१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अपरिहार्य ‘लकडाउन’

कोरोना भाइरस डिजिज अर्थात् कोभिड–१९ ले पुरै विश्वलाई त्रसित तुल्याइरहेको बेला सरकारले सोमबार साँझ साताव्यापी ‘लकडाउन’ घोषणा गरेको छ। एकजना संक्रमित भएको जानकारी सार्वजनिक भएलगत्तै थप सावधानी अपनाउन सरकारले यो कठोर कदम चालेको हो। सरकारले यसअघि नै भारत र चीनसँग जोडिएका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरिसकेको छ। यो संक्रमणको खतरा मूल्यांकन गर्दै सरकारले एकपछि अर्को आवश्यक कदम चाल्दै आएको छ। अहिलेसम्म ‘सेमी लकडाउन’को स्थिति रहेकामा अब सबै नागरिकलाई पूर्ण रूपमा आफ्नै घरमा बसेर कोरोनालाई थप फैलिन नदिन यस्तो व्यवस्था गरेको हो। अत्यावश्यक सेवामा रहेका बाहेकले सरकारको यो निर्णयअनुरूप पालना गरी मुलुक र मुलुकवासीको स्वास्थ्यका लागि योगदान गर्ने बेला हो यो।

खासगरी भारतबाट नेपालतर्फ थेग्नै नसक्ने गरी मानिस आउने क्रम बढेपछि सरकारले यो निर्णय गरेको देखिन्छ। यतिबेला भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थाले यो निर्णय गर्न जरुरी थियो। खुला आवतजावतमा बेवास्ता गर्ने हो भने त्यसको प्रभाव स्वतः नेपालमा पनि पर्ने र त्यसले भयावह अवस्था निम्त्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। सोमबार फ्रान्सबाट फर्किएकी १९ वर्षीया एक किशोरीमा कोरोना संक्रमण देखिएकाले पनि नेपालले गर्नुपर्ने निर्णय र अपनाउनुपर्ने सतर्कता अझै ढिलो भएको देखिन्छ। त्यसो त यसभन्दा अघि पनि एक जनामा कोरोना संक्रमण पाइएको र उनी निको भएर घर फर्किसकेका छन्। त्यसैले सोमबार कोरोना पोजेटिभ देखिएकी किशोरीको संक्रमणको उपचारमा पनि चिकित्सक एवं स्वास्थ्यकर्मी खटिइरहेका छन्। यसका साथै उनको परिवार र सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको र प्लेनमा सँगै आएका अन्य व्यक्तिहरूको खोजी भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन्। यो अवस्थामा सरकारले उनको सम्पर्कमा रहेका अन्य व्यक्तिको खोजी गर्दै उनीहरूमाथि निगरानी गर्न ढिलाइ गर्न हुँदैन। यो घटनाले पनि सरकारी तथा सर्वसाधारणले गर्नुपर्ने तयारी र अपनाउनुपर्ने सावधानीमा अझै कमी भएको देखाएको छ।

एकातिर अन्तर्राष्ट्रिय विमानहरू अनुमति नै नलिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्ने, अर्कोतर्फ जुनजुन मुलुकका बासिन्दा जुनजुन ट्रान्जिट हुँदै आउन पाइन्न भनेर सूचना दिँदादिँदै पनि आउने, आइसकेपछि तोकिएको अवधि क्वारेन्टाइनमा बस्नैपर्ने नियम उल्लंघन गर्न खोज्ने अनि त्यस्ता गतिविधिप्रति सरकार लचक हुने जस्ता गतिविधि पनि यसबीच देखिँदै आएका छन्। त्यसैले पनि यो मामिलामा सरकारले कडाइ गर्न जरुरी छ। खासमा यो भाइरसको प्रकोप ‘म’ भन्दा पनि ‘हामी’ सँग बढी सरोकार राख्नेखालको छ। ‘मलाई जेसुकै होस्, अरूलाई के मतलब ?’ भन्ने सुविधा आशंकितलाई दिन मिल्दैन। किनकि उसलाई संक्रमण भएको रहेछ भने त्यसले लाखौंको ज्यान लिने सामथ्र्य राख्छ। त्यसैले यसतर्फ सरकारले ध्यान दिई कडाइका साथ आफ्ना घोषणा एवं निर्णयको कार्यान्वयन गर्नैपर्छ। 

