१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'सन्धिसम्झौता समयानुकूल संशोधन हुनुपर्छ'

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले ५० वर्षअघिको तुलनामा आजको 'ग्लोबल अर्डर' फेरिएकाले पछिल्लो अवस्था झल्किने गरी नेपाल र भारतबीच भएका सन्धि–सम्झौताको उचित संशोधन गर्नुपर्ने बताएका छन्। नेपाल र भारत बीचको सम्बन्ध थप मजबुत बनाउने उपयुक्त बेला आएको उल्लेख गर्दै उनले सम्बन्धको गतिशीलतामा आएको परिवर्तनलाई नकार्न नहुने जनाए।

'प्रविधिमा आएको परिवर्तनले समाज र मानिसको बुझाइ फेरिएको छ। हामीले ५० वा सय वर्षअघि तय गरेको विचारले अहिलेको वास्तविकता झल्काउँछ भन्ने छैन। यो कुरा दुई देशबीच पनि लागू हुन्छ,' काठमाडौंमा सोमबार आयोजित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो संयुक्त बैठक उद्घाटन कार्यक्रम सम्बोधन गर्दै मन्त्री थापाले भने, 'सन् १९५० को दशकसँग तुलना गर्दा आजको ग्लोबल अर्डर तथा नेपाल–भारतको अवस्था फेरिएको छ। हामी सम्बन्धको गतिशीलतामा आएको परिवर्तनलाई नकार्न सक्दैनौं।'

बैठकसँगै नेपाल–भारत सम्बन्ध थप मजबुत, दूरगामी र प्रगतिशील बनाउन नयाँ अध्याय सुरु भएको उनले बताए। 'सन्धि, सम्झौता र सहमति जसले हाम्रो सम्बन्धलाई डोर्‍याएका थिए अब तिनलाई वर्तमान आवश्यकता झल्किने गरी उचित संशोधन गर्न आवश्यक छ। यही बोध भएर नै  प्रबुद्ध व्यक्ति समूह गठन गरिएको हो,' मन्त्री थापाले स्पष्ट पारे।

सदियौंदेखि असल सम्बन्ध रहिआएको जनाउँदै उनले दुई देशलाई साझा संस्कृति र सभ्यताले समेत जोडेको बताए। उनले भने, 'हाम्रो सम्बन्ध बृहत् र बहुआयामिक छ। यो सम्बन्धको मर्मलाई औपचारिक दस्तावेज र सन्धिले मात्र समेट्न सक्दैन।' उनले नेपाल र भारतबीचको सम्बन्ध पशुपतिनाथदेखि तिरुपति, लुम्बिनीदेखि बोधगया, मुक्तिनाथदेखि अमरनाथ र जनकपुरदेखि अयोध्यासम्म फैलिएको उल्लेख गरे।

नेपाल–भारत सम्बन्ध सदियौंदेखि सद्भाव तथा मैत्रिपूर्ण रहँदै आए पनि कहिलेकाहीँ समस्या आउने गरेको उनले स्विकारे। 'यस्तो बेला अविश्वास तथा असमझदारी वा शंकाको भावना हामीबीच बढ्ने गरेको छ। बिना स्पष्ट कारण कुनै बेला हाम्रो सुमधुर सम्बन्ध अचानक अप्ठेरो अवस्थामा पुग्ने गरेको छ। मलाई लाग्छ, बृहत् र बहुआयामिक सम्बन्ध भएको मित्रलाई यो अवस्था अप्राकृतिक लाग्दैन,' उनको तर्क थियो।

कार्यक्रम सम्बोधन गर्दै उनले समसामयिक मतभेद कुनै पनि समाजमा देखापर्ने बताए। उनले भने, 'यस्तो मतभेद दुई छिमेकीबीच पनि हुन्छ। तर यी समस्या सम्बन्धको जग कमजोर नहुने गरी सम्बोधन गर्नुपर्छ। समसामयिक मतभेद र शंकालु भावनाले हाम्रो सम्बन्धमा प्रभाव पार्नु हुँदैन।' नयाँ संविधान जारी भएपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको घटनातर्फ इंगित गर्दै मन्त्री थापाले दुई देश र सरकारबीच कहिलेकाहीँ आउने समस्याका कारण जनतामा प्रतिकूल असर पार्ने कार्य गर्न नहुने बताए।

बैठकमा भारततर्फको प्रबुद्ध व्यक्ति समूहका संयोजक तथा भारतीय जनता पार्टी उपाध्यक्ष भगतसिंह कोस्यारीले भारतले सधैं नेपालसँगको सम्बन्ध मजबुत बनाउन चाहेको धारणा राखे। उनले नेपाल–भारत सम्बन्ध नदीको प्रवाहजस्तै निरन्तर हुनुपर्ने जनाए।

'भारत र नेपालको सम्बन्ध शाश्वत हो। हाम्रो रक्तसमूह एउटै हो, गोत्र एउटै छ,' कोस्यारीले भने, 'पशुपतिमा जति नीलाम्बर आचार्यजीको अधिकार छ त्यति नै अधिकार भगतसिंह कोस्यारीको पनि छ। जति भगतसिंहको अधिकार हृषीकेशमा छ त्यति नै अधिकार नीलाम्बर आचार्यको पनि छ। सिंहदरबारका बारेमा यस्तै भन्ने हो गडबड हुन्छ तर यस्तो अवस्था हामीबीच छैन।'

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विश्वको सबैभन्दा खुसी राष्ट्रका रूपमा हेर्न चाहेको समेत बताए। उद्घाटन कार्यक्रममा नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहका संयोजक भेषबहादुर थापाले पनि बोलेका थिए। उनले बैठकलाई दुई देशबीच सम्बन्ध सुधारको सुरुआत भएको जनाए।

प्रकाशित: २१ असार २०७३ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App