१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

लक डाउन : चीनको अनुभव

डि.बी. कट्टेल, पिएचडी
जीवनको मूल्य त स्वयं स्वविवेकले बुझ्नुपर्ने विषय हो । त्यसमा पनि रोगव्याधिको प्रकोपका बेला हामी गम्भीर र संवेदनशील भएनौँ भने परिणाम घातक नहोला भन्न सकिन्न। ‘लक डाउन’ एउटा माध्यम हो राष्ट्रिय सुरक्षाका लागि अर्थात् मुलुकभर रोग नफैलियोस् भन्नका खातिर । यो परिस्थिति त आफ्नो सुरक्षा गर्दै अरुलाई पनि असर नपुगोस् भनेर आफूलेनै पालना गर्ने अर्को महत्वपूर्ण अवसर पनि हो भन्ने यो पंक्तिकारले बुझेको छ चीन बसाइका क्रममा।

सरकार सशक्त, प्रतिबद्ध र जनताप्रति जवाफदेही हुनुपर्ने रहेछ भन्ने त छँदैछ, सँगसँगै जनता पनि अनुशासित र इमान्दार हुनुपर्ने रहेछ भन्ने तथ्यलाई यो पंक्तिकारले चीन बसाइमा राम्रैसँग अनुभव गर्‍यो ।

नेपाल सरकारको भर्खरैको पत्रकार सम्मेलनलाई यो लेखकले नजिकैबाट नियाल्यो। त्यहाँ भीड थियो । सुरक्षाको न्यूनतम उपायसमेत प्रयोग गरिएको देखिएन । अनि निर्धक्क भएर सरकारी प्रतिनिधिहरू संक्रमण फेला परेको जानकारी दिन्छन्। अब भनौँ, ग्रामीण समुदायमा भएको एक सामान्य नागरिकले के नियम पालना गर्ला जब सरकार नै आफैँ गरेको निर्यण उल्लंघन गर्छ भने । यहाँ यो पंक्तिकारको उद्देश्य आरोप लगाउनु होइन । मात्र हाम्रो प्रणाली र व्यवहारको प्रसङ्ग उल्लेख गर्नु हो।

जे भए पनि कोरोना विषाणुको आतङ्क बढ्दै गएपछि र विभिन्न क्षेत्रबाट ठूलो दबाब आएपछि बल्ल सरकारले ‘लक डाउन’ गर्ने निर्णय गर्‍यो । ढिलै भए पनि यो कदमलाई सकारात्मक नै मान्नुपर्छ । यद्यपि यो नै सम्पूर्ण समाधान भने होइन । किनकि सम्भावित विषाणुको महामारी नियन्त्रणका लागि यो निर्णय पालना गर्ने उत्तिकै ठूलो जिम्बेवारी सरकारसँगै हामी नागिरकमा पनि छ । यसमा हाम्रो अनुशासन, इमान्दारितार प्रतिबद्धता महत्वपूर्ण हुन आउँछ ।

विश्व कोभिड–१९ विषाणुका विरुद्ध लडिरहेको छ । १ शताब्दीआघि भएको ‘स्पेनिस फ्लु’ को महामारीलाई उतिबेला ‘जनस्वास्थ्यका लागि’ ठूलो चेतावनी मानिएको थियो । शायद हाम्रो समयमा देखिएको कोरोना विषाणुको महामारी एउटा भयानक युद्ध हो मानव र सूक्ष्म जीवबीचको। ठूलो सङ्घर्षपछि आहिले चीनले यो रोगलाई लगभग नियन्त्रणमा त लियो तर अप्रत्याशितरूपमा यसको महामारी विश्वका अन्य राष्ट्रमा आक्रामकरूपमा देखापरेपछि मानव र सूक्ष्म जीवबीचको युद्ध अझ चर्कँदै गएको छ।

पूर्ण ‘लक डाउन’को अवस्थामा, दैनिक जीवन यापनका लागि यहाँ अभाव कहिल्यै महसुस भएन। न हामी महँगीको मारमै पर्‍यौँ न त यहाँ कालो बजारी नै भयो।

अहिले दक्षिण एसियाली राष्ट्रहरूमा यो रोगले आक्रामक रूप त लिने होइन भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ। रोगलाई गम्भीर पूर्वक नलिइँदा नै अमेरिका र युरोपेली राष्ट्रहरू आहिले यसको ज्यादा मारमा परेका टिप्पणी पनि गरिँदै आएका छन् । विषाणुको प्रकोपलाई हल्कारूपमा लिएर जातीयतासँग मुछ्दै हिलो छ्याप्ने कामसमेत गरियो। युरोप र अमेरिकामा पनि रोग प्रकोपका इतिहास नभएका होइनन् । एसियाली राष्ट्रहरूलाई आरोप लगाउने प्रसंग त झन् अहिलेको मात्र होइन  शताब्दियौँ अघिदेखि नै चलिआएका हुन्( । तर यो लेखको सन्दर्भ भने यो विषय नभएकाले त्यसतर्फ नलागौँ ।

