१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

पारदर्शिता पहिलो सर्त

कोरोना भाइरस (कोभिड–१९) संक्रमणमाथि विजय प्राप्त गर्ने एकमात्र अभ्यास पारदर्शिता हो । वास्तवमा पारदर्शी व्यवहार पहिलो कर्तव्य हुनुपर्छ । पारदर्शितामा प्रत्येक नागरिकदेखि सरकारसम्मले जोड दिनुपर्छ । कुनै व्यक्तिलाई कोरोनाको जस्तो लक्षण देखियो भने त्यसमा समयमै उपचारतिर ध्यान दिनुपर्छ । अहिले विदेशबाट आएका जति व्यक्ति बिरामी देखिएका छन् ती बिरामीसँग यात्रा गरेका वा सम्पर्कमा रहेका व्यक्तिले स्वस्फूर्तरूपमा आफूलाई क्वारेन्टाइनमा राख्ने वा सरकारका सरोकारवाला व्यक्तिहरूलई जानकारी दिने व्यवस्था हुनुपर्छ । यसमा व्यक्ति स्वयंको भूमिका महत्वपूर्ण हुन्छ । हो, सरकारले यस्ता व्यक्तिलाई खोज्दै जान कोसिस गर्नेछ । तर त्यतिबेलासम्म संक्रमित व्यक्तिबाट अरु धेरैलाई संक्रमण भइसकेको हुन सक्छ । त्यसैले यो बेलामा आफू कुनै त्यस्तो व्यक्तिको सम्पर्कमा पुगिएको थियो कि ? सम्झना गर्ने र सावधानी अपनाउने गर्नु उचित हुन्छ ।

अब रह्यो सरकारको भूमिका । सरकारले साताव्यापी बन्दाबन्दी लागु गरेको पनि तीन दिन भइसकेको छ । यो अवधिमा सर्वसाधारणले जुन तहको धैर्य राखेर घरमा बसेका छन्, त्यो अत्यन्तै प्रशंसनीय छ । अन्यत्रका नागरिकजस्तो चाहिने/नचाहिने सामग्री किन्न पनि दौडिएका छैनन् । आरामले सरकारलाई काम गर्ने मौका दिएका छन् । अब यो अवस्थामा सरकारको भूमिका कोरोना संक्रमण रोकथाम निम्ति आक्रामक हुनुपर्छ । त्यसका निम्ति संक्रमित व्यक्तिको पहिचान र थप संक्रमण हुन नदिनेतर्फ ध्यान पुग्नुपर्छ । क्रमशः बिरामी देखिँदै गएका छन् । तर, अझै संक्रमितहरूको उपचारको व्यवस्था मिलिसकेको देखिएको छैन । यससम्बन्धी जाँचलाई छिटो, प्रभावकारी र सुलभ पनि बनाइएको छैन । यस्तो स्थिति लम्ब्याउनु भनेको थप संकट पर्खिनुजस्तो हो ।

कोरोना संक्रमण चीनको बुहानमा सुरु भएदेखि नै हाम्रो सक्रियता हुनुपथ्र्यो । अहिले आएर हेर्दा हामीले जहिल्यै थप क्षतिलाई पर्खिने, साह्रै बिग्रेपछि मात्र त्यसलाई सम्बोधन गर्न तत्परता देखाउनेजस्तो अवस्था छ । जनस्वास्थ्यका विषय आउनासाथ विशेषज्ञहरूलाई काम लगाउनु र त्यसमा सरकारको नियमित निगरानी हुनुपर्छ । तर यस्ता पक्षमा जहिल्यै चुकेको जस्तो देखिन्छ । चीनले बुहानमा ‘लक डाउन’ (बन्दाबन्दी) गरिसकेपछि पनि यहाँ त्यस किसिमको अवस्था आउला कि भनी तयारी थालिहाल्नु आवश्यक हुन्थ्यो ।

