परेका सर्वसाधारणलाई अफवाह फैलाएर अनाहकमा दुःख दिइएको पाइएको छ। अफवाह फैलाउनेलाई राज्यले पहिचान गरेर कारबाही गर्नुपर्ने स्थानीयको माग छ। भ्रमको पछि लाग्नुको सट्टा ‘लकडाउन’को अवधिमा घर बाहिर ननिस्की सावधानीका उपाय अपनाएर बस्न स्वास्थ्यकर्मीको सुझाव छ।

प्रकाशित: १७ चैत्र २०७६ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App