१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना जोखिममा ग्रामीण भेग

महोत्तरी - भारतसँग ३८ किलोमिटर सीमा जोडिएका कारण कोरोना संक्रमण भित्रिने उच्च जोखिममा रहेको महोत्तरी जिल्लामा उच्च सतर्कता अपनाएको सरोकारवाला सरकारी निकायहरूको दाबी छ। सीमानाकामा उच्च सतर्कता अपनाइएको र सर्वसाधारणलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ। तर प्रशासनको दाबीविपरीत सीमानाकाबाट आवागमन रोकिन नसकेको स्थानीयले बताएका छन्। भारतबाट भइरहेको आवागमन नरोकिएका कारण सीमावर्ती गाउँलगायत ग्रामीण भेग जोखिममा रहेको उनीहरूको गुनासो छ।

भारतको बिहार राज्यसँग सीमा जोडिएका महोत्तरीका बासिन्दा लक–डाउनको अवधिमा पनि ग्रामीण क्षेत्रको आवागमनले नरोकिएकाले कोरोना भित्रनसक्ने आशंकामा त्रसित छन्। बिहारमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार पटना र सिवान जिल्लामा थप दुई दुई जना कारोना संक्रमित फेला परेपछि बिहारमा संक्रमितको संख्या नौ पुगेको छ। यसले महोत्तरीमा त्रास थपेको छ। तर प्रशासनले भने मंगलबारदेखि नेपाल–भारत आवागनमन ठप्प पारिएको दाबी गरेको छ। प्रशासनले सीमाक्षेत्रका १२ स्थानमा हेल्थ–डेस्क राखी आवतजावत गर्नेको स्वास्थ्य जाँच गर्दै आएको भन्दै नआत्तिन जिल्लाबासीलाई आग्रहसमेत गरेको छ।

‘भारतमा संक्रमण बढ्दै गएपछि हामीले कडाइका साथ नाका ठप्प पारेका छौं,’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘यसअघि नै सीमानाकामा हेल्थ–डेस्कको व्यवस्था गरिएकाले आत्तिइहाल्नुपर्ने अवस्था छैन।’

त्यसो त ‘लक–डाउन’लाई प्रभावकारी बनाउन सीमाक्षेत्रका ठाउँ–ठाउँमा सुरक्षाकर्मीले अवरोध राखेर बाटो वन्द गरेका छन्। सुरक्षाको यो प्रयासलाई स्थानीयले साथ पनि दिएका छन्। तर भारतमा बढ्दो संक्रमणको घटनाले सीमामा केही ठाउँमा हेल्थ–डेस्क र अवरोध राख्दैमा ढुक्क हुने अवस्था नरहेको स्थानीय बताउँछन्। खुला दशगजाबाट सहजै आवागमन हुने भएका कारणले सीमावर्ती गाउँ बढी जोखिममा रहेको उनीहरूको भनाइ छ।

भारतको बिहारमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा बिहार राज्यसँग सीमा जोडिएको सीमावर्ती गाउँमा आवागमन नरोकिएकोमा स्थानीय चिन्तित छन्। रातको अँध्यारो र बिहान झिसमिसेमा भारतबाट नेपाल छिर्नेको लर्को घट्न सकेको छैन।`

सीमावर्ती समसी गाउँपालिकाका युवा विजय यादव नेपाल–भारत आवागमन नरोकिएकोमा चिन्तित छन्। रातको अँध्यारो र बिहान झिसमिसेमा भारतबाट नेपाल छिर्नेको लर्को घट्न नसकेको उनले बताए। ‘लक–डाउन सोचेजस्तो प्रभावकारी देखिएन, मौका हेरेर सीमावारपार गर्नेको लस्कर रोकिएको छैन,’ यादवले भने, ‘यसले संक्रमणलाई भयावह बनाउन सक्छ।’

महोत्तरीको समसीलगायत सोनमा, मनरा सिसवा, जलेश्वर र मटिहानी गरी पाँच स्थानीय तहका दर्जनभन्दा बढी गाउँ भारतीय सीमासँग जोडिएका छन्। बाक्लो जनघनत्वले प्रवेश गरेकालाई लुक्न–छिप्न सहज पारेको छ। 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार सबैजसो नाकाबाट दैनिक ३० देखि ३५ जनासम्म नेपाल भित्रिने गरेका छन्। सा“झ–बिहान खुलामा शौच बस्ने बहाना बनाएर होस् वा तरकरी किन्ने नाममा दशगजानजिक बजारबाट फर्केको भनेर होस्, भारतको विभिन्न सहरमा कामका लागि पुगेका नेपाली भित्रिने क्रम रोकिन सकेको छैन। लुकिछिपी भित्रिएकाहरू नाकामा व्यवस्था गरेको हेल्थ–डेस्कको सम्पर्कमा पनि आउँदैनन्। सीमा कटेपछि सीधै गाउँ–बस्ती र परिवारको सम्पर्कमा पुग्छन्। यो अवस्थाले परिवार र बस्तीमा जोखिम थपेको स्थानीयको भनाइ छ।

