१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिकित्सकलाई पिपिई अभाव

काठमाडौं- कोरोना भाइरस (कोभिड—१९) संक्रमित युवती चढेको कतार एयरबाटै नेपाल आएका बागलुङ ढोरपाटन–५ का अजय विकको स्वास्थ्य परीक्षण गर्न चिकित्सक उनको घरमा पुगे। तर चिकित्सक आफूसँग पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नभएका कारण विकको स्वास्थ्य जाँच नगरी दुई मिटर टाढैबाट सामान्य सोधपुछ गरेर फर्किए।

विकको स्वास्थ्य परीक्षण गर्न बुर्तिबाङ अस्पतालबाट गएका चिकित्सक डाक्टर मिलन मल्लले आफूसँग व्यक्तिगत सुरक्षा सामग्री नभएकाले विकको स्वास्थ्य जाँच र नमुना लिन नसकेको बताए। ‘हामीसँग पिपिई नभएपछि दुई मिटर टाढैबाट लक्षण सोध्यौं,’ चिकित्सक टोलीका एक मल्लले बिहीबार नागरिकसँग टेलिफोनमा भने, ‘व्यक्तिग सुरक्षा सामग्री नभएकाले हामी जोखिम मोल्न तयार भएनौंं।’ चिकित्सक टोली विकलाई सामान्य सोधुपछ गरेर ज्वरोसमेत ननापी १४ दिन क्वारेन्टाइनमा बस्न सल्लाह दिएर फर्कियो।

कोरोना संक्रमण फैलिन नदिन सरकारले साताव्यापी लकडाउन गरेको छ। संक्रमण फैलिएका देशबाट आएका नागरिक मुलुकका विभिन्न ठाउँमा पुगेका छन्। विदेशबाट आएका व्यक्तिमा कोरोना भएनभएको परीक्षण र उपचार गर्नुपर्ने भए पनि आवश्यक सुरक्षा सामग्री नहुँदा चिकित्सक र स्वास्थ्यकर्मी हच्किएका छन्। पिपिईमा स्वास्थ्यकर्मी तथा चिकित्सकले घातक सरुवा रोगबाट संक्रमितको उपचार गर्दा सुरक्षाका लागि लगाउने सामग्री पर्छन्।

स्वास्थ्यकर्मीले सुरक्षाका लागि प्रयोग गर्ने पिपिई, ज्वरो नाप्ने थर्मल स्क्यानर, इन्फारेट थर्मोमिटर, ग्लोब, मास्क, सर्जिकल क्याप, पोसाकलगायत नपाएको गुनासो गरेका छन्।

विभिन्न जिल्लासहित राजधानीका अस्पतालमा सम्भावित संक्रमितको परीक्षणका लागि पिपिर्ईलगायत अत्यावश्यक सामग्री नहुँदा उपचारमा जुट्न चिकित्सक डराइरहेका छन्। संक्रमण फैलिन नदिन थप सतर्कता अपनाउँदै जोखिमका व्यक्तिको परीक्षण र उपचारमा ढिलासुस्ती गरेको भन्दै सरकारको आलोचना सुरु भएको छ।

राजधानी काठमाडौंसहित देशभरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले सुरक्षाका लागि प्रयोग गर्ने पिपिई, ज्वरो नाप्ने थर्मल स्क्यानर, इन्फारेट थर्मोमिटर, ग्लोब, मास्क, सर्जिकल क्याप, पोसाकलगायत नपाएको गुनासो गरेका छन्। विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीको सुरक्षाका लागि लेबल वान, लेबल टु, लेबल थ्रीको मापदण्ड तयार गरेको छ। मापदण्ड अनुसारका सामग्री नपाएको चिकित्सकको गुनासो छ।

नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट पिपिईलगायत स्वास्थ्यकर्मीका लागि चाहिने सामग्री अभाव भएको गुनासो आएको बताउँछन्। अग्रभागमा बसेर बिरामीको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिई अनिवार्य भए पनि पाउन नसकेको उनले बताए। ‘धेरै अस्पतालबाट पिपिई नपाएको गुनासो आइरहेको छ,’ रिजालले भने, ‘युद्ध लड्न जाने सेनालाई हतियार नदिई जाउ भनेजस्तै भएको छ।’ कोरोना संक्रमण  आशंकामा अस्पताल आएका बिरामीको जाँच गर्दा पिपिई अनिवार्य हुनुपर्ने रिजाल बताउँछन्। ‘ज्वरो आएका बिरामी हेर्न पिपिई चाहियो,’ उनले भने, ‘सामग्री नै नभएपछि कसरी काम गर्नु।’

