१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार युवाको सराहनीय काम

भक्तपुर - विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराइरहेका बेला भक्तपुरमा चार युवाको समूह भने सम्भावित संक्रमितलाई उद्धार तथा सहयोग गर्न स्वतःस्फूर्त रुपमा खटिएको छ। भक्तपुर नगरपालिकाका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू र दीप थकू यो काममा दिनरात नभनी खटिइरहेका छन्। उनीहरु भक्तपुर अस्पताल परिसरमै त्रिपाल टाँगेर २४सै घण्टा त्यहीं बस्ने गरेका छन्।

भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा आफूहरु कोरोना भाइरसका सम्भावित संक्रमितको सहयोगमा खटिएको अरुणले बताए। सम्भावित व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पु¥याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि उनीहरुको स्वाब प्रयोगशालासम्म पु-याइदिने काम गरिरहेको उनले जानकारी दिए।

नागरिकसँगको टेलिफोन सम्पर्कमा आइतबार साँझ अरुणले भने, ‘म अहिले दुवाकोट प्रहरीको सहकार्यमा दुवाकोटमा रहेका सम्भावित संक्रमितको सहयोगका लागि आएको छु।’ उनले चारजना साथीबीच कार्यविभाजन गरी काम भइरहेको बताए। आफू र राजेश फिल्डमा खटिने, न्हुज र दीप बिरामीको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु दौडिने गरेको उनले जानकारी दिए। अहिलेसम्म उनीहरुले १७ जनाको नमुना प्रयोगशालासम्म पु-याएका छन्। तीमध्ये ११ जनाको रिपोर्ट आएको र सबै नेगेटिभ रहेको उनीहरुले जानकारी दिए। ६ जनाको रिपोर्ट आउन बाँकी छ।

भक्तपुर नगरपालिकाका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू र दीप थकू कोरोनाका सम्भावित संक्रमतिलाई सहयोग गर्न दिनरात नभनी खटिइरहेका छन्।

बिरामीको स्वाब परीक्षणका लागि आफू टेकुमा आइपुगेको न्हुजले टेलिफोनमा बताए। आफूहरु बिनास्वार्थ स्वतःस्फुर्त रुपमा बिरामीको सहयोगका लागि जुटेको उनले सुनाए। आफूहरुको समूहमा अन्य स्वयंसेवक पनि थपिन लागेको उनले बताए। ‘सोमबारदेखि पुनम कर्माचार्यजी पनि आउँछु भन्नुभएको छ। उहाँचाहिं भक्तपुर अस्पतालमा परिसरमै बसेर टोलीको कम्युनिकेसन संयोजनको काम गर्नुहुनेछ। साथै डा. प्रज्वल धौबन्जार पनि सामेल हुनुहुन्छ’, उनले भने। उनीहरु सरकारबाट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर स्वयंसेवामा खटिएका छन्।

उनीहरुले भक्तपुर अस्पताल परिसरमा तीनवटा टेन्ट बनाएका छन्। तीमध्ये एउटा आफूहरु बस्ने, अर्काेमा स्वदेशमै रहेका सम्भावित संक्रमितलाई उपचारका लागि राख्ने र तेस्रोमा विदेशबाट फर्केका सम्भावित संक्रमितलाई राख्ने तयारी उनीहरुको छ। उद्धारकर्मी अरुणको यो समूह पहिला पनि उद्धारमा स्वतःस्फूर्त रुपमा खटिँदै आएको थियो। २०७२ सालको महाभूकम्पमा पनि यो समूह उद्धारमा खटिएको थियो।

प्रकाशित: १७ चैत्र २०७६ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App