१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अत्यावश्यक सेवामा पनि बाधा

ललितपुरको सातदोबाटोमा मंगलबार बिहान मालबाहक ट्रकलाई जानुपर्नेभन्दा अर्को दिशातिर जान निर्देशन दिँदै ट्राफिक प्रहरी । तस्बिर : विजय राई/नागरिक

काठमाडौं- स्युचाटार बस्दै आएका धनगढीका धनबहादुर शाह मंगलबार विहान किराना पसलको खोजीमा भौतारिँदै थिए । सोमबार मात्र लामो समयपछि फर्किएका उनी खाद्यान्न पसल बन्द नहुने खबर पाएर ढुक्क थिए । तर बजारमा कुनै पसल पनि खुलेको भेटेनन् । उनले भने, ‘कलंकीसम्मका साना–ठूला पसल चहारेँ कतै खुलेको भेटेन ।’
आफ्नो पसलबाहिर बसेको भेटिएका केही व्यापारीले प्रहरीले बन्द गराउँदै हिँडेको बताए । प्रहरीले भने आफूहरुले बन्दको लागि जबरजस्ती नगरेको तर सुरक्षामा ध्यानाकर्षण मात्र गराएको बताउँछन् ।

नेपाल खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्य सरकारले एकातिर सञ्चालन गर्ने भनेर सूचना दिने अर्कोतिर पसल खोल्न वातावरण नबनाइदिने गरेको गुनासो गर्छन् । ‘पसलेहरुलाई धेरै अप्ठेरो भयो, पसल एक ठाउँमा घर अर्को ठाउँमा । पसलमा जाने बेलामा प्रहरीले बाटोबाटै फर्काएको छ,’ उनले भने, ‘हामी पसल बन्द गर्ने पक्षमा छैनौं तर पसलसम्म पुग्नै असहज भयो । कि त पासको व्यवस्था गरिदिनुपर्‍यो कि त प्रहरी प्रशासनमा स्पष्ट जानकारी दिनुपर्‍यो ।’

बाटोमा सुरक्षाकर्मीले बढी केरकार गर्ने, कुन गाडीले खाद्यान्न बोक्यो, कुनले अन्य बोक्यो भन्ने कुराको केरकारमै समय बित्दा ढुवानी गराउन गाह्रो भएको व्यवसायीको गुनासो ।

उनले जसको घर नजिक पसल छ, त्यसलाई पसल खोल्न सजिलो भए पनि बाहिरबाट जानेलाई गाह्रो पर्ने बताए । ‘केही पसल आफ्नै त्रासका कारण पनि बन्द भएका हुन सक्छन्, उपभोक्ता आफैंले केही दिनलाई पर्याप्त राखेको हुनाले समस्या नआउला तर पसल नखुले असर पुग्छ,’ बज्राचार्यले भने, ‘अर्कोतिर पसलमा छिटो बिग्रने सामानमा असर पुग्छ । व्यापारी आफैंले रिस्क लिन चाहँदैन । सहयोग गर्न चाहँदाचाहँदै गर्न खोज्नेलाई वातावरण बनाइदिनुपर्‍यो ।’

बज्राचार्यले थोक व्यापारीले सामान पर्याप्त छ भन्ने तर आवश्यक सामान उपलब्ध गराउन नसक्ने रेस्पोन्स गर्न नचाहने गरेको पाइएको बताए । ‘बजारमा माग बढ्दा अरु समयमा तीन दिनमा बिक्री हुने अहिले एकै दिनमा बिक्री भएको छ । थोक व्यापारीले गाडी नपठाउँदा खुद्रा व्यवसायीले आफैं गाडी व्यवस्था गर्नुपरेको छ,’ उनले भने, ‘ढुवानी आफैं गर्नुपरेको कारण लागत बढे पनि व्यवसायीले अहिलेसम्म मूल्य बढाएका छैनन् । तर केही सामानको मूल्य खरिदमै बढेर आएको कारण बढेको छ ।’

नेपाल थोक बिक्रेता महासंघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ सामान पर्याप्त भए पनि पठाउन गाह्रो भइरहेको बताउँछन् । ‘चालक, लोड गर्ने कामदार टाढा–टाढा बस्ने हुनाले पनि गाह्रो पर्दोरहेछ,’ उनले भने, ‘मैले प्रशासन कार्यालयलाई आफूहरु खाद्यान्न सामग्री उपलब्ध गराउन तयार रहेको तर कसरी ढुवानी गर्ने भन्ने कुरामा प्रशासनको सहयोग चाहिन्छ भनेर प्रस्ताव समेत राखेको छु ।’