अझ हाम्रा नेपाली दाजुभाइ काम गर्न विभिन्न विदेशी मुलुकमा पुगेका छन् । त्यहाँ पनि संक्रमण फैलिन थालेपछि उनीहरूबाटै यहाँ त्यो आउँछ भन्ने निश्चित थियो । त्यो पक्षलाई पनि बेलैमा विचार पुर्‍याएको देखिएन । र, अहिलेसम्म देखिएका तीन जना संक्रमितसमेत संयोगले विदेशबाट आएकै छन् । तर विदेश नगएका यहीँ संक्रमित भएका पनि अरु हुन सक्छन् । तिनको पहिचानका निम्ति पहल हुनु आवश्यक छ ।

कोरोना संक्रमणलाई सम्बोधन गर्ने सरकारको अहिलेको प्रयासमा केही कमी अवश्य देखिएको छ । खासगरी संक्रमितका बारेमा सरकारको पारदर्शिता अपरिहार्य हुन्छ । त्यसो हुन सकेन भने उपचारमा संलग्न चिकित्साकर्मी र अन्यको जीवनमा खतरा आउन सक्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका धादिङका ३२ वर्षे युवामा संक्रमण भएको कैयन् घन्टासम्म सम्बन्धित चिकित्सकलाई जानकारी नदिइनु आफैँमा आपत्तिजनक हो । उपचारमा संलग्न चिकित्सकले संक्रमित बिरामीका बारेमा सञ्चार माध्यममा जानकारी आएपछि मात्र थाहा पाउनुले पारदर्शिताको अभ्यास अपुग भएको देखाउँछ ।

पारदर्शिता अभावमा आउने विपत्तिबारे जान्नुपरे कोरोना संक्रमणको केन्द्रविन्दु रहेको चीनको बुहानको घटनालाई एकपटक सम्झना गरेमात्र पनि पुग्छ । त्यहाँका चिकित्सक लि वेनलियाङले कोरोना भाइरसबारे जानकारी गराएबापत स्थानीय अधिकारीहरूको खप्की खाएका थिए । उनलाई भ्रम नफैलाउन चेतावनीसमेत दिइएको थियो । बुहान केन्द्रीय अस्पतालमा कार्यरत यी चिकित्सकको कोरोना भाइरसकै कारण गत माघ २४ मा निधन भयो । यो घटनालाई लिएर अधिकारीहरूले लज्जित हुनुपर्ने अवस्था आएको थियो । त्यहाँ यी चिकित्सकले संक्रमणको गम्भीरताबारे जानकारी दिन खोज्दा खप्की खानुप¥यो भने यहाँ यसबारे जानकारी नै नदिइ चिकित्साकर्मीलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । यस्तो अवस्था आउन नदिन चिकित्साकर्मीलाई यसबारे पूर्ण जानकारी दिने पद्धति बसाउनु आवश्यक छ ।

अहिलेसम्म तीनजना यसबाट संक्रमित भएका छन् । एक जना उपचारपछि घर गइसकेका छन् । बाँकी दुई जनाको यतिबेला उपचार भइरहेको छ । यी दुईको उपचारसँगै थप बिरामीको पहिचान र उपचारलाई भरपर्दो तुल्याउन कामको गति बढाउनुपर्ने देखिएको छ । चिकित्साकर्मीका लागि आवश्यक रक्षा सामग्रीको आपूर्तिमा ढिलाइ भइरहेको छ । सहयोगका निम्ति चीन आफैं तयारसमेत भइसकेको छ । जसले कोरोनाविरुद्धको ‘जनयुद्ध’ जितिसकेको छ । भारतले समेत यसमा सहयोगको तत्परता देखाइसकेको छ । उनीहरूबाट सहयोग सामग्री र विशेषज्ञ लिन किन ढिलाइ भइरहेको हो ? यी सबै पक्षमा पारदर्शी व्यवहार अहिले अति आवश्यक छ ।

प्रकाशित: १४ चैत्र २०७६ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App