सरकारले पछिल्ला दिनमा कोरोना भाइरससम्बन्धी दरिला निर्णय गर्दै आएको छ। पहिल्यै हुनुपर्ने निर्णय केही पछि हुन थाले पनि त्यसलाई सकारात्मक रूपमै लिनुपर्छ। तर, अझै पनि संक्रमण फैलिएको अवस्थामा भने के कसरी अघि बढ्ने भन्ने सवालमा सरकारी तयारी पर्याप्त देखिएको छैन। त्यसैले पनि सरकारले व्यावहारिक रूपमै तयारी गरेर सर्वसाधारणलाई आश्वस्त पार्न सक्नुपर्छ। कतिपय निर्णय यस्ता हुन्छन् जसमा ढिलाइ भयो भने त्यसले अकल्पनीय दुर्घटना निम्त्याउन सक्छ। त्यसैले पनि सरकारले एकपछि अर्काे निर्णय र त्यसको सशक्त कार्यान्वयनमा ढिलाइ गर्नै हुँदैन। आइतबार साँझ सरकारले गरेको सीमा नाका बन्दलाई पनि कडाइका साथ लागु गर्नुपर्छ किनकि चीनसँगको नाकामा खासै समस्या नभए पनि करिब १८ सय किलोमिटर खुला सिमाना भएको दक्षिणतर्फको नाका कडा गरिनु सरकारका लागि चुनौती हुन सक्छ। आफन्त भएको बहानामा वा सुरक्षा निकाय र राजनीतिक पहुँचका आधारमा खासगरी दक्षिणतर्फका आफन्तलाई सरकारी घोषणा अवज्ञा गर्दै भिœयाउने प्रयास गरियो भने त्यो आत्मघाती हुन सक्छ। त्यो पनि एउटा परिवारका लागि, एउटा जिल्लाका लागि मात्र नभएर सिंगै देशका लागि। त्यसैले सरकारी घोषणाको प्रभावकारिता जनतासमेतको सहयोगमा हुने कार्यान्वयनले मापन हुन्छ। जसतर्फ सचेत हुन जरुरी छ।

सीमा नाका कडाइ गर्ने सरकारी निर्णय होस् वा धेरैजना जम्मा नहुने निर्णय, साबुनपानीले हात धोइरहने सुझाव होस् वा मास्क लगाएर मात्र हिँडडुल गर्ने आग्रह, सर्वसाधारणले पनि त्यसको पालना गर्न जरुरी छ। अहिले जो जहाँ बसिरहेको छ, अबका केही दिन सोही ठाउँमा बसिरहने, सरकार र स्वास्थ्यकर्मीले भनेका नियम पालना गर्ने, होम क्वारेन्टाइनमा बस्ने अभ्यास गर्ने, आफ्ना कारण अरूको ज्यानसमेत जोखिम पार्ने दुःसाहस नगर्ने हो भने कोरोनाको जोखिमलाई कम गर्न सकिन्छ।

सरकारले घोषणा गरेको ‘लकडाउन’ हाम्रो स्वास्थ्यका निम्ति हो। अतः यस बेला प्रत्येक व्यक्तिले जिम्मेवार नागरिकको परिचय दिनु आवश्यक छ। अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, अनावश्यक उपभोग घटाउने, स्वस्थ रहन घरैमा योगध्यान आदि गर्न सकिन्छ। ढिलै भए पनि सरकारले यो अत्यावश्यक निर्णय गरेकोमा धन्यवाद भन्नुपर्छ।

 

 

प्रकाशित: ११ चैत्र २०७६ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App