उनले बाटोमा सुरक्षाकर्मीले बढी केरकार गर्ने, कुन गाडीले खाद्यान्न बोक्यो, कुनले अन्य बोक्यो भन्ने कुराको केरकारमै समय बित्दा ढुवानी गराउन गाह्रो भएको बताए । ‘यसले मात्रै झन्झट थप्ने काम गर्ने भएर पनि हामी सामान पठाउन सकेका छैनौं,’ उनले भने, ‘प्रशासनले इजाजत दिने व्यवस्था त गर्ला त्यसको लागि पनि सिफारिस लगायत प्रक्रिया पनि होला ! सरकारले पनि यस्ता विषयमा ठोस निर्णय नगरे जस्तो लाग्यो मलाई ।’

उनी पछिल्ला दिनमा किराना पसलमा धेरै परिमाणमा खाद्यान्न समाग्री गइरहेको कारण खुद्रा पसलमा भएको मौज्दातले नै केही समय मागलाई थेग्न सक्ने बताउँछन् । ‘बाहिरबाट आउने खाद्यान्न सामग्री नरोक्ने भनेर सरकारले स्पष्ट भनेको अवस्थामा आपूर्ति पनि सहज होला,’ उनले भने, ‘अर्को कुरा धेरै जस्तो चामल, दाल, तेल लगायत खाद्यान्न हाम्रै देशमा भएको कारण सरकारले स्वीकृति दिए लोड गरिदिइहाल्छन् नै ।’

उनले अहिले खाद्यान्न मौज्दात सबैतिर पर्याप्त रहेको दाबी गरे । ‘थोक व्यवसायीसँग पनि खाद्यान्न छ, खुद्रामा पनि छ र उपभोक्ताले पनि पर्याप्त राखेका छन्,’ उनले भने, ‘उपभोक्ताले पर्याप्त जोहो गरेकोले केही समय बिक्री नै नहुने अवस्था आउन सक्छ ।’ उनले उपभोक्ताले धेरै खाद्यान्न जम्मा गरेर राख्दा गर्मी चढ्दै जाँदा बिग्रिने र किरा लाग्ने समस्या आउन सक्नेतर्फ सचेत गराए ।

श्रेष्ठले अहिले खाद्यान्नको मूल्य बढ्ने कुनै सम्भावना नभएको प्रस्ट पारे । तर पछिल्लो समय थोक व्यापारीले खुद्रा बिक्रेतालाई सामान ढुवानी गराउन नसकिरहेकोले आफ्नै तरिकाले गाडी व्यवस्थापन गरिरहेकोले त्यसले केही प्रभाव पर्न उनको अनुमान छ ।

निजी क्षेत्रका व्यवसायी मात्र होइन, सरकारले सञ्चालन गरेका सुपथ मूल्य पसल पनि सञ्चालनमा छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री प्रमुख लालमोहन ठाकुर पसल सञ्चालनमा नरहेको बताउँछन् ।
उनले भने, ‘आज बिदा पनि भयो, भोलिदेखि सञ्चालनमा आउँछ होला ।’ खाद्यले तीन ठाउँमा नियमित रुपमा पसल चलाइरहेको खाद्यले थप दुई ठाउँमा पनि पसल खोल्दैछ । उपभोक्तालाई सहज हुने गरी घुम्ती पसल चलाउँदै आएको खाद्यले कोरोनाको त्रासको कारण देखाउँदै पछिल्ला केही दिनदेखि रोकेको छ ।

बिक्री प्रमुख ठाकुर घुम्ती पसल सञ्चालनको लागि माथिल्लो निकायबाट निर्देशन समेत भएकोले छिट्टै सञ्चालन हुने बताउँछन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि आफ्ना आउटलेट सञ्चालनमा ल्याउन सकेको छैन । साल्ट टे«डिङका प्रवक्ता कुमार राजभण्डारी सरकारबाट केही निर्देशन नआएकोले बन्द गरेको बताउँछन् । उनले भने, ‘हामी तयारी अवस्थामा छौं, तर सरकारले आउटलेट र घुम्तीसेवा सञ्चालनमा ल्याऊ त भन्नुप¥यो नि !’

 

प्रकाशित: १२ चैत्र २०७६ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App