१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘लकडाउन’को चपेटामा बाढी पीडितः ‘न कमाउने ठाउँ रह्यो न खाने अन्न’

गिरीघाटको बाढी पीडित शिविर ।

सुर्खेत- प्यारालाइसिसले थलिएको शरिर। त्यसमाथि दुईटै खुट्टा काटिएको दुई वर्ष भयो। बोली राम्रोसँग फुट्दैन। बाहिर–भित्र गर्न मात्रै होइन, खानका लागि पनि सहारा चाहिन्छ। वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र पुग्दा च्यातिएको पालमुनि ५३ वर्षीय नरबहादुर रोकाका आँखाभरी आँसु थिए। उनले पेटभरी खान नपाएको दुई दिन भयो। यस्तोमा दैनिक खानुपर्ने औषधि कहाँबाट पाउनु?

‘दुःख पनि हामीजस्तालाई मात्रै आउँदो रहेछ,’ उनले भने, ‘कमाउने ठाउँ छैन, दिने सहयोगी छैनन्।’ २०७१ सालमा आएको बाढीले सुर्खेतमा ठूलो क्षति पुर्‍यायो। एक सय बढीले ज्यान गुमाए। एक हजार ४५ जना विस्थापित भए। उनीहरुको अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन।

इत्राम खोलामा आएको बाढीले नरबहादुरको परिवार विस्थापित भयो। त्यसयता उनको परिवार महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका छन्। श्रीमती सीताको दुई महिनाअघि मृत्यु भयो। १४ वर्षीय छोरा प्रकाशले दैनिक मजदुरी गरेर कमाएको पैसाले नरबहादुरको छाप्रोमा आगो बल्थ्यो। ‘कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेदेखि काम पाइएको छैन,’ प्रकाशले भने, ‘चार जनाको परिवार दुई दिनदेखि भोकै छौं।’

महिला प्रशिक्षण केन्द्रको शिविरमा १६ जना बाढी पीडित परिवार बस्छन्। सबैको पीडा उस्तै छ। मैसरा गुरुङको चार जनाको परिवार छ। दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने उनको परिवार लकडाउनका कारण समस्यामा छ। ‘उधारो कसैले दिँदैनन्, सहयोग गर्न कोही आउँदैनन्,’ उनले भनिन्, ‘बस्तीमा कसैका छाप्रामा पनि खाद्यान्न छैन ।’

कर्णाली राजमार्ग अन्र्तगत पर्ने बराहताल गाउँपालिकाको गिरीघाटमा एक सय ९ घर बाढी पीडित छन्। सिस्नेरी, थापाडेरालगायतका ठाउँबाट विस्थापित भएर आएका उनीहरु गिट्टी र दाउरा बेचेर आफ्नो दैनिकी चलाउँथे। केही सदरमुकाम वीरेन्द्रनगरमा आएर ज्याला–मजदूरी गर्थे। ‘अहिले सबै छाप्रामै बन्दी छौं, खाने अन्न छैन,’ बाढी पीडित शिविरका सचिव नरेन्द्र खत्रीले भने, ‘यस्तो दुःखको बेला साथ दिन कोही आएनन्।’ बाढी पीडितको आक्रोश स्थानीय र प्रदेश सरकारमाथि छ। ‘नजिकका सरकार भन्नुको मात्रै रहेछ,’ खत्रीले भने, ‘लकडाउन भएको छ दिन भयो, अवस्था के छ भनेर पनि सोधेनन्।’

 

प्रकाशित: १६ चैत्र २०७६ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App