१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

समस्याका बेला विदेशका नियोग सक्रिय

काठमाडौं- कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विदेशमा रहेका नेपालीलाई सुरक्षित राख्न गन्तव्य मुलुकका नेपाली राजदूतावासहरू सक्रिय भएका छन् ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सुरक्षाप्रति स्वदेशमा रहेका आफन्त चिन्तित भइरहेको बेला विदेशस्थित अधिकांश नेपाली नियोगहरूले सहयोग र सुरक्षाको सक्दो प्रयास गरेको बताएका छन् । कोरोना भाइरस विश्वव्यापी रूपमा फैलँदै गर्दा गन्तव्य मुलुकका नियोगहरूले पटकपटक सूचना जारी गर्दै अवस्थाको जानकारी गराउनेदेखि अप्ठेरो पर्दा सम्पर्क राख्न समेत आग्रह गरिरहेका छन् ।

करिब साढे तीन लाख नेपाली रहेको संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले विज्ञप्ति प्रकाशित गर्दै नेपालीको हितका लागि दूतावास सम्बन्धित निकायको सम्पर्कमा रहेको जनाएको छ । त्यस्तै साउदी अरेबियास्थित नेपाली राजदूतावासले मंगलबारदेखि चैत २१ सम्म हरेक साँझ ७ देखि बिहान ६ बजेसम्म साउदीमा कफ्र्यू लाग्ने भएकाले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको छ ।

मंगलबारको गल्फ न्युजले युएईको स्वास्थ्य मन्त्रालयको हवाला दिँदै कोरोना संक्रमित दुई नेपालीलाई उपचारपछि सञ्चो भइसकेको जनाएको छ ।

सोही दूतावासले जारी गरेको सूचनामा हालसम्म साउदीमा पाँच सय ११ जना संक्रमित भएको र कुनै पनि नेपालीलाई संक्रमण नदेखिएको प्रस्ट पारेको छ । अमेरिका, युरोप, जापान, दक्षिण कोरिया, मलेसिया लगायत विभिन्न खाडी मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारणले ती मुलुकमा रहेका व्यक्तिका आफन्त यतिखेर चिन्तामा छन् । दक्षिण कोरिया, भारत, कतार लगायत देशमा रहेका नेपाली राजदूतावासहरूले सूचना जारी गरी नेपालीलाई सम्पर्कमा रहन आग्रह गरेका छन् ।

रोग फैलिएका मुलुकबाट संक्रमण बढ्न सक्ने भएकाले सरकारले ५० भन्दा बढी मुलुकबाट आवागनमा प्रतिबन्ध लगाइसकेको छ । केही दिनयता ती मुलुकबाट आउनेको संख्या ह्वात्तै वृद्धि भएपछि सरकारले आवागनमा पनि रोक लगाएको हो । आवागनमा रोक लगाइएपछि कतिपयले सरकारको उक्त कदमको स्वागत गरिरहेका छन् भने कतिपयले कम्तीमा समस्यामा परेकालाई स्वदेश फर्कन दिनुपर्ने माग गरिरहेका छन् । त्यस्तै दुई साताअघि सरकारले रोजगारीमा जाने युवालाई समेत श्रमस्वीकृति दिन बन्द गरिसकेको छ ।

श्रम स्वीकृति दिन बन्द गर्नुअघि दैनिक रोजगारीका लागि एक हजारदेखि १३ सयसम्म विदेश पस्ने गर्थे । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४६ लाख पुगिसकेको छ । श्रम स्वीकृति लिएकामध्ये ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये अझै पनि ती मुलुकमा करिब २५ लाख रहेको अनुमान छ ।

विभागले वैदेशिक रोजगारीमा जानेको विवरण राख्ने तर फर्कनेको विवरण नराख्दा विदेशमा रहेका नेपालीको संख्या यकिन छैन । श्रम स्वीकृति लिएका बाहेक ठूलो समूहका नेपाली भारतमा पनि रहँदै आएका छन् । पछिल्लो सूचना अनुसार बहराइन र दुबईमा काम गर्ने २–२ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

