१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्थानीय तहलाई एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन

रौतहट- जिल्ला सुरक्षा समिति रौतहटले सबै स्थानीय तहलाई एउटा एम्बुलेन्स चौबिसै घण्टा स्टेन्डबाई राख्न निर्देशन दिएको छ। मंगलबार बसेको सुरक्षा समितिको बैठकले गौर, गरुडा र चन्द्रपुरमा थप एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ। कोरोना संक्रमित भएका शंकास्पद व्यक्ति देखिएमा तत्काल क्वारेन्टाइन, आइसोलेसन वा अस्पतालसम्म पुर्‍याउन जिल्ला सदरमुकाम गौरमा चार वटा, गरुडा र चन्द्रपुरमा दुई वटा एम्बुलेन्स चालक तथा इन्धनसहित स्टेन्डबाई राख्ने निर्णय समितिले गरेको हो।

जिल्लामा उपलब्ध सबै एम्बुलेन्सलाई एक एक हप्ताको पालो मिलाएर स्टेन्डबाई राख्ने व्यवस्था गरिएको छ। सुरक्षा समितिको निर्देशन नमानी कुनै पनि बहानामा एम्बुलेन्स उपलब्ध नगराउने एम्बुलेन्स वा संस्थालाई कारबाही गर्ने तथा एम्बुलेन्स दर्ता खारेज गरी सवारी साधन नियन्त्रणमा लिने निर्णय पनि सुरक्षा समितिले गरेको छ। यसैगरी सरकारले दिएको अन्य निर्देशन पनि कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्।

जिल्लाभर लकडाउनको घोषणा गरिए पनि सदरमुकामबाहेक अन्यत्र खासै प्रभाव परेको भने देखिएको छैन। मुख्य गरी ट्रयाक्टरमा गिटी, बालुवा तथा माटो ओसार्ने काम निर्बाध रुपमा भइरहेको छ। सुरक्षा निकायको ध्यान मुख्य सहरी तथा बजार क्षेत्रतर्फ केन्द्रित भएको र नागरिकले आफ्नो जिम्मेवारी नबुझेको कारण लकडाउनको प्रभाव ग्रामीण क्षेत्रमा खासै नपरेको गुनासो सामाजिक सञ्जालहरुमा व्यापक आइरहेका छन्।

लकडाउनको अवस्थालाई कार्यान्वयन गराउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको प्रजिअ घिमिरेले बताएका छन्।

प्रकाशित: ११ चैत्र २०७६ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App