केही दिनअघि वीर अस्पतालको प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीले आफूलाई तालिम र पिपिई नदिएपछि नमुना संकलन गर्न इन्कार गरेका थिए। अन्य अस्पतालमा कतिपय चिकित्सकले व्यक्तिगत रुपमा पिपिई व्यवस्था गरेर बिरामीको उपचारमा लागेको बताएका छन्।

राजधानीबाहिरका स्वास्थ्य संस्थामा ज्वरो नाप्ने थर्मल स्क्यानर नहुँदा जोखिममा रहेका बिरामीको थप परीक्षण हुन सकेको छैन। दैलेखको दुल्लु नगरपालिकामा मलेसियाबाट आएका युवकमा ज्वरो देखिए पनि उपकरण नभएका कारण जाँच हुन नसकेको त्यहाँका जनप्रतिनिधिले बताए। टाढाबाट ज्वरो नाप्ने यन्त्र नभएकाले परीक्षण हुन नसकेको हो। स्वास्थ्यकर्मीका लागि पिपिईलगायत सुरक्षा सामग्री उपलब्ध गराउन पटक—पटक सरकारी अधिकारीको ध्यानाकर्षण गराएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन्। मुलुकमा तीनजना संक्रमित देखिँदा लकडाउन र विभिन्न ठाउँमा आइसोलेसन कक्ष तयार गरे पनि बिरामी आएपछि उपचार गर्न धेरै तयारी नपुगेको कार्की बताउँछन्। ‘चिकित्सकका लागि सुरक्षा कबज चाहिन्छ भनेर पटकपटक सरकारको ध्यानाकर्षण गराएका छौं,’ कार्की भन्छन्, ‘संक्रमित व्यक्तिको जाँचमा संवेदनशील हुनुपर्छ।’

विभिन्न मुलुकमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको संक्रमण सरेर मृत्यु भइसकेको छ। पूर्व स्वास्थ्यमन्त्री गगन थापा सरकारको फितलो तयारीले चिकित्सक र स्वास्थ्यकर्मी त्रसित रहेको बताउँछन्। ‘चिकित्सकले सामग्री नपाएको गुनासो गरेका छन्,’ उनले भने, ‘पर्याप्त समय भएर पनि खरिद गर्न ढिला भयो।’ सरकारले लकडाउनको आह्वान गरेपछि नागरिकले साथ दिए पनि सरकारी निकायको तयारी फितलो भएको उनले बताए। ‘दुई÷तीनजना संक्रमित हुँदा त यस्तो छ,’ थापाले भने, ‘आवश्यक सामग्री दिएर चिकित्सकको मनोबल बढाउन सकेनौं भने भागाभागको अवस्था आउन सक्छ।’

बजारमा सामग्री नभएकाले माग अनुसार उपलब्ध गराउन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पिपिईलगायत सामग्री अभाव भएको स्वीकारे। ‘मागका आधारमा स्वास्थ्य संस्थालाई उपलब्ध गराउन सकेका छैनौं,’ उनले भने, ‘खरिदका लागि टेन्डर आह्वान गरेका छौं।’ ४०/५० हजार थान पिपिई खरिद गर्ने तयारी भएको जानकारी उनले दिए। दुई÷चार दिनमा विदेशबाट ल्याउने तयारी भएको उनले बताए।

उद्योगपति विनोद चौधरीले स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री दिने बताएका छन्। कोरोनाको उपचारमा सघाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक करोड रुपैयाँका स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ। एक करोड रुपैयाँ दिने घोषणा गरेको एनआरएनएलाई सरकारले नगदको साटो सामग्री दिन भनेपछि उसले खरिद गरेर दिन लागेको हो।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण  र परीक्षण किट खरिद गरेर चीनमा रहेको नेपाली दूतावासलाई दिन लागिएको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए। पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा सामग्री उपलब्ध गराउन लागिएको हो। सामग्री खरिदका लागि कार्यदल बनाएएको एनआरएनएका महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

प्रकाशित: १४ चैत्र २०७६ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App