१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कालीमाटी तरकारी बजारमा उस्तै भीड

काठमाडाैं- सर्वसाधारणको अत्याधिक भीड बढेको भन्दै कोरोना संक्रमणको त्रासमा रुपन्देहीका दैनिक हाटबजार बन्दगरिए । अन्यजिल्लामापनियसको व्यवस्थापनको लागिपहलभइरहेका छन् । तर उपभोक्ताको बढी चहलपहल हुने मुलुककै ठूलो कालीमाटी तरकारी बजारमा चहलपहल उस्तै छ ।

उपत्यका बाहिरिनेको संख्या बढेको र सरकारको आग्रहलाई मानेर घरमै सुरक्षित बस्नेको संख्या बढ्दै गएको कारण तुलनात्मक रुपमा बिक्री कम देखिएको भएपनिग्राहकको भीड उत्तिकै रहेको तरकारी व्यवसायी तथा व्यवसायीहरुको समितिका पूर्वअध्यक्ष भरतप्रसाद खतिवडा बताउँछन् । ‘हामी बिक्री हुने–नहुने भन्दापनि भीडभाडको कारण त्रसित छौं,’ उनले भने, ‘ग्राहकलाई भीडभाड नगर्न सूचना भइरहेको छ, तैपनि अवस्था उस्तै छ ।’

खतिवडा सरकारले सबैलाई घरमै सुरक्षित बस्न आग्रह गरे पनि कालीमाटी जस्तो धेरै मानिस जमघट हुने ठाउँलाई बन्द गर्न चासो नदेखाएको गुनासो गर्छन् । ‘हामीलाई तरकारी बिक्री गरेर बस्न पटक्कै मन छैन । सरकारले बन्दन गराउँदा आपूर्तिकर्ताले तरकारी ल्याइरहेकै हुन्छ,’ उनी भन्छन्, ‘तरकारी नराखुँभन्दा पनि सबैले तरकारी राखेकै छन् भनेर जिद्धी गर्छन्, तातो दूध निल्नु न ओकेल्नु जस्तो भयो ।’

खतिवडाले भारतमा संक्रमण बढ्दै गएको अवस्थामा उताबाट साबिककै परिमाणमा तरकारी आइरहेको र त्योसँगै भारतबाट आउँदा चालकलगायत अन्य कर्मचारी पनि उतै पुगेर आउने हुँदा झनै त्रास बढेको बताउँछन् । ‘उपत्यकाको ६० प्रतिशतभन्दा बढी तरकारीको माग पूरा गर्ने कालीमाटीबाट केही गरी कोरोनाको संक्रमण फैलियो भने यसले देशैभर रोग फैलाउँछ,’ उनी भन्छन्, ‘बरु हरियो तरकारीका विकल्पमा अन्य केही खाएर भए पनि केही दिन बाँच्न सकिन्छ तर हेल्चेक्र्याइँ गर्दै जाने हो भने स्थिति नियन्त्रणभन्दा बाहिर जान्छ ।’

उनले तरकारी दैनिक खाद्य वस्तुमा पर्ने भए पनि अत्यावश्यकमा नपर्ने जिकिर गर्छन् । उनी बजारभित्र आवश्यक सुरक्षा प्रबन्धतर्फ पनि ध्यान नपुगेको बताउँछन् । ‘हामीले अनौपचारिक रुपमा व्यवसायीबीचमा छलफल पनि गरिसकेका छौं, सक्दासम्म सहयोग गर्ने हो नत्रआफैं बन्द गरेर घरमा बस्ने निर्णय लिन्छौं,’ खतिवडाले भने, ‘हामीले किसानलाई पनि तरकारी आफ्नै तरिकाले स्थानीय क्षेत्रमा बिक्री गर्न आग्रह गरेका छौं, बढीमा एक सिजनको तरकारी नास होला जीवन त सुरक्षित हुनुपर्यो नि!’ उनले यस विषयमा कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिमा पनि कुरा राखेको भए पनि चित्त बुझ्दो जवाफ नआएको बताउँछन् ।

विकास समितिका प्रवक्ता विनय श्रेष्ठ तत्काललाई बजार बन्दको कुनै योजना नभएको बताउँछन् । ‘बाहिरबाट सामान आउन पनि छाडेको छैन । व्यापारीले बिक्री गर्न र ग्राहकले किन्न पनि छाडेका छैनन्,’ उनी भन्छन्, ‘बन्द गर्नको लागि माथिबाट निर्देशन आउनु पर्‍यो नत्र आफैं बन्द गर्ने कुरा रहन्न ।’

उनले बाहिरबाट आउने तरकारीको परिणाममा खासै फरक नपरेको बताए । ‘आइतबार आठ सय ६० टन तरकारी आएको थियो । सोमबार त्यसबाट केही कम भएर ६ सय टन तरकारी आएको छ,’ उनले भने, ‘आएको तरकारी त बिक्री गर्नै पर्‍यो । अहिलेको अवस्थामा यो पनि पर्याप्त हो ।’

उनले भारतबाट आउने तरकारी पनि साबिककै परिमाणमा आइरहेको बताए । उनले भने, ‘भारतबाट बढी आउने भनेको प्याज, गोलभेंडा, आलु, भिन्डी, करेला आइरहेकै छ । विस्तारै सीमा लकडाउनको असर देखिन सक्ला ।’
प्रवक्ता श्रेष्ठ अहिलेको संवेदनशील अवस्थामा सुरक्षित रहन बढी भीडभाड हुन नदिनको लागि उपभोक्ता आफैं सचेत बन्नुपर्ने बताउँछन् । ‘ग्राहकको फ्लो उस्तै छ, धेरै भीडभाड नगर्न र धेरै समय नखर्चन हामीले माइकिङमार्फत भनेकै छौं,’ उनले बजार बन्द गर्न सरकारको आदेश चाहिनेतर्फ संकेत गर्दै भने, ‘यसलाई नियन्त्रण गर्न हाम्रो प्रयासले मात्र सम्भव छैन ।’ उनले बजारका आउने ग्राहकलाई हात धुने व्यवस्थासहित पानी, साबुन तथा सेनिटाइजरहरु राखिएको जानकारी दिए ।

बजारमा पर्याप्त तरकारी पाइने हुँदा तरकारीको मूल्यमा खासै परिवर्तन नदेखिएको विकास समितिको तथ्यांक छ । प्रवक्ता श्रेष्ठ अब विस्तारै ग्राहक कम हुँदै जाने र तरकारी अहिलेकै अनुपातमा आइरहे बिक्री कम भएर मूल्य घट्न सक्ने अनुमान गर्छन् ।

 

प्रकाशित: ११ चैत्र २०७६ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App