१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मेडिकल सामग्री खरिदमा अनियमितता’

काठमाडौं – चीनबाट खरिद मेडिकल सामग्रीलाई निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप सरकारमाथि लागेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका लागि चीनबाट खरिद मेडिकल साम्रगीलाई  निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलित बजारभन्दा अधिक मूल्य तिरेको दाबी रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले गरेको छ। संघले मेडिकल सामग्री खरिदमा आर्थिक अनियमितता भएको दाबी गर्दै तिनको स्रोत र गुणस्तरमा पनि प्रश्न उठाएको छ।

कोरोना संक्रमितको उपचार क्रममा चाहिने नमुना परीक्षण किट, पिपिईलगायत सामग्री खरिदमा सरकारले अनियमितता गरेको आरोप विभिन्न क्षेत्रबाट लागेको छ। यो आरोपमा बल पुग्नेगरी मेडिकल सामग्री आपूर्ति गर्ने व्यवासायीहरूको छाता संघले पनि अनियमितता भएको भन्दै विज्ञप्ति जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग करिब एक अर्ब २५ करोड रुपैयाँको मेडिकल सामग्री बिनाप्रतिस्पर्धा खरिद गरेपछि अनियमितताको आरोप लागेको हो।

संघका अध्यक्ष सुरेश घिमिरेले सरकारले निश्चित व्यवसायीसँगको सेटिङमा चर्को मूल्य तिरेर मेडिकल सामग्री खरिद गरेको बताए। मन्त्रालयले कोभिड–१९ का बिरामीको  पहिचान, परीक्षण र उपचारका लागि आवश्यक औषधि, पिपिई, मास्कलगायत सामग्री खरिदका लागि आह्वान गरेको टेन्डरमा कोही पनि सहभागी नभएको जनाएको छ। मन्त्रालयको यस्तो दाबीलाई समेत संघले खण्डन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले आवश्यक मेडिकल सामग्री खरिद गर्न इमेलमार्फत कोटेसन पठाउन आग्रह गरेको र विभिन्न व्यवसायीले पठाएको कोटेसनमा कुनै छलफल नगरी निश्चित कम्पनीलाई महँगोमा ठेक्का दिएको संघको भनाइ छ।

संघले निश्चित व्यवसायीसँगको मिलेमतोमा बजार मूल्यभन्दा महँगोमा किनिएका सामग्रीले स्पेनको जस्तो नियति भोग्नु नपरोस् भन्दै सचेत रहन चेतावनी समेत दिएको छ। ‘पिसिआर किट्स बनाउन आधा दर्जनभन्दा बढी कम्पनीले युएसएफडिए सर्टिफिकेसन पाइसकेको अवस्थामा गुणस्तरको बेवास्ता गरी खरिद गरिएको सामान तथा ¥यापिड किट्सबाट पनि स्पेनको जस्तो नियति भोग्नु नपरोस् भनी सजग हुन जरुरी छ’, संघको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले खरिद प्रक्रियामा कुनै पनि व्यवसायी सहभागी नभएको भन्दै शनिबार निकालेको विज्ञप्तिमा ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २५ गते स्वास्थ्य सेवा विभागबाट माग भएबमोजिम १९  व्यवसायीबाट सिट कोटेसन पेस भएको स्मरण गराउँदै आवश्यकता र आपूर्ति समय अनुसार खरिद आदेश प्रदान गर्ने निर्णय भएको स्पष्ट पारेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने चीनबाट खरिद गरिएका मेडिकल सामग्री महँगो पर्न गए पनि अनियमितता नभएको दाबी गरेका छन्। उनले संसारभर मेडिकल सामग्री अभाव भएकाले सामान्य अवस्थाको जस्तो मूल्यमा नपाइने बताए।

 

प्रकाशित: १७ चैत्र २०७६ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App