भारतमा पनि यो रोगको संक्रमण बढ्दोरूपमा देखिएको छ । नेपालमा भर्खरै एक जना संक्रमित भेटिए पनि आधिकारिकरूपमा अन्य विवरण भने आएका छैनन् । तर ढुक्क हुने अवस्था छैन । हामीले सावधानी अपनाउनु त छँदैछ, सँगसँगै खोजीनीति र निगरानीको आवश्यकता पनि उत्तिकै जरुरी छ । किनकि विगतमा र आहिले पनि (फाट्टफुट्ट), संक्रमित मुलुकबाट मानिसको आवागमन नेपालमा भइरहेको अवस्था छ । त्यस्तै सँगसँगै आउने अर्को समस्या हो– सुरक्षा सामग्री (मास्क) र खाद्य पदार्थको अभाव । अनि महँगी र कालो बजारी।

कृत्रिम अभावबारे हामी अनुभवविहीन छैनौँ । सङ्कटको अवस्थामा कृत्रिम अभाव हाम्रो जस्तो राष्ट्रमा एउटा परम्परा जस्तै भैसकेको छ। पूर्ण ‘लक डाउन’ भएको अवस्थामा उपभोग्य वस्तुहरू सहजरूपमा उपलब्ध गराउने व्यवस्था त राज्यको दायित्वभित्रनै पर्ला । यद्यपि हामी नागरिकलाई पनि कम आँक्न मिल्दैन । मौकामा लुट्न पाएसम्म लुट्ने कोसिस गर्छौँ । किनकि हामीसँग न डर छ न दायित्वको बोध नै । यद्यपि मुलुकमा नियम, कानुन र निकायहरू नभएका होइनन् तर ती सबै फितलो बन्छन्, त्यसका लागि सङ्कट नै आइरहनु पर्दैन।

नेपालमा त भर्खर लक डाउन भएको अवस्था छ । यो पंक्तिकार एक विदेशीको हैसियतमा कोरोना विषाणु नियन्त्रणकालागि चीनले गरेको सङ्घर्षको एउटा साक्षी र लक डाउनको परिस्थितिको एक अनुभवी पनि हो। साँढे २ महिनापछि अहिले बेइजिङमा थोरै चहलपहल देखिएको छ । यद्यपि कार्यालयहरू अझै पूर्णरूपमा सुचारु भइसकेका छैनन् । विश्वविद्यालय र स्कुलहरू बन्द नै छन् । सुरक्षाका उपायहरू अझै नियमितरूपमा अपनाइएको छ। तर कार्य सम्पादन, अध्ययन, अध्यापन भने रोकिएका छैनन् । विभिन्न विकल्पका माध्यमबाट नियमितरूपमा भइनै रहेका छन्।

बजारहरू अझै पुरानै अवस्थामा आइसकेका छैनन् तर पूर्ण ‘लक डाउन’को अवस्थामा, दैनिक जीवन यापनका लागि यहाँ अभाव कहिल्यै महसुस भएन। न हामी महँगीको मारमै पर्‍यौँ न त यहाँ कालो बजारी नै भयो। केही दिन थोरै भाउ बढेको अनुभव भए पनि लामो समय रहेन । यद्यपि, अत्यन्त चिसो मौसम र चाडपर्वका बेला थोरै भाउ बढ्नु बेइजिङमा सामान्य नै हो । एक्कासि बढेको चापले सुरुमा ‘मास्क’ उपलब्धतामा केही समस्या त देखियो तर यो समस्या पनि धेरै समयसम्म रहेन।

मूल्यको कुरा गर्दा केही प्रसंग यहाँ उठाएको छु। सन् २००९ मा मैले सधैँजसो पिउने कफीको मूल्यको दायरा आज १० वर्षपछि पनि उही अवस्थामा छ । यहाँ भाउ घटबढ भइरहनु स्वाभाविक नै हो तर त्यसले उच्चतम सीमा नाघ्दैन। पंक्तिकारले प्रयोग गर्ने चामलको मूल्य ४ वर्ष यताबाट उही छ । अलिकति पनि तल–माथि भएको छैन। दूधको मूल्य पनि यस्तै हो । एउटा दायरामा रहन्छ । तर त्यसले मूल्यको उच्चतम सीमा नाघ्दैन । तरकारीमा धेरै विविधता छ । मूल्य बेहोर्न सकिन्छ । र, बजारबाट किनेर ल्याएको तरकारीमा १ ग्राम पनि खेर जाँदैन।

