१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नुवाकोटका डोटेलको युएईमा शंकास्पद मृत्यु

काठमाडौं- बेलकोटगढी–१२, नुवाकोटका हरिशरण डोटेल संयुक्त अरब इमिरेट्सको अबुधाबीमा निवासमै मृत भेटिएका छन्। रोजगारीको सिलसिलामा त्यहाँ पुगेका ३७ वर्षीय डोटेलको शव सोमबार आवासगृहको कोठामा शंकास्पद अवस्थामा फेला परेको उनका भान्जा राजेन्द्र ढुंगानाले जानकारी दिएका हुन्।

डोटेलको शव डबल डेकर बेडमा झुन्डिएको अवस्थामा फेला परेको भन्दै सँगै बस्ने युवतीले आफन्त र साथीभाइलाई खबर गरेको ढुंगानाले अनलाइनमा जानकारी दिए।

गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष निरन्जन सिलवालले पनि मृत्यु निकै शंकास्पद रहेको बताए। आफूहरुले निष्पक्ष छानबिनका लागि पहल गर्न नेपाली राजदूतावासलाई आग्रह गरेको सिलवालको भनाइ छ।

स्थानीय प्रहरीले डोटेलको शव बरामद गरी घटनाको अनुसन्धान थालेको छ। डोटेल नुवाकोटकै ती युवती (परिचय गोप्य राखिएको छ) सँग सो कोठामा बस्ने गरेका थिए।

उनी अबुधाबीको अस्पतालमा काम गर्थे। मासिक डेढ लाख रुपैयाँ हाराहारी कमाउने डोटेल मानसिक रुपमा पनि तनावमा नरहेको उनका आफन्त र नजिकबाट बुझेका साथीहरु बताउँछन्। मुलुकका राजनीतिक गतिविधिप्रति विशेष चासो राख्ने उनले कैयौं सास्ती झेल्दा पनि हरेस नखाएको उनीका राजनीतिक सहकर्मी रामचन्द्र वाग्ले बताउँछन्।

‘भूकम्पमा नाबालक एक्लो छोरा गुमाउँदा पनि नआत्तिएको मान्छे। अरुलाई समेत दुःख पर्दा हरेस नखान प्रेरित गर्ने मान्छेले आत्महत्या गर्यो भनेर पत्याउनै सकेका छैनौं,’ प्रवासीको नेपालीको हकहितमा समेत काम गरिरहेका साउदी अरबमा कार्यरत वाग्लेले भने, ‘प्रभावकारी छानबिनको पहल गर्न साउदीस्थित नेपाली राजदूतमार्फत युएईका राजदूतलाई आग्रह गरेका छौं।’

डोटेलको फेसबुकका पछिल्ला स्टाटसहरु पनि निराशाजनक छैनन्। शव फेला पर्नुभन्दा एक दिन अघि २१ मार्चमा उनले ब्रेक एन लिंक्सको ‘फोहोर फाल्न दिएकोमा ओखरपौवाबासीलाई पछुतो’ शीर्षक समाचार ‘सहि कुरा’ टिप्पणीसहित फेसबुकमा सेयर गरेका छन्। अघिल्लो दिन २० मार्चमा उनले कोरोना संक्रमणका लक्षणहरु फेसबुक स्टाटसमा सेयर गरेका छन्।

उनी चाँडै नै स्वदेश फर्केर कम्पनी खोली व्यवसाय गर्ने सोचमा रहेको ढुंगाना बताउँछन्। ‘नेपाल गएर कम्पनी खोलेर काम गर्छु भनेको मान्छेको यस्तो खबर सुन्दा पत्याउने गाह्रो भइरहेको छ,’ ढुंगानाले भने। डोटेल साहित्य सिर्जनामा पनि सक्रिय थिए। उनका गीत, गजलहरु रेकर्ड पनि भएका छन्।

२०७२ को महाभूकम्पमा नाबालक छोरा गुमाएका डोटेल त्यो परिस्थितिबाट सम्हालिएर सामान्य जीवनमा फर्किसकेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। उनका आमा, श्रीमती र एक छोरी छन्।

प्रकाशित: १४ चैत्र २०७६ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App