१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जबाट भागेर जाजरकोट आएका दर्जन बढीलाई सेल्फ क्वारेन्टाइनमा राखियो

कोराना संक्रमितको आशंका भएकाहरुलाई १४ दिनसम्म राख्नका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बनाइएका अस्थायी क्वारेन्टाइनहरु ।

जाजरकोट- कामका लागि भारत गएका र कोरोना संक्रमणको त्रासले जिल्ला फर्किएका एक दर्जन बढी स्थानीयलाई  घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको भेरी नगरपालिका र शिवालय गाउँपालिका घर भएका ती व्यक्तिहरुलाई परिवारका सदस्यहरु बाहेक कसैको पनि सम्पर्कमा जान नपाउने गरि घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनका अनुसार  भारतबाट नेपाल फर्किने क्रममा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्दै गर्दा भागेका जाजरकोटका ११ जना र बुधबार फेरि भारतबाट जाजरकोट पुगेका ७ जनालाई पहिचान गरि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ।

पर्खाल भत्काएर नेपालगन्जबाट जाजरकोट भित्रिएको सूचना पाउने बित्तिकै भेरी नगरपालिका र शिवालय नगरपालिका र स्थानीय प्रशासनले उनीहरुको व्यापक खोजी गरेर पत्ता लगाएको थियो। यसैगरि भेरी नगरपालिका वडा नम्वर १२ मा भारतबाट आएका थप सात जना व्यक्तिहरु भेटिएपछि  स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिहरुको प्रत्यक्ष निगरानी र सक्रियतामा उनीहरुलाई पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाएइएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। भारतबाट आएर नेपालगन्जको क्वारेनटाइनमा बस्न नमानेर भागेकाहरुको भेरी नगरपालिकाले नगरप्रमुख चन्द्रप्रकाश घर्तीको सक्रियतामा खोजी गरेर पत्ता लगाएको थियो।

उनीहरुमा कुनै बिरामी नदेखिएको भए पनि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा राखेर निगरानी गरिने  भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताइन्। उनले सबैको साथ र सक्रियतामा  भारतबाट आएका अन्य व्यक्तिहरुमाथि कडा निगरानी बढाइने बताइन्। सरकाले कोरोनाको संक्रमण रोक्ने पूरै देश लकडाउन गरेपछि जिल्लामा सुरक्षा निकाय स्वास्थ्यकर्मी र स्थानीय सरकारको सक्रियता बढेको छ। जाजरकोट अस्पतालमा आइसोलेसन वार्ड र प्रहरी तथा सेनाको व्यारेकहरुमा क्वारेन्टाइन निर्माण गरिएको छ भने ग्रामीण भेगमा घरमै सेल्फ क्वारेन्टाइन बस्ने तथा कुनै संक्रमित भेटिए उनीहरुलाई तत्काल उद्धार गर्नका लागि प्रहरी र सेना लगाएतका निकायहरुले आवश्यक व्यवस्था मिलाएको बताएका छन्।

सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने र उनीहरुलाई कोरोनाको संक्रमणबाट बच्ने हरेक उपायहरुबारे सुझाउने काममा जिल्लाका सातै स्थानीय तह र सुरक्षा निकाय र सञ्चारकर्मी, स्वास्थ्यकर्मीले सक्रियता देखाइरहेको पाइएको छ। अहिलेसम्म जिल्लामा कोरोनाको संक्रमण भएका कोहि पनि नभेटिएको भएपनि  भारत तथा काठमाडौंबाट आउनेहरु भए स्वास्थ्य परीक्षण गर्ने र कडा निगरानी गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। भारत तथा अन्य जिल्लाबाट आएका र केहि स्वास्थ्य समस्या भएकाहरुको कडा निगरानी गर्न स्थानीय प्रशासनले प्रहरी र सबै स्थानीय तहहरुले स्वास्थ्यकर्मीहरुको टोली उच्च सतर्कताका साथ परिचालन गरेको देखिन्छ।

 

प्रकाशित: १२ चैत्र २०७६ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App