१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढिलो रिपोर्टले उपचारमै असर

काठमाडौं- कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव बढ्यो। बिहीबार पनि अस्पतालका चिकित्सकबीच रिपोर्टको जानकारी नपाएको विषयमा छलफल चल्यो।

अस्पतालमा उपचाररत ३२ वर्षीय एक युवकमा कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक गरे, १४ घण्टा ढिलो गरी। यस विषयमा मंगलबार राति नै अस्पतालका प्रवक्ता अनुप बास्तोलालाई जानकारी गराएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताएकी छन्। ‘हामीले मंगलबार राति नै डा.अनुपलाई फोन गरेर जानकारी गराएका हौं’, उनले बिहीबार नागरिकसित भनिन्। अस्पतालमा भने अस्पतालका निर्देशक सागर राजभण्डारी र ड्युटीमा खटिएका चिकित्सकलाई समेत जानकारी नभएको चर्चा चलेको छ।यस विषयमा जानकारी लिन खोज्दा डा. बास्तोलाले बोल्न चाहेनन्। उनले भने,‘उपचारमा खटिएका स्वास्थ्यकर्मी सबै सतर्क नै थियौं।’ जुनसुकै कारणले उपचारमा खटिएका चिकित्सक,नर्स तथा अन्य स्वास्थ्यकर्मीले रिपोर्ट ढिलोथाहा पाउनु उपचारमा गलत अभ्यास भएको चिकित्सकहरुको टिप्पणी छ।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा.ध्रुव गैरेले रिपोर्टअनुसार बिरामीको उपचारको स्वरुप र सुरक्षाको व्यवस्था मिलाइने बताए। ‘त्यसमा पनि सरुवा रोगको हकमा अरुलाई समेत फैलिने भएकाले थप गम्भीर हुनुपर्छ। समयमै जानकारी नहुँदा बिरामी कुरुवा,ड्युटीमा खटिएका चिकित्सक,प्यारामेडिक्सलाई समेत असर पर्छ। रिपोर्टअनुसार स्वास्थ्यकर्मीले अपनाउने सावधानीमा समेत फरक पर्छ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका पूर्वनिर्देशक डा. हरीशचन्द्र उपे्रतीले भने प्रयोगशालाको नियमअनुसार गम्भीर उपचारमा रहेको बिरामीको हकमा छिटोभन्दा छिटो ड्युटीमा खटिएको चिकित्सकलाई जानकारी गराउनुपर्ने बताए। ‘लिखित रिपोर्ट दिन नसकेमा फोनबाट भए पनि जानकारी गराउनुपर्छ’, उनले भने।

ढिलो रिपोर्ट दिँदा बिरामीको उपचारमै फरक पर्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए। ‘गम्भीर सरुवा रोगको बिरामीका हकमा रिपोर्टअनुसार उपचार प्रक्रियासमेत परिवर्तन गर्नुपर्ने हुनाले एक घण्टामात्रै ढिला हुँदा पनि उपचारमा प्रभाव पर्छ’, उनले भने। यस्तो रोगको रिपोर्ट ढिलो सार्वजनिक गर्दा धेरै व्यक्ति संक्रमित हुन सक्ने भएकाले सक्दो छिटो बिरामीका आफन्तलाई समेत जानकारी गराउनु उचित हुने उनले बताए।

रिपोर्ट ढिलो उपलब्ध भएको सम्बन्धमा बुझ्न खोज्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डा.रोशन पोखरेलले एकद्वार प्रणालीवाट सूचना उपलब्ध गराउने क्रममा गलत बुझाइ भएको हुन सक्ने बताए।

१७ जना होम क्वारेनटाइनमा

दुबईबाट फर्केका कोरोना संक्रमित ३२ वर्षीय युवासँग सम्पर्क भएका १७ जनासम्पर्कमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। युवासँगै जहाजमा आएका ६ जनालाई होम क्वारेनटाइनमा राखिएको र उनी काठमाडौंमा रहँदा सम्पर्कमा रहेका होटेलका साहु, साहुनीसहित ११ जनालाई पनि होम क्वारेनटाइनमा मन्त्रालयका विशेष चिकित्सक रोशन पोखरेलले बताए। युवक गत चैत ५ गते दुबईबाट नेपाल आएका थिए। उनी ११ गते शुक्रराज ट्रपिकल अस्पतालमा पुगी उपचार गराइरहेका छन्।

यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबारसम्ममा ६ सय ८७ जनामा कोरोना परीक्षण गरेको छ। तीमध्ये ३ जनामा पोजेटिभ र बाँकी ६ सय ८४ जनामा नेगेटिभ रहेको प्रयोगशालाले जनाएको छ।

हब अस्पताललाई १० लाख

कोरोना तथा ज्वरो क्लिनिक सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २५ वटा हब अस्पताललाई १० लाखका दरले रकम पठाएको छ। स्वास्थ्य तथा जनसंख्या सचिव यादव कोइरालालेसो रकमबाट आवश्यक सामग्री किनेर ज्वरो क्लिनिकमा जाँच गर्ने र आशंका लागेका बिरामीको नमुना परिक्षणको लागि पठाउनुपर्ने बताए।

प्रकाशित: १४ चैत्र २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App