‘यो भयावह अवस्था हो। र यसलाई रोक्नु स्थानीय स्वास्ग्यकर्मीको दायित्व हो,’ प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ प्रशासक विजय झाले चिन्ता व्यक्त गर्दै भने, ‘त्यसैगरी विदेशबाट फर्किनेहरू यदि आफ्नो परिवार, समाज र देशको माया लागेर आएको हो भने उहाँहरूले स्वेच्छाले १४ दिन क्वारेन्टाइनमा गइदिनुपर्ने हो।’ 

तर झाले भने जस्तो यस्ता बस्तीमा न त कुनै स्वास्थ्यकर्मीले यस्तो दायित्व बोध गरेको पाइएको छ, स्वेच्छाले कोही क्वारेन्टाइनमा गएका छन्। लक–डाउन भएपछि भारतको मद्रासबाट हिँडेका गौशाला नगरपालिका–१० स्थित भरतपुर मुसहर बस्तीका पाँच जना युवा लुकिछिपी सीमा छलेर घर पुगेको घटना बिहीबार रातिदेखि चर्चामा छ। उनीहरू समसी र रघुनाथपुरबीचको नाकाबाट नेपाल प्रवेश गरेको बुझिएको छ। प्रशासन र नगरपालिकालाई जानकारी दिँदा पनि उनीहरूलाई क्वारेन्टाइनमा नराखिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। परिवारले उनीहरू मद्रास नै नगएको भनेर ढाँट्न थालेको छिमेकीको भनाइ छ। गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो यस घटनाबारे अनभिज्ञ छन्। ‘मलाई यसबारे कुनै जानकारी छैन’ उनले अनभिज्ञता प्रकट गर्दै भने ‘के रहेछ बुझ्नेछु।’

भारतबाट नेपाल छिरेको यो एक्लो भरतपुरको मात्र घटना हैन। सबै नाका र बस्तीको साझा समस्या हो। मटिहानी मेयर हरिप्रसाद मण्डलका अनुसार लक–डाउन छल्दै नगरपालिकाको वडा नम्बर ९ सिमरदहीमा पनि दुई दिनअघि करिब १५ जना युवा भारतको महाराष्ट्रबाट फर्केका थिए।

नेपाल प्रहरीका एसपी श्यामकृष्ण अधिकारी र सशस्त्र प्रहरीका एसपी नीरकृष्ण अधिकारीले सीमाक्षेत्रमा कडाइसाथ सुरक्षा निगरानी बढाएको दाबी गर्दै आएका छन्। उनीहरूले नाकाबाहेक खुला सीमाको भिजिवल डिस्ट्यान्स (देखिने दूरी) मा सुरक्षाकर्मी तैनाथ गरेको बताए। तर खुला सीमा वारपारको घटनाले विद्यमान सुरक्षा व्यवस्थालाई चुनौती दिएको सीमावर्ती मनरा–सिसवा नगरपालिकाका मेयर संजय सिंह स्वीकार्छन्। 
‘समस्या सुरक्षाको मात्र हैन व्यवस्थापनमा पनि छ,’ उनले भने, ‘हामीसँग सुविधा–सम्पत्र क्वारेन्टाइन बनाउने बजेट छ। त्यसका लागि प्रशासनसँग छलफल पनि भएको छ तर आवश्यक मेडिकल सामग्री र जनशक्तिको व्यवस्था मिलाउने सम्भावना नदेखिँदा अलमलमा छौं।’ 

त्रुटिपूर्ण व्यवस्थापनले सीमाबाट लुकिछिपी प्रवेश गरेकालाई सम्पर्कमा लिएर पनि केही गर्न नसकिने उनको बुझाइ छ। ‘हामीलाई थाहा छ यसरी भित्रिएकाहरूको स्वास्थ्य परीक्षण गराउनुपर्छ, क्वारेन्टाइनमा राख्नुपर्छ,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘तर खोइ कहाँ छ सुविधासम्पन्न क्वारेन्टाइन र हामीले सम्पर्कमा लिने ?’

प्रकाशित: १६ चैत्र २०७६ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App