१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटको विभिन्न क्वारेन्टाइनमा बीसजना

रौतहट- रौतहट जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिलेसम्म बीसजना निगरानीमा राखिएका छन्। जिल्ला सुरक्षा समिति रौतहटले हरेक स्थानीय तहमा अनिवार्यरुपमा क्वारेन्टाइन निर्माण गर्ने निर्देशन दिएपछि क्वारेन्टाइनको निगरानीमा रहन बुधवार साँझसम्म बीसजना पुगेका छन्।

सदरमुकाम गौरस्थित नर्सिङ क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा सबैभन्दा बढी १२ जना रहेका छन्। क्वारेन्टाइनमा रहेका १२ जना मध्ये चार जनालाई ज्वरो आएको छ। ज्वरो आए पनि कोरोनाको अन्य कुनै पनि लक्षण देखिएको छैन। ज्वरो आएकाहरु गढीमाई नगरपालिकाको धर्मपुर गाउँका छन्। चारै जना केही दिन पहिले भारतको पञ्जाबबाट फर्केका हुन्। भारतको पञ्जाबसम्म कृषि मजदुरको रुपमा काम गर्न जाने प्रचलन रौतहटको गाउँमा अहिलेसम्म रहिआएको छ।

यसै गरी जय किसान पोलिटेक्निकल क्याम्पस धरहरीको क्वारेन्टाइनमा चार जना र चन्द्रपुरको क्वारेन्टाइनमा चार जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले बताए। क्वारेन्टाइनमा निगरानीमा रहेकामध्ये कुनै पनि व्यक्तिमा खासै कुनै समस्या नरहेको एसपि खड्काले बताए। क्वारेन्टाइनमा रहेका मध्ये अधिकांश भारतबाट आएका हुन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बाहिरबाट घर फर्केकाहरुलाई स्थानीय जनप्रतिनिधिहरुले पनि निगरानी गरिरहेको र विभिन्न क्वारेन्टाइनमा पठाएर सहयोग गरेको बताएका छन्। प्रजिअ घिमिरेले स्वेच्छाले पनि बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा आइरहेको बताए।

मंगलवारको लकडाउनको तुलनामा बुधबारको लकडाउन बढी प्रभावकारी रहेको बताउँदै प्रजिअ घिमिरेले स्थानीयबासी सचेत बन्दै गएको तर अझै पनि बीस प्रतिशत मानिस सचेत हुन बाँकी रहेको बताउँदै कोरोनाको प्रभावबाट बच्न हरेक व्यक्ति उतिकै जिम्मेवार बन्नुपर्ने बताए।

क्वारेन्टाइनमा रहेकाहरुलाई विशेष निगरानी गरिएको र अहिलेसम्म कुनै किसिमको समस्या कसैमा नदेखिएको प्रजिअ घिमिरेको भनाइ छ।

प्रकाशित: १२ चैत्र २०७६ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App