१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अझै थालिएको छैन तयारी

काठमाडौं–एएफसी एसिया कपको छनोट नेपालले भाग्यवश खेल्न पाएको प्रतियोगिता हो । नेपालले आफूलाई लायक सावित गरेर यो मौका पाएको होइन । एएफसी सोलिडारिटी कपको विजेता भएका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले संयोग जुर्दा नेपाललाई एसियन कपको तेस्रो चरण छनोट खेल्ने अवसर प्रदान गरेको हो । तेस्रो चरणका लागि छानिएको ग्वामले सहभागिता फिर्ता लिएका कारण रिक्त स्थान पुर्ती गर्न एएफसीले नेपाललाई छानेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नाम दर्ता नगराइदिएका कारण छनोट चरण पार गरेको एएफसी कप प्लेअफ प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले भाग लिन पाएन । आफ्नै गल्तीमा देशको लिग च्याम्पियनलाई महादेशीय प्रतियोगिता खेल्नबाट बञ्चित गराएको एन्फाले भाग्यवश राष्ट्रिय टोलीले अर्को ठूलो मञ्चमा आफूलाई प्रस्तुत गर्न पाउने हुँदा पनि तयारी सुरु गरेको छैन ।

तथापि एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर अर्को साताबाट एसियन कपका लागि राष्ट्रिय टोलीको तयारी सुरु गर्ने योजना सुनाउँछन् । भन्छन्, ‘हामी छिटै तयारी सुरु गर्ने योजनामा छौं । राष्ट्रिय टोलीका प्रशिक्षक जापानमा छन् । उनी आएपछि एसिया कप छनोट तयारी सुरु गर्नेछौं ।’
नेपाली टोलीका प्रशिक्षक कोजी ग्वाटोकु एक÷दुई दिनमा काठमाडौं आइपुग्ने तुलाधरले बताए ।

तेस्रो चरणमा ग्वामको अनुपस्थिती हुने भएपछि एएफसीलेसोलिडारिटी कप विजेताका रुपमा नेपाललाई प्रस्ताव गरेको थियो । नेपालले डिसेम्बर २७ मा एएफसीको प्रस्ताव स्विकार्दै छनोटमा सहभागि हुने निर्णय गरेको थियो । विश्वकप र एसियन कपको संयुक्त रुपमा गरिएको छनोटमा नेपाल पहिलो चरणको प्लेअफमा भारतसँग निराश हुँदै छनोटबाट वाहिरिएको थियो ।

दोस्रो चरणको छनोटअन्तर्गत आठ समूहबाट चौथो स्थानमा रहने उत्कृष्ट ४ टोलीमा पर्दै ग्वामले तेस्रो तथा अन्तिम चरणमा स्थान सुरक्षित गरेको थियो । आठ समूहका विजेता र उत्कृष्ट चार उपविजेता सोझै विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपको अन्तिम चरणका लागि सोझै छनोट भएका थिए । त्यसवाहेक बाँकी चार उपविजेता, प्रत्येक समूहबाट तेस्रो हुने आठ तथा उत्कृष्ट चार चौथो हुने गरी कुल १६ टोली तेस्रो चरणका लागि छानिएका थिए ।

त्यसमा बाँकी रहेका १२ टोलीबीच छुट्टै दुई चरणको प्लेअफबाट छानिएका ८ टोली समावेश गरी २४ टोलीबीच तेस्रो चरणको छनोट प्रतियोगिता गर्ने एएफसीको व्यवस्था छ । त्यसअनुसार २४ टोलीलाई ६ समूहमा विभाजन गरी होम एन्ड अवे पद्दतिमा राउन्ड रोबिन छनोट लिग गरिनेछ । जहाँबाट प्रत्येक समूहका शीर्ष दूई टोली २०१९ मा संयुक्त अरब इमिरेट्स (युएई) मा हुने २४ टोलीको एएफसी एसियन कपका लागि छानिन्छन् । २०१८ मार्च २७ सम्म छनोट चरण चल्नेछ ।

ग्वामले आर्थिक कारण देखाउँदै तेस्रो चरण नखेल्ने निर्णय गरेको एएफसीले जनाएको छ । ग्वामको अनुपस्थितीमा प्राप्त अवसरमा नेपालका प्रतिद्वन्द्वी जनवरी १८ मा हुने ‘ड्र’बाट चयन हुनेछन् । ‘ड्र’ का लागि जनवरीको फिफा विश्व वरियताका आधारमा टिमलाई वरियता दिइएको छ । त्यसमा नेपाल पट ४ मा परेको छ ।

नेपालसँगै पट ४ मलेसिया, सिंगापुर, कुवेत, कम्बोडिया र भुटान रहेका छन् । पोर्ट–१ मा जोर्डन, ओमन, फिलिपिन्स, बहराइन, किर्गिस्तान र उत्तर कोरिया पोर्ट–२ मा भारत, प्यालेस्टाइन, ताजिकिस्तान, भियतनाम, हङकङ र तुर्कमिनिस्तान छन् । पोर्ट–३ मा माल्दिभ्स, लेबनान, यमन, अफगानिस्तान, ताइनिज ताइपेइ र म्यानम्यार छन् ।

छनोट खेल्ने २४ मध्ये १२ टोलीले एसिया कपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । युएईमा हुने प्रतियोगिताका लागि यसअघि १२ टोली छनोट भैसकेका छन् । युनाइटेड अरब इमरेट्स आयोजकका रुपमा प्रतियोगिताका लागि स्वतः छनोट भैसकेको छ । छनोट भैसकेका अन्य टोलीमा कतार, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, साउदी अरब, अस्टे«लिया, उज्वेकिस्तान, सिरिया, इराक, इरान र चीन छन् ।

प्रकाशित: २७ पुस २०७३ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App