बढ्दो महँगीसँगै विगतमा मुलुकमा भएको नाकाबन्दी र कृत्रिम अभावको अनुभव त यो लेखकसँग पनि छ। हाम्रो मुलुकमा त कुनै खाद्य पदार्थको मूल्य बढेपछि शायद घटेको इतिहास छैन । तरकारीको त कुरै नगरौँ । राम्रो भागभन्दा नराम्रो भागले ज्यादा भार लिएको हुन्छ। त्यसमा पनि सङ्कटको अवस्थामा त अभावै अभाव। गर्ने के? देश हाम्रै हो र सत्य पनि यही हो । यी त आधारभूत कुरा हुन् नि । जसको व्यवस्थापन, नियमन र नियन्त्रणका लागि राष्ट्र विकसित नै हुनुपर्छ भन्ने त होइन नि । यो त सरकार र प्रणालीमा भर पर्ने कुरा हो।

सरकार सशक्त, प्रतिबद्ध र जनताप्रति जवाफदेही हुनुपर्ने रहेछ भन्ने त छँदैछ, सँगसँगै जनता पनि अनुशासित र इमान्दार हुनुपर्ने रहेछ भन्ने तथ्यलाई यो पंक्तिकारले चीन बसाइमा राम्रैसँग अनुभव गर्‍यो । समयक्रमसँगै हाम्रा गलत आचरण त पछि हट्दै जालान्, नेपाल समृद्ध हुँदै जाला भविष्यमा, आशावादी त हुनैपर्छ । कुशल नेतृत्व र मेहनत भयो भने छोटै अवधिमा देशले कायापलट फेर्न सक्छ भन्ने उदाहरणका रूपमा त हामी टाढा जानै पर्दैन, चीनलाई नै हेरे पुग्छ।

आहिले मुलुकमा त्रासदी छाएको छ । डर हुनु स्वाभाविक हो किनकी यसले विश्व महामारीको रूप लिएको छ। तर यो विषाणु चीनमा महामारीको रूप लिएको अवस्थामा भयानक र त्रासदीपूर्ण अवस्थाको अनुभव हामीलाई भएन। समुदाय, छिमेकी र सुरक्षा निकायको निरन्तर सहयोग र निगरानीले त्यो अनुभव गर्न दिएन। ‘लक डाउन’ स्वयं र समुदायको सुरक्षाकालागि हो भन्ने कुरा हामीले राम्रोसँग बुझ्यौँ । चिनिया जनतासँगै हामी पनि भीडभाडबाट पर रह्यौँ । अत्यावश्यक कामबाहेक बाहिर निस्किएनौँ ।

चीनले ठूलो संघर्ष गर्‍यो कोरोना विषाणुको प्रकोप नियन्त्रणका लागि । चिनिया सरकार अत्यन्त संवेदनशील र जनताप्रति जवाफदेही भएर कुनै क्षेत्रमा कमी नगराई दत्तचित्त भएर लाग्यो । चिकित्सक, उद्योगपति, व्यवसायी, कर्मचारी र नागरिकहरू सबैले साथ दिए आआफ्नो क्षेत्रबाट । स्थानीय नागरिक इमान्दार, अनुशासित र प्रतिबद्ध भएर निस्वार्थ भावले आफैँ खटे । समुदायको निगरानी आफैं गर्नथाले। सहयोग र योगदानको भावना हरेकमा जागृत भयो । फलतः चीन विषाणुविरुद्ध विजयोन्मुख हुँदै आयो। यो अनुभवलाई हामीले हाम्रो मुलुकमा उपयोग गर्न सक्छौँ यो बेला।

चीनकै अनुभव पछ्याउँदा कोरियाले विषाणु आतंकको भयाबह अवस्था झेल्नुपरेन। बेलैमा सचेत नहुँदा, इटाली अहिले ठूलो युद्ध लडिरहेको छ विषाणुविरुद्ध । कतिपय अन्य राष्ट्रको अवस्था पनि इटालीको जस्तै छ। अतः कोरोना विषाणुलाई हल्कारूपमा नलिउँ ।‘लक डाउन’ को उपयोग गर्दै आफ्नो र समाजको सुरक्षा हामी आफैँ गरौँ । अनुशासित, इमान्दार र प्रतिबद्ध भएर । साथसाथै रोग भित्रन नदिनु र हुन सक्ने खतरा नियन्त्रण गर्न सम्भावित स्रोत पहिचान गर्नु पनि उत्तिकै आवश्यक छ यो बेला।
(एसोसिएट प्रोफेसर– चाइनिज एकेडेमी अफ साइन्स, बेइजिङ)

प्रकाशित: १४ चैत्र २०७६ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App