मंगलबारको गल्फ न्युजले युएईको स्वास्थ्य मन्त्रालयको हवाला दिँदै कोरोना संक्रमित दुई नेपालीलाई उपचारपछि सञ्चो भइसकेको जनाएको छ । युएईमा हालसम्म दुई सयजना कोरोना भाइरस संक्रमित भेटिएको बताइएको  छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँको सरकारले मेट्रोमा स्क्यानिङ गर्न सुरु गरेको छ भने सर्वसाधारणलाई घरमै बस्न र बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरेको छ ।

युएईस्थित नेपाली राजदूतावासले युएई सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन निरन्तर रूपमा सुरक्षा सतर्कता अपनाएको जनाएको छ । ‘आफ्ना र विदेशी नागरिकको सुरक्षाका लागि युएई सरकारले निरन्तर सुरक्षा सतर्कता अपनाएको छ,’ युएई राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले कसैको भिसा अवधि सकिएको खण्डमा सम्पर्क राख्न आग्रह गर्दै यस्तो अवस्थामा ३० दिनको भिसा थप हुने जनाएको छ । रोजगारदाता अनुमति प्रणालीमार्फत कोरियन भाषा उत्तीर्ण गरी कोरिया गएकामध्ये यतिखेर करिब ५३ हजार त्यहाँ कार्यरत रहेको विभागले जनाएको छ ।
‘नेपाली फर्काउने हल्लामा सत्यता छैन’

युएईमा रहेका नेपालीलाई कतिपय रोजगारदाताले घर फर्काउँदैछन् भन्ने हल्ला निराधार रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासले विज्ञप्ति जारी गर्दै त्यस्ता हल्लामा सत्यता नभएको प्रस्ट पारेको हो ।
युएईमा काम गर्ने गरेका रमेश सापकोटाले भने केही रोजगारदाताले  बिदामा गएका नेपालीलाई तुरुन्त काममा नफर्कन आग्रह गरेको बताएका छन् । उनका अनुसार कोरोना भाइरसका कारण सबभन्दा बढी होटल क्षेत्रमा काम गर्नेहरू प्रभावित भएका छन् ।

अहिलेसम्म कुनै पनि रोजगारदाताले श्रमिकलाई पारिश्रमिक दिदैनौं भनी अलपत्र नपारेको वैदैशिक रोजगारीमा रहेका युवाले जानकारी दिएका छन् । मलेसियाको केएलमा काम गर्दै आएका महेशकुमार ओलीले मलेसिया सरकारले १५ दिनका लागि लकडाउन गरे पनि सबै रोजगारदाताले नियमित रूपमा सेवा, सुविधा र पारिश्रमिक उपलब्ध गराइरहेको बताए ।

स्वदेश फर्कन दिनुपर्ने माग राख्दै रिट दायर
यसैबीच, विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन दिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले उक्त रिट दायर गरेका हुन् ।

वैदेशिक रोजगारीमा रहेकालाई सरकारले नै ल्याउनुपर्नेमा उल्टै रोक लगाउनु संविधानसम्मत नभएको जिकिर गरिएको  छ । समस्यामा परेका नेपालीलाई स्वदेश आउन दिनुपर्ने रिटमा माग गरिएको छ । ‘वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको अवस्थामा बस्न सक्ने स्थिति नभएकाले नेपाल आउन चाहने तर आफैं आउन नसक्नेलाई तत्काल उद्धार गरी ल्याई स्वास्थ्यसम्बन्धी मापदण्ड बमोजिम एकान्तबास राख्ने वा उपचार जे गर्नुपर्छ, गर्न भनी परमादेश जारी गर्न रिटमा माग गरिएको छ ।

उक्त रिटको सुनुवाइ हुने–नहुने यकिन छैन । कोरोना भाइरसको त्रासका कारण केही दिनयता अदालत बन्द छ । त्यस रिटको सुनुवाइ हुनका लागि प्रधानन्यायाधीशले निर्णय गर्नुपर्ने बताइएको छ । त्यस्तै भारतबाट घर फर्कन खोज्नेहरू पनि केही दिनयता सहजै घर फर्कन पाएका छैनन् ।

प्रकाशित: १२ चैत्र २०७६ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App