१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तिलामा बन्यो ५० बेडको क्वारेन्टाइन

जुम्ला – तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। यहाँको सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको  भैरव आधारभुत विद्यालयमा १० बेड, नाभिडाँडा आधारभुत विद्यालय सापुल्लीमा १० बेड र कुडारी वडा कार्यालयमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष बिष्णु बुढा लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटा, स्थानीय राजनैतिक दलका प्रतिनिधि सहितको टोलीले क्वारेन्टाइन निर्माण गरेको हो। क्वारेन्टाइन स्थलमा बेड विस्तारा पुगेर तयारी भइसकेको छ। खानेपानी, शौचालय र सफा वातावरण भएका विद्यालयमा क्वारेन्टाइन बनाइएको प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले जानकारी दिए। 

उनका अनुसार कामको शिलशिलामा कालापहाड लगायतका खाडी मुलुकबाट फर्किएकालाइ मध्येनजर गर्दै क्वारेन्टाइनको व्यवस्थापन गरिएको हो। क्वारेन्टाइनमा १४ दिन सम्म  राखिनेछ। अहिले कालापहाड गएर फर्किनेको लर्को लागेको छ, उनले भने,‘ सबैको स्वास्थ्यलाइ मध्यनजर गर्दै क्वारेन्टाइन बनाइएको छ।’ उनले आफ्नो, परिवार र समाजको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने बेला आएको बताए। 

गाउँपालिका अध्यक्ष रतननाथ योगीले भारतबाट आएकाहरुलाइ अनिवार्य क्वारेन्टाइनमा राख्नु पर्ने बताए। उनले भने,‘ अहिले कामको शिलशिलामा भारत गएकाहरुको फर्किने समय हो। यो समयमा सबैले विशेष ध्यान दिनु पर्छ। परिवारले पनि भारतवाट आएकालाइ सहजै रुपमा क्वारेन्टाइनमा बस्न दवाव दिनुपर्छ।’ उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन हुनुका साथै आवश्यक पुर्वतयारीमा स्थानीय सरकार जुटेको जानकारी दिए। 

गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा यो समय निकै संवेदशिल भएकोले जनताको हितको लागि अघि बढ्नु पर्ने बताइन्। उनले बाहिरबाट आएकाहरुलाइ क्वारेन्टाइनमा बसेर आफ्नो स्वास्थ्यको सुरक्षा गर्न आग्रह गरिन्। उनले भनिन्,‘ कोराना भाइरसका कारण चौतर्फि खतरा बढेको छ। खतराबाट मुक्ति पाउन सबै सचेत हुन जरुरी छ। स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बस्न सबै भारतबाट आएकाहरुलाई गर्ने बताइन्। 

जिल्ला लकडाउन भएकोले घर बाहिर ननिस्कन, मास्कको प्रयोेग गर्न,नियमित रुपमा सफा साबुन पानीले हात धुन र स्वास्थ्यकर्मीको सल्लाह अनुसार अघि बढ्नु पर्नेमा उपाध्यक्ष बुढाले जोड दिइन्। 

गाउँमा  रहेका विदेशवाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्न जनप्रतिनिधि गाउँमा पसेका छन्। उनीहरुले सचेतनाका कार्यक्रम गरेर क्वारेन्टाइनमा बस्ने वातावरणको सिर्जना गर्ने बताएका छन्। तिला गाउँपालिका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले क्वारेन्टाइनमा बसेर आफ्नो स्वास्थ्यको सुरक्षा गर्नु पर्नेमा जोड दिन्छन्। उनका अनुसार यहाँका हरेक स्वास्थ्य संस्थामा थोरबहुत औषधि पठाइसकेको  बताउँदै उच्च ज्वरो, खोकी लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न आग्रह गरिएको छ। जुम्ला कालिकोटको सिमानामा यो गाउँपालिका भएकोले उच्च जोखिममा छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संगको समन्वयमा तिला गाउँपालिकाले नाग्ममा स्वास्थ्य सहायता केन्द्र स्थापना गरेर नियमित चेकजाँच गरिरहेको छ। 


यहाँ आवश्यक पर्ने मास्क, स्यानिटाइजर, पिपिइ सेट मगाइसकेको गाउँपालिकाले जनाएको छ। त्यो सामान ल्याउन स्थानीय प्रशासन संग समन्वय गरेर ल्याउने तयारी भइरहेकोछ। 

प्रकाशित: १४ चैत्र २०७६ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App