१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अनावश्यक फोनले चिकित्सकलाई हैरानी

विराटनगर-  कोरोना त्रास फैलिएका बेला सर्वसाधारणलाई फोनबाटै सल्लाह दिने तयारीमा बसेका चिकित्सकहरु अनावश्यक फोन कल र प्रश्नले हैरान बनेका छन्। सरकारले कोरोनाकै लागि भनेर तयार राखेका चिकित्सकहरु अन्य समस्याका विरामीले तारान्तार फोन गरेर सोध्ने गरेको बताउँछन्।

प्रदेश १ का विभिन्न अस्पतालका चिकित्सकहरुका अनुसार फोन नम्बर पाएपछि कोरोनाबाहेकका विषयमा पनि स्वास्थ्य सल्लाह लिनेको ताँती लागेपछि समस्या भएको हो।

‘कोरोनाबारे केही शंका भयो भने फोनबाट सल्लाह लिन भनेरै हाम्रो नम्बर सार्वजनिक गरिएको हो’, मेची अञ्चल अस्पतालका डा. गोविन्द कँडेलले भने ‘तर, नम्बर सार्वजनिक भएपछि कोरोनाभन्दा अरु नै समस्या लिएर फोन गर्नेहरु धेरै भए। यसले समस्या भयो।’ उनका अनुसार पुराना र दीर्घरोग, कोरोनासँग कुनै लक्षण नै नमिल्ने समस्या लिएर पनि फोन कलहरु आउन थालेका छन्। ‘कृपया अहिले संकटको समय हो’, उनको आग्रह छ ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भए हामी जुनै बेला पनि जनतालाई सल्लाह दिन तयार छौं। तर, अन्य समस्याका लागि हामीबाहेकका अन्य चिकित्सकलाई सम्पर्क गरिदिनुस्।’

यतिमात्रै होइन, विराटनगरका एकजना चिकित्सकले त फोनमा थर्काइसमेत खेपेका छन्। ‘अस्पतालको व्यवस्थापनबारेमा मलाई फोन गरेर हप्काए एक व्यक्तिले’, ती चिकित्सकले भने ‘यस्तो बेलामा कोरोनासँग मिल्ने समस्या भएकाहरुले मात्रै फोन गरेदेखि हामीलाई पनि काम गर्न सहज हुन्छ।’

प्रदेश १ मा विभिन्न जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सकलाई सम्पर्क गर्न भन्दै उनीहरुका सम्पर्क नम्बर सार्वजनिक गरिएको छ। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट नम्बर पाएपछि अन्य स्वास्थ्य समस्या लिएर फोन गर्दा वास्तविक पीडितहरुले सेवा नपाउने खतरा हुने चिकित्सकहरु बताउँछन्।

 

प्रकाशित: १२ चैत्र २०७६ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App