१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रयोगशाला नहुँदा नमुना परीक्षणमा सकस

धनगढी - विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि सुदूरपश्मिका सेती अञ्चललगायत विभिन्न  अस्पतालका आइसोलेसन कक्षमा भर्ना भएका बिरामीको नमुना परीक्षण बेलैमा गर्न नसक्दा समस्या भएको छ। यस क्षेत्रमा नमुना परीक्षण प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता छ। लकडाउन घोषणाका कारण स्थल यातायात र हवाई सेवा पनि बन्द भएपछि यो समस्या झन् पेचिलो बनेको छ।

सेती अञ्चल अस्पताल आइसोलेसन कक्षमा भर्ना भएका आठजनाको नमुना संकलन गरेर बुधबार राति ९ बजे गाडीबाट काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला पठाइएको छ। कोरोना संक्रमित युवतीसँग कतार एयरवेजबाट आएका एक युवक बुधबार राति सेती अस्पताल आइसोलेसन कक्षमा भर्ना भए पनि उनको नमुना पठाउन सकिएको छैन। आठजनाको नमुना पठाएछि ती युवक भर्ना भएका थिए। उनको नमुना बिहीबार पनि काठमाडौं पठाउन सकिएको छैन। ‘सेती अस्पताल आइसोलेसन कक्षमा रहेका नौमध्ये आठजनाको नमुना बुधबार राति ९ बजे पठाइयो। त्यसपछि भर्ना भएका एक युवकको नमुना पठाउन सकिएको छैन,’ सेती अस्पताल आकस्मिक सेवा विभाग प्रमुख जगदीश जोशीले भने।

सरकारले कोरोना संक्रमण हुन नदिन मुलुकभर लकडाउन घोषणा गरेपछि स्थल यातायातसँगै हवाई उडानसमेत बन्द भएको र यस प्रदेशमा प्रयोगशाला नभएकाले शंकास्पद बिरामीको नमुना समयमै परीक्षण गर्न पठाउन नसकिएको जोशीले बताए। ‘हवाई उडान पनि बन्द भएकाले आइसोलेसनमा रहेका बिरामीको नमुना पठाउन समास्या भइरहेको छ,’ उनले भने। बेलैमा नमुना परीक्षण नहुँदा बिरामीको रोग पहिचान र थप उपचारमा बाधा पुगेको छ।

बेलैमा नमुना परीक्षण नहुँदा बिरामीको रोग पहिचान र थप उपचारमा बाधा पुगेको छ।

 

सुदूरपश्चिमका अस्पतालबाट संकलित नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने गरेको छ। ‘यसअघि हवाई उडानमार्फत नमुना पठाउने गरेका थियौं, लकडाउनसँगै स्थल यातायात र हवाईसेवा बन्द भएपछि नमुना पठाउन समस्या भएको छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त प्रमुख अस्मिता सापकोटाले भनिन्, ‘बुधबार गाडी व्यवस्था गरी सेती अञ्चल अस्पतालका शंकास्पदसहित १३ जनाको नमुना काठमाडौं पठाएका छौं।’ माध्यम नहुँदा संकलित नमुना दिनदिनै पठाउन समस्या भइरहेको उनले बताइन्।

अहिले सुदूरपश्चिमका डोटी, बैतडी, अछाम, बझाङ जिल्ला अस्पताल तथा, महाकाली र सेती अञ्चल अस्पतालका आइसोलेसन कक्षमा गरी १८ जना भर्ना भएका छन। जसमध्ये बिहीबारसम्म चारजनाको नमुना परीक्षण पठाउन बाँकी छ।

यसअघि कोरोना संक्रमित आशंकामा सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा भर्ना भएका १४ जनाको नमुना संकलन जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी सापकोटाले दिइन्। 

भारतका विभिन्न सहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि एक सातायता  सुदूरपश्चिमका नाकाबाट डेढ लाखभन्दा बढी नेपाली भित्रिएका छन्। कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिमका विभिन्न अस्पतालमा भर्ना शंकास्पद बिरामीको नमुना परीक्षण चार÷पाँच दिनसम्म पनि हुन नसक्दा स्थानीयमा त्रास पलाएको छ। यस प्रदेशमा छिटोभन्दा छिटो कोरोनालगायत परीक्षण प्रयोगशाला खोलिनुपर्ने स्थानीयको माग छ। ‘शंकास्पद बिरामीको नमुना संकलन र परीक्षणमा समस्या भएको छ। यस प्रदेशमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको प्रयोगशाला तत्कालै खोल्नुपर्छ। यसो गर्न सके कोरोनाको सम्भावित खतराबाट जोगिन सकिन्छ,’ सांसद पूर्णा जोशीले भनिन्।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले चैत २ गते प्रधानमन्त्रीसँग प्रदेशका मुख्यमन्त्रीहरूको भेटघाटका क्रममा आफूले प्रदेश प्रयोगशाला स्थापना गर्न माग राखेको बताए। ‘प्रदेश सरकारतर्फबाट पनि निर्णय गरेर संघीय सरकारलाई प्रदेशमा प्रयोगशाला स्थापना गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘प्रदेशस्तरमा पनि  प्रयोगशाला सक्दो छिटो स्थापना गरिनुपर्छ।’ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रयोगशाला प्रदेश सरकारले बनाउन गाह्रो हुने उनले बताए। सम्भावित कोरोना संक्रमितको उपचारका लागि यस प्रदेशका ९ वटै जिल्लामा आइसोलेसन कक्ष स्थापना गरिएको जानकारी उनले दिए।

प्रकाशित: १४ चैत्र २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App